उद्योग संगठन मोरङ र श्रीलंकास्थित साइलोन नेसनल चेम्बर अफ इन्डस्ट्रिजबीच सम्झौता हुने

मोरङ – उद्योग संगठन मोरङ र श्रीलंकास्थित साइलोन नेसनल चेम्बर अफ इन्डस्ट्रिजबीच संस्थागत सहकार्यका लागि सम्झौता हुने भएको छ।

उद्योग संगठन मोरङका अनुसार शुक्रबार काठमाडौंमा श्रींलकाली राजदूत हिमाली अरुणतिलका र संगठन अध्यक्ष सुयश प्याकुरेलबीच माघ दोस्रो साता दुवै संस्थाबीच सम्झौता हुने गरी सहमति भएको हो।

भेटका क्रममा दुवै पक्षबीच उद्योग, व्यापार प्रवद्र्धनका लागि सहजीकरण गर्नेबारे छलफल भएको छ। छलफलका क्रममा श्रीलंकाका राजदूत अरुणतिलकाले दुई राष्ट्रबीच उद्योग, निर्माण, पर्यटनलगायत धेरै क्षेत्रमा सहकार्यको प्रचुर सम्भावना रहेको बताएकी थिइन्।

दुई मुलुकका औद्योगिक तथा व्यवसायीबीच राजदूतावासले निरन्तर सहजीकरण गर्न तत्पर रहेको उनले बताएकी थिइन्।

सो क्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले श्रीलंकाली राजदूत अरुणतिलकाले दुवै राष्ट्रबीच धार्मिक, सांस्कृतिक, तथा आर्थिक क्रियाकलापसमेत भएको समानतालाई आर्थिक एवं व्यावसायिक महत्व र अवसरमा रुपान्तरणको सम्भावनाबारे चासो राखेको जानकारी दिए।

सो क्रममा अध्यक्ष प्याकुरेलले चिया, गार्मेन्टस तथा निर्माण क्षेत्रसँगै पर्यटन क्षेत्रलाई समेत विस्तार गर्न सकिनेमा जोड दिए। अध्यक्ष प्याकुरेलले व्यावसायिक सम्बन्धलाई दिगो बनाउन उद्यमीबीचसमेत सहजीकरणको वातावरण बनाउन राजदूतसमक्ष आग्रह गरेका थिए।

पुस ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्