पूर्वराजदूत पौड्यालको समन्वयमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

गुल्मी – विश्वमा पछिल्लो समयमा फैलिँदै गएको कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढ्न नदिनका लागि गुल्मीका स्थानीयस्तरमा सहयोगदाताहरूले पुनः स्वास्थ्य सामग्री उपलब्ध गराउन सुरु गरेका छन्। यसै अभियानअन्तर्गत नेपाल सरकारका पूर्वमुख्यसचिव एवं चीनका पूर्वराजदूत लीलामणि पौड्यालले गुल्मीमा २० थान अक्सिजन कन्सन्ट्रेटर सोमबार हस्तान्तरण गरेका छन्।

हस्तान्तरण गरिएका सामग्रीमा गुल्मी अस्पताल तम्घासमा आठ, रिडी स्वास्थ्य केन्द्रमा दुई, धुर्कोटमा दुई, जोहाङमा दुई, श्रृङ्गामा दुई, बम्घामा एक, बलेटक्सारमा एक, मुसिकोट र चन्द्रकोटमा एक/एक गरी २० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो। वितरण गरिएका सामग्री चिनियाँ सहयोगी हातहरूमार्फत चीनका पूर्वराजदूत पौड्यालको पहलमा जिल्लामा भित्र्याइएको हो।

अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै पूर्वराजदूत पौड्यालले कोही पनि नागरिक अस्पताल पुगेर अक्सिजन अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफ्नो पहलमा चिनियाँ नागरिकको सहयोगमा उक्त सामग्री उपलब्ध गराइएको बताए। उनले उपलब्ध सामग्रीलाई स्वास्थ्य संस्थाले भरपुर उपययोग गर्नुपर्नेमा जोड दिएका थिए।

सो अवसरमा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले चिनियाँ हातहरूले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता प्रकारका सहयोगले स्वास्थ्य संस्थामा थप सहयोग पुग्नुका साथै बिरामी र स्वास्थ्यकर्मीको मनोबलसमेत बढ्दै जाने बताए।

कार्यक्रममा स्थानीय पालिकाका अध्यक्ष एवं अन्य जनप्रतिनिधिले जिल्लाको स्वास्थ्य समस्यालाई बुझेर पौड्यालमार्फत चिनियाँ हातहरूले गरेको सहयोगप्रति उच्च प्रशंसा गरेका थिए।

कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रमको संयोजन युवा समाजसेवी यदु ज्ञवाली र भुवनेश्वर अर्यालले गरेका थिए भने त्यसको सहजीकरण स्थानीय स्वास्थ्य संस्थाहरूबाट गोपालप्रसाद पाण्डे, रामलाल विश्वकर्मा, हरि ज्ञवाली, छत्र अधिकारी, लोकनाथ पाण्डे र रबि कँडेललगायतले गरेका थिए। चिनियाँ सहयोगी हातहरूमार्फत पूर्वराजदूत पौड्यालले यसअघि जिप्रका गुल्मीमार्फत जिल्लामा एक लाख थान मास्क प्रदान गरेका थिए।

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्