संघर्षरत टिमसँग रोकिएको रियल मड्रिड

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड रेलिगेशन जोनमा रहेको काडिजसँग गोलरहित बराबरीमा रोकिएको हो ।

राम्रा मौका बनाए पनि रियल मड्रिडले गोल भने गर्न सकेन । मड्रिडले ३६ पटक तथा काडिजले चारपटक गोल गर्ने प्रयास गरेका थिए । तर दुवै टिम सफल हुन सकेनन् ।

बराबरीपछि पनि रियल मड्रिड दोस्रो स्थानको सेभिल्लाभन्दा ६ अंकले अघि रहेको छ । रियलको १८ खेलबाट ४३ तथा सेभिल्लाको १७ खेलबाट ३७ अंक छ । पुछारबाट दोस्रो स्थानको काडिजको १८ खेलबाट १४ अंक छ ।

आइतबार राति भएका अरु खेलमा ग्रानाडाले मालोर्कालाई ४–१, एथ्लेटिको बिल्बाओले रियल बेटिसलाई ३–२ तथा गेटाफेले ओसासुनालाई १–० ले पराजित गरेका छन् ।

पुस ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्