देशभर चिसो बढ्दै, पहाडी भूभागमा हुस्सु–कुहिरो

फाइल तस्बिर

काठमाडौँ – देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अरु भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविद्ले बताएका छन्।

अहिले पहाडी भूभागमा आंशिक बदली रही देशका थोरै भूभागमा हुस्सु–कुहिरो लागेको छ।

मंगलबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, बाँकी पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्। प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यसैबीच देशभर चिसो बढ्ने क्रमसमेत रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्