गैरदलितसँग बिहे गरेका दलित युवक दुई दिनदेखि बेपत्ता

सिमकोट- गैरदलित केटीसँग बिहे गरेको भन्दै आफन्त आएर घरबाट लगेका दलित युवक दुई दिनदेखि बेपत्ता भएका छन्। बुधवार राति केटाको घरमा बसिरहेका बेला माइती पक्षबाट आएका स्थानीयले कुटपिट र घरमा क्षति पुर्‍याएर दुवै जनालाई लगेको र त्यसपछि केटा बेपत्ता रहेका हुन्।

मुगु जिल्लाको सोरु गाउँपालिका–१ को लिप्रु गाउँकी सुन्तली मल्ल र हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–१ को जैरको नात्ता गाउँका केटा चन्द्रे कामीले भागी बिबाह गरेको बताउदै सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले माइती पक्षले केटाको घरमा आएर कुटपिट गरी बेपत्ता पारेको जानकारी दिए। उनले दुई दिनअघि रातिको समयमा बीस जना भन्दा बढी केटीका माइती पक्ष मानिसहरु घरमा आएर कुटपिट गरि जबरजस्ती लगेको बताए।

केटा र केटीबीच मन पराएर दुई महिना अगाडि भागी बिबाह भए पनि घरमा नआई सर्केगार्ड गाउँपालिकाकै रिप गाउँमा बस्दै आएका थिए। उनले घर आएको दुई दिनमै माइती आएर कुटपिटका साथै दुवै जनालाई घरबाट लगेको र हालसम्म बेपत्ता रहेको बताए ।

उनले मन पराएर बिबाह गरेको केटाकेटीले घरमा आउनू र केही गर्दैनौँ भन्ने माइती पक्षले भनेर बोलाएको समेत बताए। उनले अहिलेको जमानामा पनि दलित र गैरदलितबीच भएको बिहे अमान्य हुन नसक्ने बताउदै दोषीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरे।

हुम्ला जिल्लाका प्रहरी नायव उपरीक्षक हेरम्भ शर्माले घटनाको जानकारी आउने बित्तिकै उनीहरुको खोजीका लागि प्रहरी व्यापक रुपमा परिचालन गरिएको बताए। उनले जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जना, तुम्च, गल्फागाड, श्रीनर, कवाडी प्रहरी चौकीबाट प्रहरी परिचालन भएर खोजी कार्य भई रहेको भए पनि अहिलेसम्म पत्ता नलागेको बताए। त्यसैगरी मुगु जिल्लाबाट पनि प्रहरी खटिएको जानकारी प्राप्त भएको छ। उनले खोजीको लागि प्रहरी खटेको दुई दिन भएपनि हालसम्म केटाकेटीको पत्ता लाग्न नसकेको बताए।

पुस २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्