बालक अपहरण गर्ने भारतीय युवक पक्राउ

साङ्केतिक तस्बिर

जनकपुरधाम – १४ महिने बालक अपहरणको आरोपमा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको सितामढी ग्राम पञ्चायत बाजपट्टी– १० घर भई धनुषाको जनकपुरधाम उप–महानगरपालिका–१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपलिका–१७ मनहरपुरका रासलाल मुखियाले आफ्ना १४ महिने छोरा कृष्ण मुखिया बुधवार साँझ करिब ७ बजेदेखि हराएपछि प्रहरीमा जानकारी गराएका थिए ।

प्रहरीले खोजतलास गर्ने क्रममा ठाकुरलाई भारततर्फ बच्चा लिएर भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । ठाकुरलाई बिहीबार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सीमानजिकै बच्चा लिएर भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।

बालकलाई उनकै आमा संगिता मुखियाको जिम्मा लगाइएको छ। ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी थप अनुसन्धन थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

पुस ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्