मंगलबारदेखि हुने अधिवेशनबाट विधेयक पास हुन्छ – सभामुख सापकोटा

मङ्गलबारदेखि सुरु हुने संघीय संसद अधिवेशनको पूर्वसन्ध्यामा सोमबार संघीय संसद भवन नयाँबानेश्वरमा कोभिड–१९ को इन्टिजेन परीक्षण गर्दै सभामुख अग्निप्रसाद सापकोटा। तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारिताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको सोमबार अवलोकन गर्दै सभामुख सापकोटाले मंगलबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका हुन्।

उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए। संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुसँग छलफल गर्ने र आवश्यकताअनुसार सर्वदलीय बैठक राख्ने पनि उनले स्पष्ट पारे।

सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेण्डा रहेको उल्लेख गरे।

उनले एमालेले विगतमा गरेको संसद अवरोध संविधान र नियमसम्मत् नभएको बताए। ‘उहाँहरुले जे गरिराख्नुभएको छ, त्यो संविधान, नियम–कानुनअनुसार छैन। नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन्’, उनले भने, ‘जहाँसम्म मेरो सवाल छ। मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रुपमै गरेको छु र अझ मैले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको छु र सधैँभरि त्यही गर्न म प्रतिबद्ध छु।’

मंगलबारदेखि संसद अधिवेशन सुरु हुने भएकाले सभामुख सापकोटाले संसद भवन नयाँ बानेश्वर पुगेर संसद सचिवालयको तयारीको अवलोकन गरेका हुन्। संसद बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसदहरु र कर्मचारीलगायतको कोरोना भाइरसको एन्टिजेन परीक्षण भइरहेको पनि जानकारी दिएको छ।

मंसिर २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्