वीरगञ्ज भन्सार नाका : ५ महिनामा २ खर्बको सामान आयात, ४७ अर्बको निर्यात

वीरगञ्ज नाका।

वीरगञ्ज – मुलुककै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २ खर्बभन्दा बढीको सामान आयात भएको छ। छिमेकी मुलुक भारतबाट यस अवधिमा सबैभन्दा बढी सामान नेपालमा आयात भएको हो।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि मंसिर पाँच महिनाको अवधिमा २ खर्ब ३ अर्ब ७० करोड ४८ लाख ५४ हजार रुपैयाँ बराबरको विभिन्न सामान आयात भएको छ। सोही अवधिमा नेपालबाट जम्मा ४७ अर्ब ५६ करोड २५ लाख ७० हजार रुपैयाँ बराबरको विभिन्न सामान भारततर्फ निर्यात भएको कार्यालयले जनाएको छ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा भारतसँगको आयात निर्यातको आँकडाअनुसार १ खर्ब ५६ अर्ब १४ करोड २२ लाख ८४ हजार बराबरको व्यापार घाटा नेपाललाई भएको छ। भारतबाट नेपालले मुख्य रुपमा पेट्रोलियम पदार्थ, विभिन्न सवारीसाधन, पार्टपुर्जा, औद्योगिक कच्चापदार्थ, खाद्यान्नलगायतका वस्तुहरु आयात गर्ने गरेको छ। वीरगञ्ज नाका हुँदै नेपालले भारततर्फ भने भटमासको प्रशोधित तेल, प्रशोधित पाम तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडा, बत्तिसा त्रिफला, च्यवनप्रास आदि मुख्य रुपमा निर्यात गर्दै आएको छ।

यस्तै सबैभन्दा बढी रकमको भारतबाट वस्तुहरु आयात हुँदा दोस्रो स्थानमा चीनबाट सबैभन्दा बढी मूल्यका वस्तुहरु नेपालमा आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। चालू आर्थिक वर्षको साउनदेखि मंसिर पहिलो पाँच महिनाको अवधिमा चीनबाट नेपालमा २० अर्ब ६७ करोड ९६ लाख २० हजार बराबरको वस्तु आयात भएको छ। यही अवधिमा नेपालबाट चीनमा भने १ करोड ५९ लाख ६६ हजार बराबरको मात्रै वस्तु निर्यात भएको तथ्यांकमा उल्लेख छ।

चीनबाट नेपालमा जुत्ता, कस्मेटिकका सामानहरु वीरगञ्ज नाका भएर आयात हुने गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए। चीनबाट भने बढी मात्रामा सामान रसुवा, तातोपानी नाका भएर नेपालमा आयात हुने गरेको गुप्ताले बताए। यो पाँच महिनाको अवधिमा चीनसँग आयात निर्यातको आँकडाअनुसार नेपाललाई २० अर्ब ६६ करोड ३६ लाख ५४ हजार बराबरको व्यापार घाटा भएको छ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा नेपालले विश्वका ३५ वटा देशहरुबाट वस्तुहरु आयात निर्यात गरेको छ। यस अवधिमा नेपालले सबैभन्दा बढी भारत, चीन, इन्डोनेसिया, अस्ट्रेलिया तथा ब्राजिलबाट सामानहरु आयात गरेको वीरगञ्ज भन्सारको तथ्यांकले देखाएको छ।

निर्यातको दाँजोमा आयात बढी व्यापार घाटा बढेपछि राष्ट्र बैंकले बिलासी वस्तु आयातमा कडाइ गरेको छ। आयात निरुत्साहित गर्न नेपाल राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै गाडी, फर्निचर तथा रक्सीसहितका डेढ दर्जनभन्दा बढी वस्तु आयातका लागि कडा व्यवस्था गरेको हो।
नयाँ नियमअनुसार अब वस्तु आयात गर्नका लागि प्रतीतपत्र खोल्नुअघि नै बैंकले आयातकर्ता कम्पनीबाट तोकिएअनुसार अनिवार्य शतप्रतिशत मार्जिन बुझ्नुपर्ने छ।

राष्ट्र बैंकको निर्देशनमा चिनी–चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा–भिनेगर, चुरोट–सुर्तीजन्य वस्तु, कस्मेटिक सामान, काठका सामान, जुत्ता चप्पल, छाता र लठ्ठी, मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु तथा सुनचाँदीलगायतका बहुमूल्य सामान आयात गर्नका लागि आयातकर्ताले प्रतीतपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गनुपर्ने व्यवस्था उल्लेख छ।

यसैगरी विद्युतीयबाहेकका गाडी र मोटरसाइकल आयातको लागि ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने छ।

पुस ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्