काठमाडौँमा तीनदिने इन्टरप्राइज इन्डिया प्रदर्शनी

काठमाडौँ – राजधानीस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा तीनदिने ‘इन्टरप्राइज इन्डिया प्रदर्शनी’ सुरु भएको छ। भारतीय राजदूतावासका कार्यबाहक राजदूत श्रीमती नामग्य सी खम्पाले उक्त प्रदर्शनीको मंगलबार उद्घाटन गरेकी हुन्।

उक्त अवसरमा कार्यबाहक राजदूत खम्पाले आयोजकहरुलाई दुई देशबीचको व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन नेपाली उद्यमीहरुसँग बीटुबी साझेदारी खोज्न प्रेरित गरेकी थिइन्।

प्रदर्शनी भारत सरकार वाणिज्य एवं उद्योग मन्त्रालयको सहयोगमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले आयोजना गरेको हो। दुवैतर्फ उपलब्ध व्यापार अवसरहरूको बारेमा सचेतना जगाई ब्रान्ड इन्डियाको प्रवर्द्धन र द्विपक्षीय व्यापार एवं लगानी अभिवृद्धि गर्ने उद्देश्यले सो प्रदर्शनीको आयोजना गरिएको हो।

संयुक्त उद्यम, प्रविधि आदानप्रदान, मार्केटिङ प्रबन्धलाई सहजीकरण गर्नुका साथै दुई देशका जनताबीचको सम्पर्कलाई अझ मजबुत बनाउनु प्रदर्शनीको मूल उद्देश्य रहेको कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले जनाएको छ।

प्रदर्शनीमा भारतका विभिन्न भागबाट आएका र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ५० भन्दा बढी भारतीय कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाहरु प्रदर्शन गरिरहेका छन्। नेपाली व्यवसायी तथा व्यापारीहरुको पनि सहभागिता रहेको प्रदर्शनी पुस ८ गतेसम्म चल्नेछ।

पुस ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्