आउँदो फागुनमा हुने पर्वतीय वकालत सम्मेलनका लक्ष्य के–के हुन्?

नेपालकाे हिमाली क्षेत्र मुस्ताङ। तस्बिर : वर्षा शाह

काठमाडौँ – जलवायु परिवर्तन तथा त्यसले निम्त्याएका जलवायुजन्य विपदको परिवेशमा पर्वतीय क्षेत्रले भाग्नु परेको समस्या, चुनौति र सम्भावनाहरुबारे ध्यानाकर्षण गराउने उद्देश्यसहित पर्वतीय वकालत सम्मेलन (माउन्टेन एड्भोकेसी समिट) हुने भएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसर पारेर काठमाडौँमा शनिबार भएको पत्रकार सम्मेलनमा आउँदो मार्चको १३ र १४ (फागुन २९ र ३० गते) मा पर्वतीय वकालत सम्मेलन गर्ने जानकारी आयोजकले दिएका हुन् ।

राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्वतीय क्षेत्रले भोग्नु परेका समस्या र चुनौति, सम्भावना र अवसरहरुका बारेमा ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलन गर्न लागिएको आयोजक मध्येको कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) का कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जानकारी दिएका छन् ।

किर्डाक नेपालसँगै द माउन्टेन फाउन्डेशन नेपाल, खाद्य सुरक्षा तथा जलवायु न्यायको लागि अन्तर्राष्ट्रिय मञ्च, नेपाली सिभिल सोसाइटी माउन्टेन इनिसिएटिभको आयोजनामा मुस्ताङमा दुई दिने सम्मेलन गर्न लागिएको कार्यकारी निर्देशक शाहीले बताए ।

पर्वतीय मुद्दालाई स्थापित गर्न र सो क्षेत्रका समुदाय एवम् जैविक विविधतामा जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनिकरण तथा अवसरहरुको सदुपायोग गर्नका लागि नीतिगत तहमा सम्मेलनले सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको पर्वतीय वकालत सम्मेलनका सल्लाहकार मिनबहादुर शाहीले बताए । सरकार र अरु सरोकारवाला निकायसँगको सहकार्यमा सम्मेलन गरिने उनले जानकारी दिए ।

पर्वतीय क्षेत्रको विकास र संरक्षणका लागि जवाफदेही र उत्तरदायी सुशासन प्रणालीको प्रवर्द्धनका लागि सहयोग पुगोस् भन्ने हेतुले सम्मेलन गर्न लागिएको त्यसमा जलवायुजन्य समस्याको सामना गरिरहेका स्थानीय बासिन्दाहरुको अवस्था एवम् आवाजलाई नै केन्द्रमा राखिने किर्डाक नेपालकी गीता पाण्डेले बताइन् ।

सम्मेलन पर्वतीय क्षेत्रले खेपिरहेको समस्या र त्यहाँका बासिन्दाको जीविका तथा जैविक विविधताको रक्षाका लागि गर्न पर्ने पहलका लागि झक्झक्याउने माध्यम पनि बन्न सक्ने आयोजकको भनाइ छ ।

विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धि तथा त्यसले निम्त्याएको जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा जोखिम उच्च भएको वैज्ञानिकहरुले बताउँदै आएका छन्। केही महिनाअघि जारी भएको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी सञ्जाल आइपिसिसीको प्रतिवेदनमा विश्वव्यापी तापमान वृद्धिको असर पर्वतीय क्षेत्रमा बढी परेको र त्यसको प्रभाव समुद्र सतह बढ्नुमा पनि रहेको उल्लेख गरिएको छ।

पर्वतीय क्षेत्रका बासिन्दाको जनजीविका र जलवायु परिवर्तनजन्य घटनाहरुसँग अनुकूलन तथा प्रभाव न्यूनीकरणको प्रयास एवम् पर्वतीय क्षेत्रको जैविक विविधताको संरक्षणमा जोड दिने गरिएको छ।

पृथ्वीको कूल क्षेत्रमध्ये २२ प्रतिशत पर्वत क्षेत्र पर्ने र विश्वको कूल जनसंख्यामध्ये १५ प्रतिशत मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

नेपाल तेस्रो ध्रुवका रुपमा चिनिने हिन्दू कुश हिमालय क्षेत्रमा पर्छ। यो क्षेत्रमा रहेका ८ देशमध्ये नेपाल धेरै पर्वतीय क्षेत्रले ढाकिएको देश हो।

जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा चाँडो र बढी प्रभाव पार्ने अनुसन्धानहरुले देखाएका छन्। सोहीअनुसार नेपालसहितका हिन्दू कुश हिमालय क्षेत्रका देशहरुको मुद्दा साझा रुपमा केही समय पहिला स्कट्ल्याण्डमा भएको कोप–२६ मा उठाएका पनि थिए।

हिन्दू कुश हिमालय (एचकेएच) पृथ्वीका दुई ध्रुवपछि सबैभन्दा धेरै हिउँ अर्थात जमेको अवस्थामा पानी रहेको क्षेत्र हो।

अनौपचारिक रुपमा थर्ड पोल (तेस्रो ध्रुव) का रुपमा समेत चिनिने हिन्दू् कुश हिमालय क्षेत्र नेपालसहित ८ देश ९अफगानिस्तान, बंगलादेश, भूटान, चीन, भारत, म्यानमार, नेपाल, पाकिस्तान० को करिब ३४ लाख ४१ हजार ७१९ वर्ग किलोमिटरमा फैलिएको छ।

‘थर्ड पोल’ एसियाका १० ठूला नदी संरचनाको स्रोत हो। २४ करोडको बसोबास रहेको हिन्दू कुश हिमालय क्षेत्र हुँदै बग्ने नदीहरु पर्वतीय तथा तल्लो तटीय क्षेत्रका एक अर्ब ९० करोडभन्दा बढी मानिसका लागि पानीको स्रोत हो।

विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धि र त्यसले निम्त्याएको जलवायु परिवर्तनका सम्बन्धमा भएका वैज्ञानिक अध्ययनहरुले पृथ्वी जोगाउनका लागि समय निकै कम रहेको बताइरहेका छन्। यही परिवेशमा पर्वतीय क्षेत्रको गम्भीर्यता दर्शाउनका लागि सम्मेलन गर्न लागिएको आयोजकले बताएका छन् ।

मंसिर २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्