बालुवाटारको खप्कीपछि गोरखापत्रमा छापियो देउवाको ‘स्तुति’मा ‘क्षतिपूर्ति आर्टिकल’

काठमाडौँ – कांग्रेस महाधिवेशनसँग सम्बन्धित लेखको विषयलाई लिएर सरकारी स्वामित्वका गोरखापत्र दैनिकमा हंगामा भएको छ।

शुक्रबारदेखि सुरु हुने कांग्रेसको १४औँ महाधिवेशनलाई लक्षित गरेर गोरखापत्रले केहीदेखि मुख्य आलेख त्यसैसँग सम्बन्धित विषयलाई बनाइरहेको छ।

त्यसैक्रममा मंगलबार घनश्याम भट्टको ‘कांग्रेस महाधिवेशनबाट अपेक्षा’ शीर्षकको लेख छापियो। उक्त लेखमा भट्टले कांग्रेस र देशको भविष्य सुधारका लागि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा र रामचन्द्र पौडेलले पार्टी राजनीतिबाट बिदाइ लिनुपर्ने धारणा राखेका छन्। भट्ट अमेरिकामा अध्ययन-अनुसन्धानमा संलग्न छन्।

लेख हटाइएपछि उनले क्षोभ व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेका छन्। ‘राजनीतिक दबाबले लेख हटाइयो, कस्तो दयालाग्दो, कस्तो प्रजातन्त्र?’ उनले लेखेका छन्।

लेखमा देउवाको कारण कांग्रेसले लोकतान्त्रिक पद्धति अनुशरण गर्न नसकेको, देश र पार्टीलाई गति दिन नसकेको, नीति र वैचारिक छलफल हुन नसेको, उनीहरुकै कारण कांग्रेसको भविष्यसमेत अन्योलमा परेको जस्ता विचार व्यक्त भएका छन्।

लेखको आशय अब १४औँ महाधिवेशनबाट देउवा र पौडेललाई विदाइ गर्नुपर्ने छ। उनले देउवा र पौडेल यथास्थितिका विम्ब नै भएको उल्लेख गरेका छन्।

भट्टले लेखमा दुवै शीर्ष नेताको आलोचना गर्दै लेखेका छन्, ‘के काँग्रेसले लोकतान्त्रिक पद्धतिको अनुसरण गरिरहेको छ? यसको स्पष्ट जबाफ हो, छैन। नियमित समयमा महाधिवेशन गरेको भए कांग्रेस अहिले पन्ध्रौँ महाधिवेशनको तयारीमा हुने थियो। अन्य दललाई पनि त्यसले प्रभावित गर्न सक्थ्यो । नीतिगत र वैचारिक प्रश्नमा महल गर्ने र नयाँ नेतृत्व खोज्ने अवसरलाई आलटाल गर्ने कार्यले लोकतन्त्र मजबूत हुँदैन।

काँग्रेसमा देशको आर्थिक विकासका लागि चाहिने दृष्टिकोण र भविष्यको कार्य दिशा या कुनै विश्वव्यापि समस्यामा बहस शून्यप्राय छ। केहीलाई शेरबहादुर देउवा र केहीलाई रामचन्द्र पौडेल चाहिएको छ। के देउवावाद र पौडेलवादको भिन्नतामा कतै राष्ट्रिय बहस भएको छ? लेख छापिएका छन? सञ्चार माध्यममा बहस भएको छ? तीस वर्षदेखि यी दुई नेताहरू नेपालको सत्ताका वरिपरि छन् । त्यसैले यी दुई वटै नेता यथास्थितिवादका द्योतक हुन्। काँग्रेसका कार्यकर्ताहरू सामाजिक सञ्जालमा देउवा वा पौडेलको तस्बिर पोष्ट गरेर वैचारिक खडेरीको परिचय दिँदै छन्। व्यक्तिभन्दा दल र विधि ठूलो मान्ने विधि प्रधानताका हिमायतीको सख्या अल्पमतमा रहेकोले काँग्रेस महाधिवेशन नगर्न सफल भएको हो । अहिलेको प्रतिनिधि छनोटको प्रक्रियाले पनि व्यक्तिवाद हाबी भएको देखाएको छ । काँग्रेसका भावी पुस्ताका नेताका लागि यो राम्रो सङ्केत होइन।

प्रधानमन्त्री समेत रहेका पार्टीसभापति देउवाको आचोलाना युक्त लेख छापेपछि राजनीतिक नियुक्त पाएर गोरखापत्रको कार्यकारी अध्यक्ष हुन पुगेका विष्णु सुवेदीले बालुवाटारको खप्की खानु परेको छ। मंगलबार बिहान गोरखापत्र बालुवाटार पुगेपछि उनलाई बोलाइयो।

