शून्य समय

अबको दस वर्षपछि नेपाल कहाँ होला?

विकसित पश्चिमा मुलुकका नेता या विविध विषयका विज्ञहरुको एउटा साझा प्रश्न हुने गर्छ नेपालीहरुसँगको सामान्य छलफल या अन्तर्क्रियामा- अबको पाँच, दश या १५ वर्ष पछि नेपाल कहाँ होला?

दुई साताभन्दा टाढाको परिस्थितिबारे नसोच्ने हामीहरुको लागि यो कठिन प्रश्न हो निश्चित पनि। तर, देश निर्माण आम जनताको दायित्व हो र त्यसका लागि उनीहरु सुसूचित र नीति निर्माणमा सामेल भएमा मुलुकका भावी स्वरुपबारेको एउटा खाका कठीन विषय हैन।

पश्चिमाहरुमा यो अभ्यास नियमित हो।

आगामी १० दिनमा नेपालमा कुन सबभन्दा महत्वपूर्ण निर्णय होला ? हो, त्यस्तै अर्को कठीन प्रश्न नेपाल भित्रबाट बाहिरबाट आउन थालेको छ। भारतीयहरु खासै चासो नलिएको जसरी सोध्ने गर्छन्, के मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) पास होला यो संसद अधिवेशनमा?

अमेरिकीहरुले यसबारे अब बाहिर कुरा गर्न कम गरेका छन्। अर्थात उनीहरुले त्यसका लागि सरकार प्रमुख शेरबहादुर देउवा र पार्टीको सर्वाधिकार आफैँमा राखी निजी तरिकाले निर्णय लिई पार्टीमाथि त्यसलाई लाद्न अभ्यस्त पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अलग्गै र सिधै सम्पर्क गरिरहेका छन्।

केपी ओलीको आफ्नै दाउ र राजनीतिक ताल सुर छन्। मुलुकको चिन्ता यीमध्ये कसैलाई छैन।

त्यसैले अर्को साता संसदमा एमसीसीसँग जोडिएको प्रस्ताव पेश हुँदा प्रमुख प्रतिपक्ष ओलीको दलसँग आवद्ध सांसदहरु संसदमा नारावाजी गर्नमा व्यस्त हुने छन्, सभामुख विरुद्ध नारा लगाउँँदै। ‘हाम्रो दलले निस्कासन गरेको सांसदलाई यो सदमा आउन नदेस्, तिनलाई अयोग्य घोषित गर’ नारा सरकार र सभामुख विरुद्ध निर्देशित रहने छन्।

सत्ता गठबन्धनको हिस्सा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमसीसी मुख्यालयसँग प्रत्यक्ष सम्पर्कमा छन्, र त्यसलाई उसले विरोध गर्ने छैनन्। बाबुराम भट्टराईको नैतिकता र आदर्श हिजो भारतजस्तै सबै पश्चिमा शक्तिको हित साधनमा निहित छ।

तीनतिर फर्केका ठूला दल अर्थात कांग्रेस, एमाले र प्रचण्डको फरक रणनीति र चाहना एमसिसी पारित गर्नु हो, यद्यपि भोलि नेपाली कांग्रेस बाहेक अन्य दलले एमसीसीको विरोध गर्ने छन्।

एमसीसी प्रस्ताव सदनमा नेता हुनु पूर्व सडकमा त्यसको विरुद्ध केही विरोध प्रदर्शन भइरहेका छन्। राजसंस्थाको पक्षधरताका साथ उठाइएका केही नारामा एमसीसी विरोध पनि छ।

यो विद्यमान राष्ट्रिय मनोविज्ञानसँग मेल खान्छ, किनकि १२ – बुँदे लोकतन्त्रका नेताहरु ‘विकाउ’ र परिचालित भएकोले राष्ट्रियताको नारा राजसंस्थाका पक्षधरबाट मात्र आउन सक्छ भन्ने सोच प्रतिदिन व्यापक र फराकिलो बन्दै छ।

झण्डै ४ वर्षको निरन्तर ‘कुटनीतिक लविङ’ सफल हुन लागेको देख्दा अमेरिका खुसी हुनु अस्वाभाविक हैन तर त्योभन्दा कैयौँ बढी चिन्ता र चासो चिनियाँ उच्चतहमा देखा पर्नु त्यति स्वाभाविक हैन।

