फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको अध्यक्षमा सुजिल श्रेष्ठ

काठमाडौँ – नेपाल फर्निचर तथा फर्निसिङ महासंघको अध्यक्षमा सुजिल श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। महासंघको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सुजिल श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

संघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल, प्रथम उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा युवराज पौडेल र तृतीय उपाध्यक्षमा गोकुल श्रेष्ठ चयन भएका छन्। त्यस्तै महासचिवमा ओमबहादुर बस्नेत, कोषाध्यक्षमा बद्रीप्रसाद हुमागार्इं र सचिवमा राजकुमार दाहाल र सहकोषाध्यक्षमा अप्सरा थापा निर्विरोध भए।

महासंघको कार्यसमिति सदस्यहरुमा हरिकुमार शर्मा, अशोककुमार कुँवर, खगेन्द्र खरेल, प्रेमबहादुर थापा, ज्ञानबहादुर नेपाली, लोकनाथ रेग्मी, शिवप्रसाद पाण्डे र अनिश जोशी चयन भएका छन्।

एसोसियटतर्फको सदस्यमा अजयकुमार घिराइया र मनिष अग्रवाल तथा आजीवन सदस्यहरुको तर्फबाट ओमप्रकाश लोहिया चयन भएको महासंघले जनाएको छ।

कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले फर्निचर तथा फर्निसिङ व्यवसायीका समस्या सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले काठ आयात गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न सरकार क्रियाशस्ल रहेको उल्लेख गरे।

‘तीन वर्षमा वन पैदावारमा मुलुकलाई आत्मनिर्भर बनाउने र ५ वर्षपछि निर्यात गर्ने लक्ष्यका साथ काम अगाडि बढेको छ’, मन्त्री यादवले भने।

महासंघले काठ सहज रुपमा उपलब्ध नहुँदा फर्निचर व्यवसाय र उद्योग विस्तारमा बाधा उत्पन्न भएको जनाएको छ। महासंघका अनुसार यस व्यवसायमा दक्ष कामदारको अभाव छ। फर्निचर तथा फर्निसिङको लागि वार्षिक ७ अर्ब रुपैयाँ बढीको काठ आयात भइरहेको बताइएको छ।

देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन्। यो व्यवसायले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको महासंघको दावी छ। फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी रहेको छ। यसबाट वार्षिक ४० अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने गरेको महासंघले जनाएको छ। महासंघका अनुसार कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको छ।

पुस १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्