छुट्टाछुट्टै सवारी दुर्घटनामा उदयपुरमा दुई जनाको मृत्यु

सांकेतिक तस्बिर।

उदयपुर– उदयपुरमा सवारी दुर्घटनामा परी बिहीबार दुई जनाको मृत्यु भएको छ। छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा परी थप एक जना घाइते भएका छन्।

मदन भण्डारी लोकमार्गअन्तर्गत गाइघाट बेल्टार सडक खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका–६ सातधारेमा बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको स १० प ३१३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो। दुर्घटनामा चौदण्डीगढी नगरपालिका–६ का ३५ वर्षीय उमेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। मोटरसाइकल चालक राईको बेल्टार नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

त्यसैगरी रामपुर फत्तेपुर सडक खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका–३ हात्तिसारमा फत्तेपुरबाट रामपुरतर्फ जाँदै गरेको प्र २–०३–००९ प ४८४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा सिराहाको लहान नगरपालिका–२२ का ३२ वर्षीय ओम विकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बिहीबार साँझ भएको दुर्घटनामा मोटरसाइकल पछाडि सवार सप्तरी महुलीका २५ वर्षीय विजय घतानी गम्भीर घाइते भएका छन्। घाइते घतानीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु भएको राई र विकको शव कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटमा ल्याएका छन्। –न्युज कारखाना

मंसिर २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्