मध्यपुरथिमिमा नवदुर्गा नाच सुरु

तस्बिरः रासस।

भक्तपुर– मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आजदेखि नवदुर्गा नाच सञ्चालन हुने भएको छ। मध्यपुरथिमि नगरपालिकाको सहयोग र सहकार्यमा आठ दिनसम्म भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन गर्ने गरी आज साँझदेखि सुरु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘थिमि सांस्कृतिक सहर हो, धेरै लामो समय मध्यपुरथिमिमा प्रदर्शन हुँदै आएको नवदुर्गा नाच ११ वर्षसम्म बन्द हुँदा मेरै पहलमा दुई वर्ष अगाडि पुनः सञ्चालन भएको थियो, गतवर्ष कोरोनाका कारण नाच प्रदर्शन हुन पाएन, यसवर्ष योमरी पून्ही अर्थात् आजदेखि आठ दिनसम्म मध्यपुरथिमिको टोल–टोलमा नवदुर्गा नाच हुनेछ, त्यसको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गरेको छ।’

मध्यपुरथिमिको दिगु टोलबाट सुुरु भएको यो नाच आज रातभर यहीँ रहने छ। यहाँका बासिन्दाले नाच हेर्नुका साथै नवदुर्गाको पूजा गरेका छन्। नाच आठ दिनसम्म बालकुमारी, लायकु, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडेलगायत टोलटोलमा गएर प्रदर्शन गरिने भएको छ। मध्यपुरथिमिमा दुई दशक लामो समय सञ्चालनमा रहेको नवदुर्गा नाच सुरक्षाका कारणले ११ वर्ष बन्द भए पनि निर्वाचित जनप्रतिनिधि आएपछि २०७५ सालदेखि पुनः सञ्चालनमा आएको थियो।

नगरपालिकाका प्रमुख श्रेष्ठले भने, ‘नगरपालिकाले मध्यपुरथिमिको कला, संस्कृति र सांस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरेर अगाडि बढेको छ, वर्षौदेखि मध्यपुरमा प्रदर्शन हुँदै आएको नवदुर्गा नाच पनि सांस्कृतिक धरोहर नै हो, यसलाई रोक्नु हुँदैन भन्ने लागेर नगरपालिकाकै पहलमा आवश्यक सहयोग, खर्च र सुरक्षाको व्यवस्था गर्दै नाच सञ्चालनमा ल्याएका हौँ।’

नवदुर्गा नाच मध्यपुरथिमिको टोल–टोलमा नाचिने भएको छ भने स्थानीयवासीले श्रद्धा र भक्तिपूर्वक नवदुर्गाको पूजा गर्ने र नाच हेर्ने गर्दछन्।

पुस ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्