रोहिंग्या मुसलमानहरुद्वारा फेसबुकसँग १५० अर्ब डलर क्षतिपूर्ति माग

घृणात्मक अभिव्यक्तिलाई प्रश्रय दिएको अ‌ारोप लगाउँदै बेलायत र अमेरिकामा रहेका रोहिंग्या शरणार्थीले फेसबुकविरुद्ध उजुरी दिएका छन्। फेसबुकले अल्पसंख्यक समुदायमाथि भएका हिंसालाई प्रवर्द्धन गरेको भन्दै रोहिंग्या शरणार्थीले १५० अर्ब डलर क्षतिपूर्तिसमेत माग गरेका छन्।

सन् २०१७ मा सेनाको दमनका कारण बौद्ध धर्मालम्बीको बाहुल्यता रहेको म्यानमारमा करिब १० हजार रोहिंग्या  शरणार्थी मारिएको अनुमान छ। सेनाको दमनपछि लाखौं रोहिंग्या देश छोडेर छिमेकी मुलुक बंगलादेशमा शरण लिएका थिए। शरणार्थीले उजुरी गरेको विषयमा फेसबुकले कुनै टिप्पणी गरेको छैन।

घृणास्पद र खतरनाक तथा गलत सूचना वर्षौंदेखि प्रवाह गरेको फेसबुकमाथि अ‌ारोप लाग्दै अ‌ाएको छ।

केही शरणार्थीेको पक्षमा काम गर्दै अ‌ााएको बेलायतको एउटा फर्ममार्फत त्यहाँका शरणार्थीले मुद्दा दायर गरेको जनाइएको छ। म्यानमारमा भइरहेका जातीय हिंसाबारे सत्यतथ्य नबुझी हचुवाका भरमा फेसबुकले अल्पसंख्यक समुदायमाथि भइरहेका टिप्पणीलाई प्रोत्साहन गरेको निवदेनमा जनाइएको छ।

रोहिंग्याविरुद्ध भइरहेका गालीगलाैज गर्ने व्यक्तिको अकाउन्ट डिलिट नगरेको पनि निवेदनमा जनाइएको छ। सञ्चारमाध्यम र दातृ संस्थाको चेतावनीका बाबजुद उपर्युक्त कदम नचालेको फेसबुकमाथि अ‌ारोप लागेको छ।

त्यस्तै अमेरिकामा पनि सानफ्रान्सिस्कोमा रोहिंग्याको तर्फबाट उजुरी परेको छ। म्यानमारमा फेसबुका २ करोड प्रयोगकर्ता छन्। अधिकांशले सामाजिक सञ्जालबाट नै समाचारबारे अपडेट हुन्छन्।

म्यानमारको सेनाले राज्य संरक्षित आतंकको सिर्जना गरेकाले अल्पसंख्यक मुस्लिम रोहिंग्याले देश छोडेर भाग्न बाध्य भएको बताइएको छ। तर, सेनाले रोहिंग्या मुस्लिममाथि ज्यादती नगरेको दाबी गरेको छ।

म्यानमारको उत्तरी रखाइन राज्यमा सरकारले नै जातीय विभेद गरेको मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले बताउँदै आएको छ।

राष्ट्रसंघले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा सेनाले रखाइन प्रान्तका दर्जनौं महिलामाथि बलात्कार गरेको र बालबालिकाको हत्या गरेको उल्लेख छ। ‘कारबाहीका नाममा सेनाले बालबालिकाको हत्या र महिलामाथि बलात्कार गरेको छ’, प्रतिवेदनमा भनिएको छ। -न्युज कारखाना

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्