राष्ट्रपति सी जिङपिङदेखि उच्चतहका अन्य नेताहरुको सहमतिमा माओवादी लगायत नेपाली नेताहरुको बिकाउ प्रवृत्तिका कारण नेपाल पश्चिमाहरुको हितको किल्ला बन्न थालेको लेखाजोखा साथ व्यापक लबिङमा लागेको कूटनीतिक श्रोत बताउँछ।

कुनै शक्ति राष्ट्रसँग सन्धि, सम्झौता या सहमति गर्दा त्यसका सकारात्मक र नकारात्मक असर मुलुकभित्र कसरी पर्लान्, र सम्बन्धित मुलुकका प्रतिस्पर्धी बाह्य शक्तिहरुले कसरी लेलान्, त्यो हेर्ने चरित्र, साहस तथा परम्परा नेपाली नेताहरुमा छैन।

१२ – बुँदेका हस्ताक्षरकर्ताहरु त बाह्य दास तथा हितका पृष्ठपोषक हुन् भन्ने स्पष्ट भइसकेको छ। त्यसैले हरेक बाह्य शक्तिहरु नेपाली राजनीतिका ‘आन्तरिक’ पात्रहरुलाई किन्न सकिने वस्तुका रुपमा हेर्छन् भन्ने बुझ्न सकिन्छ।

तर, सिद्धान्त र प्रतिबद्धताबाट हैन, अन्य कुराबाट उनीहरुको मोलतोल हुन्छ भन्ने विषयमा सरोकारवाला विदेशी शक्तिहरु आश्वस्त छन्। एमसीसीबारे पनि छलफल नभई ‘चतुर्‍याइँ’ का साथ त्यसलाई पारित गरिन लागेको बुझ्न कठीन छैन।

सभामुख अग्नि सापकोटाको कसरी यो समग्र विषयमा आफूलाई प्रस्तुत गर्लान्, या पार्टी अध्यक्षको इशारामा कुनै बहाना बनाएर बाहिर बस्लान्, हेर्न बाँकी छ।

तर, यी सबै विकृति र नेपाली राजनीतिमा ‘बिकाउ’ परम्पराको बिगबिगी बढेको या यथावत रहेको बेला राप्रपामा राजेन्द्र लिङदेन र नेपाली कांग्रेसको निर्वाचित पदाधिकारीहरुमा विविध पक्षका युवाहरुको उदयले केही आशा जगाएको छ।

राप्रपामा घोषित नीति र सिद्धान्तलाई हात्तीको देखाउने दाँत जस्तो गरी मुख्यरुपमा केपी ओली– विद्या भण्डारीसँग सत्ता साझेदारी गर्दै आएको नेतृत्वलाई लिङ्देनले विस्थापित गरी मान्यतामा आधारित राजनीति अघि बढाउने वातावरण बनाएका छन् पार्टी महाधिवेशन प्रतिनिधिहरुले।

नेपाली कांग्रेसमा झण्ठै त्यही बिकाउ प्रकृत्तिका स्थापित अनुहार केपी सिटौलाले केही व्यक्तिलाई चुनाव लडाए पनि आफैँ लड्ने हिम्मत गरेनन्।

किनकि उनलाई नेपाली बनेर नेपालको राजनीति गर्छ भन्ने १२ – बुँदेका बाह्य रचयिता र आन्तरिक नेतृत्वकर्ता या हस्ताक्षरकर्ता समूह अब कमजोर भइसकेको छ। १२–बुँदेकै पक्षधर भए पनि शेखर कोइरालाले नेतृत्वका लागि नेपाली कांग्रेसको अनुमोदन मागे, र असफल भए।

तर पराजयपछिको उनको आधिकारिक अभिव्यक्तिले उनमा आत्मसमीक्षाको साहस भएको मात्र देखाएको छैन कि पराजयमा नैतिक सन्तुलन गुमाउने कमल थापा र शकुनीचालमा राजनीति गर्दै आएका सिटौलाको उपस्थिति रहेको यो राजनीतिमा आत्मसमीक्षा गर्ने क्षमता भएका नेताका रुपमा उनी प्रस्तुत भएका छन्।

