एनसेल र राकुटेन भाइबरबीच साझेदारी, ग्राहकलाई विशेष डाटा प्याकेज

काठमाडौँ – एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ। समझदारीअन्तर्गत ग्राहकले चार प्याकहरु हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउनेछन्।

यी प्याकहरुका साथ भाइबर म्यासेजिङका लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क नलाग्ने एनसेलले जनाएको छ। उनका अनुसार पहिलेदेखिकै प्रिपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’ को रूपमा उपलब्ध रहेका छन्। यो नयाँ अफरसँगै अब भाइबरका सुविधाहरू जस्तै भाइबर म्यासेजिङ, स्टीकर, नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्सहरू प्रयोग गर्नका लागि थप डेटामा एनसेलका ग्राहकहरुको पहुँच सुनिश्चित भएको छ। भाइबरले प्रयोगकर्ताको डाटा गोपनियता संरक्षण गर्न सुरक्षा पनि परिस्कृत गरेको छ।

त्यसैगरी एनसेल ग्राहकहरुले भाइबरका स्टीकरहरुमा निःशुल्क पहुँच पाउने एनसेलले जनाएको छ। खरिद गरेपछि मात्र पाइने ‘पेड स्टीकर प्याक’ एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहेको छ।

‘डिजिटल जीवनशैली सक्षम पार्ने हाम्रो निरन्तर यात्राको एक प्रयासका रूपमा हामीले हाम्रा ग्राहकहरूलाई नेपालको एक अग्रणी निःशुल्क म्यासेजिङ एपहरूमध्येको एक भाइबरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेका छौं’, एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘हामी यस साझेदारीबाट साँच्चिकै उत्साहित छौं र नेपाली उपभोक्ताहरूलाई सेवाबाट फाइदा दिन थप अवसरहरू सिर्जना गर्ने योजनामा छौं।’

एनसेलले पहिले नै भाइबरमा आफ्ना ग्राहकहरूका लागि समर्पित समुदाय र डिजिटल बट सेवा उपलब्ध गराउँदै आएको छ। यस साझेदारीले निकट भविष्यमा अगमेन्टेड रियालिटी (एआर) मा आधारित लोकजाइज्ड भाइबर लेन्सको पनि सुरुवात गर्ने बताइएको छ।

राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने, ‘उच्च गुणस्तरका आधुनिक सेवाहरू उपलब्ध गराउँदै आफ्नो नेटवर्क र म्यासेजिङ प्लेटफर्ममार्फत् मानिसहरूलाई जोड्ने भाइबर र एनसेलको लक्ष्यबीच ठूलो तालमेल रहेको छ। हामीलाई विश्वास छ यो साझेदारीले हामीलाई नेपालमा आफ्नो पहुँच विस्तार गर्न र मापन गर्न मद्दत गर्नेछ।’

ग्राहकहरूले एनसेल एप, आफूलाई पायक पर्ने एनसेलको प्वाइन्ट अफ सेल्स, एनसेल सेन्टर वा एस्ट्रिक१७१२३ह्यास डायल गरेर कुनै एक डाटा प्याक सुचारु गरी यो सुविधा लिन सक्नेछन्।

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्