शुक्रबारदेखि सुरु हुने महाधिवेशनमा दोस्रो कार्यकालका लागि सभापति हुने तयारीमा रहेका ‘देउवाबाट केही हुन्न, उनलाई बिदाइ गर्नुपर्छ’ भन्ने लेखका बारेमा सुवेदीसँग सोधिखोजी गरियो। स्रोतका अनुसार बालुवाटारको केरकारमा उनी खासै बोल्न सकेनन्।

लेख हेर्ने शाखाका साथीहरुको कमजोरीका कारण छापिन पुगेको बताए। सुवेदीले आफैँले करारमा नियुक्त भएका विनोद न्यौपानेलाई देखाएर बालुवाटारबाट उम्किए। न्यौपानेलाई प्रष्टीकरण सोध्ने तयारी भइरहेको स्रोतको दाबी छ।

देउवाको आचोलना युक्त लेख छाप्दा खप्की खाएका सुवेदीले बालुवाटारबाट फर्किएर बुधबारको अंकमा आफैँले लेखेर ‘क्षतिपूर्ति आर्टिकल’ छपाएका छन्।

मंगलबार देउवा र पौडेलको कामै छैन भन्ने आर्टिकल छाडेको गोरखापत्रले बुधबारको अंकमा भने ‘मुलुकको अपेक्षा र देउवाको आवश्यकता’ शीर्षकमा मुख्य लेख छापेको छ।

लेखमा सुवेदीले कांग्रेस र देशका लागि देउवाको विकल्प नभएको, देउवालाई पाँच दलले मात्रै नभई सिंगो देशले नै स्वीकार गरेको, संविधान र लोकतन्त्रको भविष्य देउवाको सफलतासँग जोडिएको, उनीबाट मात्रै सबै समस्याको समाधान हुने भन्दै लेख लेखेका छन्।

उनको आलेखमा भनेका छन्, ‘शेरबहादुर देउवाको यसपालिको सत्ता यात्रालाई उहाँको व्यक्तिगत जीवनको उतारचढावको रूपमा मात्र हेर्नु गलत हुनेछ । लोकतन्त्र र संविधानको भविष्यको सुरक्षा देउवाको भूमिका र सफलतासँग पनि जोडिएको छ । यतिबेला देउवा फेल हुनु भनेको काँग्रेस पनि असफल हुनु हो । यो विशिष्ट अवसरलाई काँग्रेस आफू एकजुट भएर सुझबुझ र सतर्कताका साथ उपयोग गर्न सकेन भने देउवा मात्र असफल हुने छैनन्, काँग्रेस पनि फेल हुनेछ र काँग्रेसको भूमिका राष्ट्रिय राजनीतिमा लामो समय फेरि खुम्चिनेछ । किनभने यो मुलुकले सुम्पेको खास अभिभारा हो । काँग्रेसले मागेर वा चाहेर मात्र प्राप्त गरेको भूमिका होइन। त्यसैले लोकतन्त्र र संविधानको यात्रालाई सुरक्षित तुल्याउन देउवा नेतृत्वको यो गठबन्धनलाई सफल बनाउनुको विकल्प छैन ।

लेखमा सुवेदीले देउवाको विकल्प खोज्नेहरु आफैँ छिन्नभिन्न हुन पुगेकाले महाधिवेशनले उनैलाई फेरि अनुमोदन गर्ने दाबी गरेका छन्। ‘विकल्प खोज्नेहरू आफैँ छिन्नभिन्न’ उप शिर्षकमा सुवेदीले पौडेल समूहभित्र गौडागौँडामा गुटबन्दी भएकाले देउवाको विकल्प नभएको जिकिर गरेका छन्।

लेखमा सुवेदी भन्छन्, ‘काँग्रेसको १३ औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धाको जुन खालको चित्र र चुनौती थियो, यस पटक त्यस्तो प्रतिस्पर्धाको सम्भावना कमजोर देखिएको छ । महाधिवेशनको औपचारिक उद्घाटन हुन दुई दिन मात्रै बाँकी रहदा पनि संस्थापन इतर समूह निकै अलमलमा देखिन्छ । त्यो समूहभित्र आन्तरिक कलह एवं विभाजन चर्किएको छ र साझा उम्मेदवार चयन गर्ने प्रयास असम्भव जस्तै देखिएको छ । विकल्प खोज्नेहरू झन् छिन्नभिन्न अवस्थामा देखिन्छन् । त्यहाँ गौँडागौँडामा गुटबन्दी छ । रामचन्द्र पौडेल, डा.शशाङ्क कोइराला, प्रकाशमान सिंह, डा।शेखर कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत सबैले आफूलाई सभापतिको आकाङ्क्षीका रूपमा प्रस्तुत र दाबी गर्नुभएको छ । तर कसैले पनि अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको अवस्था भने छैन । यो अवस्थाले पनि संस्थापन इतरबाट साझा उम्मेदवार बन्ने सम्भावना निकै कमजोर देखिन्छ ।

सुवेदीको निर्देशनमा मंगलबार भट्टले लेखेको आर्टिकल गोरखापत्रको अनलाइन संस्करणबाटै हटाइएको छ।

मंसिर २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्