प्रजातन्त्रमा विश्वास गर्ने नेताका रुपमा स्थापित हुन जनमत या पराजयलाई निशर्त स्विकार गर्ने चरित्रसँगै बोली र व्यवहारमा समानता स्थापित गर्नु हो। जवाफदेहीता यसैलाई भनिन्छ।

शेखर कोइरालाको अभिव्यक्तिलाई सकारात्मक मान्दा मान्दै पनि आगामी दिनमा विजयी पक्ष शेर बहादुर देउवासँगको सहकार्यको स्तर हेरिने छ।

नेपाली कांग्रेसमा बिपी, गणेशमान तथा कृष्णप्रसाद भट्टराईपछि पराजित र फरक मतलाई पार्टीमा निरन्तरता स‍म्भव देखिएको छैन। सुशील कोइरालालाई शेरबहादुर देउवाले पार्टी अध्यक्षमा पराजित गरेपछि पार्टीबाट नेपाली कांग्रेस (लोकतान्त्रिक) अलग पहिचानका साथ जन्मिएको थियो।

आश्चर्य, यसपल्ट पार्टी अध्यक्षमा उठ्ने पाँच जना नेतामा शेखर कोइरालाबाहेक सबै उम्मेदवार ‘लोकतान्त्रिक’ पक्षका अर्थात देउवा अनुयायी थिए। लामो समयमा सत्ताबाट उपेक्षित अवस्था स्विकार्य नहुनु स्वाभाविकै थियो, उनीहरुका लागि।

त्यसैले सबै जना देउवा विरुद्ध चुनावी मैदानमा उत्रिए। अन्तत : अर्थात निर्वाचनको दोस्रो चरणमा उनीहरुले देउवालाई नै समर्थन गरेर पार्टीमा ‘एकता’ को ‘कृत्रिम’ या ‘गुटबाद’ को वास्तविक स्वरुप देखाएका छन्। तर, चुनौती अब शुरु भएको छ।

उपाध्यक्षको पदमा विजय हासिल गर्नेबित्तिकै पूर्णबहादुर खड्का बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराई आश्रम पुगे, श्रद्धाका दुई माला चढाए सन्त नेताप्रति। तर, भट्टराईले नेपाली कांग्रेससँग सम्बन्ध विच्छेद गर्दा गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षता जसरी र जुन अर्थ बोकाएर नेपाल छिराइएको थियो, त्यसलाई ‘आयातीत’ भनेका छन्। ती एजेन्डालाई स्विकार गर्ने र भट्टराईलाई माला चढाउने प्रवृतिलाई राजनीतिमा कसरी हेर्ने ?

पुराना दुई घटकको झण्डै बराबरीको उपस्थिति स्थापित भएको देखिन्छ, पार्टी पदाधिकारी तथा केन्द्रीय समितिको निर्वाचनपछि। पार्टी नीति र सिद्धान्तबाट नचल्दा, नेतृत्वको हैकमबाट चल्दा या विदेशबाट निर्देशित हुँदा प्रजातन्त्र र राष्ट्रियता विरुद्धको संस्था या संयन्त्र बन्न जान्छ।

जनतासँग अर्थात राष्ट्रियता, सार्वभौम र राष्ट्रिय स्वार्थसँग जोडिएका पार्टीको नेतृत्व वर्गमा विदेशी आशिर्वाद खोज्ने प्रवृत्ति बढ्न जान्छ, यदि राष्ट्रियतामा उनीहरुको निशर्त समर्थन र प्रतिवद्धता छैन भने।

नेपाली कांग्रेसमा विपी, गणेशमान, तथा कृष्णप्रसाद भट्टराईको समयमा १२ – बुँदे हुन नसक्नुको अर्थ समग्र नेपालीहरुले र अझ खासगरी नेपाली कांग्रेसका अहिलेका नेता र कार्यकर्ताहरुले बुझ्न जरुरी छ।

उपाध्यक्षको पदमा विजय हासिल गर्नेबित्तिकै पूर्णबहादुर खड्का बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराई आश्रम पुगे, श्रद्धाका दुई माला चढाए सन्तनेताप्रति। तर, भट्टराईले नेपाली कांग्रेससँग सम्बन्ध विच्छेद गर्दा गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षता जसरी र जुन अर्थ बोकाएर नेपाल छिराइएको थियो, त्यसलाई ‘आयातीत’ भनेका छन्।

ती एजेन्डालाई स्विकार गर्ने र भट्टराईलाई माला चढाउने प्रवृतिलाई राजनीतिमा कसरी हेर्ने ?

