एनआरएनए निर्वाचन आयुक्तद्वारा राजीनामा, सर्‍याे उम्मेदवारी दर्ता

लण्डन – गैरआवासीय नेपाली संघको निर्वाचन समितिका संयोजक लीलामणि पौडेलले राजीनामा दिएका छन्।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार पौडेलले बार एसोसियसनको जारी आन्दोलनका कारणले संघको निर्वाचनमा समय दिन नसक्ने भन्दै पदबाट शुक्रबार राजीनामा दिएका हुन्।

पौडेल नेपाल बार एसोसियसनका महासचिव हुन्। पौडेलको राजीनामापछि संघका संस्थापकमध्येका एक रामप्रताप थापालाई कार्यवाहक निर्वाचन आयुक्त तोकिएको संघले जनाएको छ।

गैरआवासीय नेपाली संघको निर्वाचन समितिले आगामी डिसेम्बर २६ र २७ तारिख हुने निर्वाचन तालिकामा परिवर्तन गरेको छ। निर्वाचन समितिका अनुसार आज शनिबार हुने उम्मेदवारी दर्ता १६ डिसेम्बरसम्मका लागि सरेको छ।

संघको निर्वाचन समितिका अनुसार मतदाता नामावली प्रकाशित गर्न प्राविधिक रुपमा थप समय आवश्यक भएकोले मिति पछि सारेको हो।

निर्वाचनको लागि डिसेम्बर १६ तारिख बिहान १० बजेदेखि १७ तारिख बिहान १० बजेसम्म उम्मेदवारी गर्दा गर्ने समितिले जनाएको छ। -न्युज कारखाना

मंसिर २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्