नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस संस्थापनइतरको बैठक बस्दै, साझा उम्मेदवार टुंग्याउने प्रयास

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै नेताहरुको सक्रिय बढेको छ। वडा अधिवेशनदेखि प्रदेश तहसम्मको प्रदेश सकिएपछि केन्द्रीय महाधिवेशनको लागि नेताहरुको सक्रियता बढेको हो।

सतहमा देखिएअनुसार नेतृत्व हत्याउन कांग्रेसका विभिन्न समूह लागिपरेका छन्। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शेखर कोइराला र सुजाता कोइरालालगायतका समूह पार्टी सभापतिको लागि आआफ्नो ठाउँबाट लागिपरेका हुन्। स्वतन्त्र रुपमा कल्याण गुरुङले समेत सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। यसैबीच वर्तमान सभापति एवं प्रधानमन्त्री देउवाले पार्टी सभापतिमा पुनः एकपटक दोहोरिने चाहना व्यक्त गरिसकेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले मुखै फोडेर पार्टी सभापतिको उम्मेदवार बन्छु भन्न सकेका छैनन्। उनले आफू पार्टीको नेतृत्वको लागि इच्छुक बताइरहे पनि आफ्नो समूहको एक्लो उम्मेदवार भन्न नसकेका हुन्। त्यस्तै महामन्त्री शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाले पनि पार्टी सभापतिमा आकांक्षा देखाएका छन्। तर महाधिवेशनमा उम्मेदवारी दिने नै भनेर निश्चित गर्न सकेका छैनन्।

जिल्ला र प्रदेश अधिवेशनको परिणामले पनि वरिष्ठ नेता पौडेल, महामन्त्री कोइरालालगायतले पार्टी सभापतिको लागि जोडबल गर्न नसकेको कांग्रेस नेताहरु बताउँछन्। पार्टीमा वर्तमान सभापति देउवाको विकल्प खोज्नुपर्नेमा पौडेल, कोइरालात्रय, सिंह र निधि सबै एकमत भए पनि उनीहरुले आफूहरुमध्ये साझा सभापति उम्मेदवार तय गर्न सकेका छैनन्। साझा सभापति उम्मेदवार निश्चित गर्न पटकपटक बैठक र छलफल गरे पनि उनीहरु निष्कर्षमा पुग्न सकेका छैनन्।

सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका सिंह, निधि र शशांक कोइरालाले धेरै समयअघिदेखि सहमतिमा साझा सभापति उम्मेदवार तय गर्न प्रयास गरे पनि त्यसले मूर्त रुप लिएको छैन। कांग्रेसका पुराना नेताहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको विरासतमा राजनीति गरिरहेका ती नेताका पुत्रहरु कांग्रेसलाई एकजुट बनाएर नेतृत्व गर्न आकांक्षी भए पनि कसले नेतृत्व गर्ने भन्नेमा मतैक्य हुन सकेका छैनन्। सबैले नेतृत्वमा आफूलाई सहयोग गर्न आग्रह गरिरहेको कांग्रेस नेताहरु बताउँछन्। उनीहरुका अनुसार कोही त्याग गर्न वा नेतृत्वमा एकजनामात्रै हुने भए पनि पार्टीलाई सामूहिक नेतृत्वमार्फत अघि बढाउन इच्छुक छैनन्। गणेशमान पुत्र प्रकाशमानले त स्पष्ट भने, ‘सभापतिबाहेक अरु पदमा सम्झौता गर्न सकिन्छ।’

पार्टीको संस्थापन पक्षबाट देउवा नै एकमात्र सभापतिका उम्मेदवार देखिन्छन्। तर संस्थापनइतर पक्षमा शीर्ष नेता जति सभापतिका आकांक्षी भएकाले उनीहरुलाई साझा सभापति उम्मेदवार तय गर्न हम्मेहम्मे भइरहेको छ। उनीहरु निरन्तर प्रयासमा जुटेका छन्। सोमबारसमेत वरिष्ठ नेता पौडेल निवास बोहराटारमा संस्थापनइतरका नेताहरुको बैठक बसेको थियो। तर कुनै सहमति हुनसकेन। बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सहभागी थिए। उनीहरु सभापतिका आकांक्षीमध्येबाट एकजनालाई मात्र उम्मेदवार बनाउन सहमत भए पनि कसलाई उम्मेदवार बनाउने भन्ने टुंगोमा पुग्न सकेका छैनन्।

आज पुनः संस्थापनइतरका नेताहरु बैठक गर्दैछन्। दिउँसो १ बजे उनीहरु नेता सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बस्ने भएका हुन्। बैठकमा आफू पक्षीय केन्द्रीय सदस्यलाई समेत आमन्त्रण गरिएको नेता सिंहका प्रेस संयाेजक युपी लामिछानेले जानकारी दिए।
उनले संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासको लागि बैठक बस्न लागेको बताए।

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्