लमजुङबाट माओवादी केन्द्रका १३ राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट

लमजुङ – नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि लमजुङबाट १३ जना छनोट भएका छन्। पुस ११-१३ गते काठमाडौँमा तय भएको माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा लमजुङबाट केन्द्रीय सदस्यसहित १३ जना प्रतिनिधिले सहभागिता जनाउने भएका हुन्।

सदस्य संख्याको आधारमा राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट हुनेमा जिल्ला समन्वय कमिटी संयोजक एवं गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी, नेता बुद्धिराम गुरुङसहित सरोश शर्मा र सुनिल सुनार छन्।

केन्द्रीय सल्लाहकार ऋषिराम पौडेल, चित्रबहादुर कार्की (सिवी) र हिमकुमारी सुनार पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट भएका छन् भने ज्येष्ठ नागरिक कम्युनिष्ट मञ्चका पूर्णबहादुर गुरुङ र युवराज पराजुली पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट भएका छन्।

माओवादी केन्द्र लमजुङका अनुसार जिल्लामा पार्टी सदस्य संख्याको आधारमा चार जना छनोट भएका हुन् भने पार्टीको प्रदेश कार्यालय बैठकले थप दुईजना छनोट गरेको हो। सोबाहेक नेकपा माओवादी केन्द्र प्रदेश कार्यालय बैठकले जिल्लाका सतिमाया तामाङ र मोहमद जलालद्धिन मियालाई राष्ट्रिय सम्मेलन प्रतिनिधिको रुपमा छनोट गरेको हो।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेका देवेन्द्र पराजुली र केन्द्रीय प्रतिनिधि पारसमणि पौडेल पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि भएका छन्।

माओवादी केन्द्रले वडा, टोल, पालिका हुँदै प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ। लमजुङमा पनि वडासहित जिल्लाका ८ वटा स्थानीय तहमध्ये सात वटामा नेतृत्व चयन भइसकेको छ। पोखरामा सम्पन्न प्रदेश अधिवेशनबाट लमजुङका १३ जना प्रदेश कमिटीमा चयन भएका छन्। -न्युज कारखाना

पुस ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्