कांग्रेस प्रदेश सदस्य बनिन् २४ वर्षीया डा खान, यस्ताे छ राजनीतिक ‘प्रेस्क्रिप्सन’

दाङ – कृष्णनगर नगरपालिका– १ कृष्णनगर निवासी डा अलबिरा खान सक्रिय राजनीतिमा प्रवेश गरेकी छन्। सन् २०२१ मा बंगलादेशबाट एमबीबीएस पूरा गरेकी २४ वर्षीया खान नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित भएसँगै उनलाई बधाई र शुभकामना दिनेको ओइरो लागेको छ।

युवा अवस्थामा पार्टीको सक्रिय राजनीतिमा प्रवेश गरेपछि उनलाई पछ्याउन थाल्नेहरु बढेका छन्। ‘युवाले राजनीतिलाई नयाँ दिशा दिन सक्छ। मबाट धेरै नयाँ अपेक्षा राख्दै शुभकामना दिनेहरु बढेका छन्’, उनले भनिन्, ‘पक्कै पनि युवा हुँ, नयाँ सोचले काम गर्नेछु।’

उनको घरमा राजनीतिक माहोल पहिलेदेखि नै थियो। उनको बुबा अकिल मिया नेपाली कांग्रेसको नेतृत्वसम्म पुगेका व्यक्ति हुन्। जसले गर्दा उनलाई राजनीतिले आकर्षित गर्‍यो। खानले राजनीतिलाई सेवाको रुपमा लिने र मुख्यगरी आफू बिरामीको उपचारमै खट्ने बताइन्। ‘म अहिले नै ठूलो पदमा बस्ने, संसदीय चुनाव लड्ने होइन। सुरुमा म बिरामीको सेवा गर्छु, जुन पढेको छु। त्यो काम गर्छु’, उनले भनिन्, ‘अहिले म सदस्य भएको छु। यो जिम्मेवारी पूरा गर्छु र अन्य चुनाव लड्ने केही दावा गर्दिनँ।’

उनका बुवा पहिला क्षेत्रीय सभापति थिए। अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन्। बुवाबाट राजनीतिक प्रेरणा पाइन्।

शनिबार भएको निर्वाचनमा खानले प्रतिस्पर्धीभन्दा २९२ मत बढी प्राप्त गरी निर्वाचित भइन्। खानले ८८१ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी जन्नतुल धुनियाले ५८९ मत पाइन्। यसअघि खान कपिलवस्तुको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ बाट सर्वसम्मत रूपमा प्रतिनिधिमा चुनिएकी थिइन्।

कृष्णनगर नगरपालिका– १ कृष्णनगरकी स्थायी बासिन्दा उनले लुम्बिनी प्रदेश समिति सदस्यमा संस्थापनइतरबाट मुस्लिम समुदायबाट उम्मेदवारी दिएकी थिइन्। राजनीतिमा अझै महिला पछाडि छन्। त्यसमा पनि मुस्लिम समुदायबाट खुलेर राजनीतिमा आउने नगण्य छन्। तर खान आफ्नो समुदायको साथै महिलाको पक्षमा बढी काम गर्नुपर्ने अवस्था रहेको बताउँछिन्।

‘अहिलेको समावेशी प्रतिनिधित्व छ। यो अझै आवश्यक छ। उहाँहरुको पक्षमा अझै काम गर्न बाँकी छ’, उनले भनिन्, ‘राजनीति हामीले आफ्नो लागिभन्दा पनि समुदाय र राष्ट्रको पक्षमा गर्ने हो।’

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्