पाहुनाले माेबाइल बाेक्न नपाउने कट्रिनाको विवाहमा सलमानले के गर्छन्?

बलिउडमा अहिले जहाँतहीँ कट्रिना कैफ र विक्की कौशलको विवाहको कुरा छ। सबैलाई यी दुईको विवाहको व्यग्र प्रतिक्षा पनि छ। विवाहको लागि विक्की र कट्रिना ६ डिसेम्बरमा नै राजस्थान पुगिसकेका छन्।

विवाहको तयारी धमाकेदार तरिकाले भइरहेको छ। विवाह समारोहमा बलिउडका धेरै हस्तीहरु सहभागी हुने जनाइएको छ। तर यो विवाहमा कट्रिनाका निकट साथी सहभागी हुन नपाउने खबर सार्वजनिक भइरहको छ। कट्रिनाका ती निकट साथी अरु काेही हैनन्, सलमान खान हुन्।

केही दिन अगाडि देखि कट्रिनाको विवाहमा सलमानको उपस्थिति हुने कि नहुने भनेर विभिन्न अड्कलबाजी चलिरहेको थियो।

केही दिन अगाडि नायिका ज्याकलिन फर्नान्डेजलाई एयरपोर्टमा रोकियो। उनी दबंग टुरमा प्रस्तुति दिन साउदी अरबको रियाद जान लागिरहेकी थिइन्। अब ज्याकलिन विदेश भ्रमण गर्न जान नपाएपछि उक्त कार्यक्रममा सलमान खान प्रस्तुति दिन जाने भएका छन्।

सलमानको साथमा उनका बडिगार्ड शेरा पनि जानेछन्। यही कार्यक्रमका कारण सलमान र शेरा यो विवाहको हिस्सा हुनेछैनन्। सलमान खान पहिलादेखि नै आफ्नो आउँदै गरेको चलचित्र टाइगर ३ को छायाँकनको लागि व्यस्त छन्।

चलचित्र छायाँकनबाट सानो छुट्टी लिएर उनी रियादमा प्रस्तुति दिन जान लागेका हुन्। यो कार्यक्रम डिसेम्बर १० बाट रियादमा सुरु हुनेछ।

सलमान यो विवाह समारोहको हिस्सा नबने पनि उनले यो विवाहको तयारीमा आफूले सक्ने सहयोग गरिरहेका छन्। सलमानका बडिगार्ड र अत्यन्तै नजिकका साथी शेराको कम्पनीले यो विवाहको सुरक्षाको जिम्मेवारी लिएको छ।

यो विवाहमा कुनै पनि सञ्चारमाध्यमलाई बोलाइएको छैन। यो जोडी विवाहलाई मिडियामा धेरै ल्याउन चाहँदैन, त्यसैले मिडिया कभरेजलाई पूर्ण प्रतिबन्ध लगाइरहेका छन्। राजस्थानको सिक्स सेन्स रिसोर्टमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।

विवाहमा सहभागी हुने पाहुनाले माेबाइल बोक्न पाउने छैनन्। यस्तै विवाह समारोहमा कोरोना भाइरसलाई लिएर धेरै सतर्कता अपनाइएको छ।

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्