अहिलेको निर्वाचनमा १२ – बुँदेका अनुहार मानिने शेखर कोइराला पराजित भएका छन्, कृष्णप्रसाद सिटौलाले प्रत्यक्ष उम्मेदवार बनेर मत माग्न नसकेको अवस्था भएपनि उनले नेपाली राजनीतिमा विदेशी वर्चश्व भित्राएकोमा ‘आतंकवादी’ बिल्ला बोकेको माओवादीको नेतृत्वका नेपाली कांग्रेसले सहायक भूमिका खेलेकोमा, तथा राष्ट्राध्यक्ष राजा ज्ञानेन्द्रको अपमानलाई आफ्नो सम्मान ठान्दै भारतीय दूतावासमा ओहोर दोहोर कुटनीति खेलेकोमा कुनै पश्चाताप गरेका छैनन्।

उनी प्रत्यक्ष राजनीतिमा नदेखिनुमा खुसी हुन सकिएला, तर नेपाली कांग्रेसलाई राष्ट्रविरोधी र विपी, गणेशमान, भट्टराई विरोधी खेमामा पुर्‍याउनु र त्यही अवस्थामा राखिछोड्नुमा अझै पनि १२ – बुँदे ‘रिसिट’ र षडयन्त्रले नेपाली कांग्रेसलाई डोर्‍याएको स्पष्ट हुन्छ।

पूर्ण खड्का, धनराज गुरुङ, गगन थापा या विश्व प्रकाशको विजयको केही तात्विक अर्थ रहने छैन, यदि उनीहरुले १२ – बुँदे लोकतन्त्रको समीक्षा र कोर्स करेक्सन शुरु गरेनन् भने ।

सामाजिक द्वन्द्व, जातीय बैमनस्य निषेध र ‘फुटाऊ तथा राजगर’ को एजेन्डा अर्थात १२ – बुँदेको दोस्रो संस्करण अर्थात राजसंस्थालाई शक्ति प्रक्रिया बाहिर राखी लामो द्वन्द्वको खेतीका लागि इयान मार्टिनले भित्र्याएका थिए।

शान्ति प्रक्रियाका सफलता तथा द्वन्द्वका कारणहरुलाई निस्प्रभावी बनाउन या सम्बोधन गर्न त्यसका विविध पक्षबीच सघन छलफल र सहमति निर्धारण हुनुपर्छ भन्ने कुरालाई १२ – बुँदेका सुगाहरुले नियतवश नस्विकारे पनि सचेत र नेपाललाई माया गर्ने नेपालीहरुले बुझ्ने कोशिस किन नगर्ने ?

त्यस विपरितको षडयन्त्रको अभ्यास गरे वापत नेपालले चुकाएको मूल्यको लेखाजोखा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा गर्‍यो भने अहिलेको परिस्थितिलाई राष्ट्रिय मेलमिलापको एजेन्डा तथा स्पिरिटमा अगाडि लैजान अत्यन्त सहज हुनेछ। त्यसका लागि गगन थापा र अझ झापाकै विश्वप्रकाश शर्मा सिटौला भन्दा फरक देखिनु र उभिनु आवश्यक छ।

त्यती भएमा नेपाली कांग्रेसको पहिचान राष्ट्रियता, सार्वभौमसत्ता र प्रजातन्त्र पक्षीय पार्टीकै रुपमा स्थापित हुने छ। अन्यथा यसको प्राण मन्त्र र मूलमन्त्र १२ – बुँदे नै रहने छ र त्यसलाई जनताले अस्वीकृत गर्दै गएको वर्तमान अवस्थामा नेपाली कांग्रेसको पुनरुत्थान भन्दा विखण्ठन स्वाभाविक परिणिति बन्ने छ।

पुस २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्