ट्राफिक नियम पालना गर्न मन्त्री कार्कीको जोड

विराटनगर – प्रदेशबासीमाझ सुरक्षा प्रत्याभूतिका लागि सरकार प्रविधीमैत्री बन्दै अघि बढ्ने आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताएका छन्।
विराटनगरको बसपार्क टर्मिनल भवनमा आइतबार आयोजित ट्राफिक सप्ताह कार्यक्रममा मन्त्री कार्कीले प्रदेश राजधानी विराटनगरलाई थप सुरक्षित बनाउन सिसिटिभी जडान गरिने बताए।
राजधानीबासीलाई सुरक्षित बनाउन सरकार सिसिटिभीबाट निगरानी गर्ने उनको भनाई छ। प्रदेशलाई अपराधिक घटना न्यून गर्दै सुरक्षित बनाउन मेचीदेखि कोशीसम्म राजमार्गमा सिसिटिभी जडान हुने मन्त्री कार्कीले बताए।
सुरक्षासँगै महानगरपालिकाभित्र पार्किङको समस्या देखिदै आएको बताएका मन्त्री कार्कीले बजारक्षेत्रमा स्मार्ट पार्किङ बैशाखभित्र सञ्चालनमा आउने जानकारी दिए। विराटनगरलाई विकसित राजधानी बनाउनका लागि चाँडै करिब ५ विगाहाको नयाँ प्रदेशस्तरीय बसपार्क निमार्ण गर्ने मन्त्री कार्कीले घोषणा गरे।
ट्राफिक सप्ताह सातादिन बाजागाजा बजाएर मात्र पर्याप्त नहुने बताउँदै मन्त्री कार्कीले आउँदो १ महिना ट्राफिक ब्यवस्थापनको काम अनुगमन गर्ने र त्यसको नतिजाको समिक्षा हुने बताए। उनले भने, ‘यहाँ पुरानै हिसाबले मात्र ट्राफिक नियमलाई परिचालन गर्न सकिदैन। ट्राफिक प्रहरी जनतालाई नै सुरक्षित बनाउन सडकमा खटिएकाछन्। ट्राफिक नियम पालना नगर्नेलाई कारवाहीस्वरुप जरिवाना गर्ने गर्छन्। कारवाही मात्रले ट्राफिक ब्यवस्थापन सटिक हुँदैन। हामी आफै सचेत हुनु आवश्यक छ।’