कांग्रेस बागमतीको पदाधिकारीमा मिश्रित नतिजा

हेटाैंडा – नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीमा मिश्रित नतिजा आएकाे छ। सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेशकाे पदाधिकारीमा सभापतिमा निर्वाचित इन्द्रबहादुर बानियाँ र पराजित जगदिश नरसिंह केसी प्यानलका आधाआधा उम्मेदवार पदाधिकारीमा विजयी भएका हुन्।

जसअनुसार उपसभापतिमा केसी प्यानलका मोहन बस्नेत र बानियाँ प्यानलका चन्द्र महर्जन विजयी भएका छन्। बस्नेत र महर्जन क्रमशः एक हजार ५९ र एक हजार ३७ मतसहित उपसभापतिमा विजयी भएका हुन्। उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित भए।

महामन्त्रीमा केसी प्यानलका कन्चनचन्द्र बादे र बानियाँ प्यानलका राजु श्रेष्ठ विजयी भएका छन्। सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो।

यस्तै महिलातर्फको सहमहामन्त्रीमा केसी प्यानलका जीवन डङ्गोल विजयी भइन्। उनले बानियाँ प्यानलका निर्मला बस्ताकोटी (निरु खड्का) र मोतीमाया तामाङलाई पराजित गरेकी थिइन्।

खुल्लातर्फको दुई सहमहामन्त्रीमा पनि दुई प्यानलबाट एकएकजना विजयी भए। केसी प्यानलबाट ऋषिराम घिमिरे र बानियाँ प्यानलबाट हरिशरण श्रेष्ठ सहमहामन्त्रीमा विजयी भएका छन्। उक्त पदका लागि सात जनाको उम्मेदवारी परेको थियो। जसमा वीरबहादुर तामाङ, महेन्द्र थिङ, राजकुमार पाठक, जगन्नाथ धिमाल र जयनारायण सापकोटा पराजित भए।

कांग्रेस बागमतीको सभापतिमा भने इन्द्रबहादुर बानियाँ विजयी भए। पहिलाे चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दाेस्राे चरणाकाे मतदानमा बानियाँले केसीलाई पराजित गरेका थिए। दाेस्राे चरणकाे प्रतिस्पर्धाबाट बाहिरिएका भीमसेनदास प्रधानकाे समर्थनपछि बानियाँ पहिलाे बागमती प्रदेश सभापति बन्न सफल भएका हुन्।

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्