तपाईं पनि बसभित्रै पार्टी गर्ने होइन त?

काठमाडौँ – हामीमध्ये धेरैलाई बसभित्र पनि डिस्को बार हुन्छ भन्दा विश्वास नलाग्न सक्छ। अझ बसभित्रै पार्टी गर्न मिल्छ भन्ने सुन्दा पत्याउन गार्‍हो पर्छ। तर यो वास्तविकता हो।

भिजिट नेपाल २०२० लाई लक्षित गर्दै रेस नेपाल प्रालिले नेपालमै विदेशी शैलीको पार्टी बस सञ्चालनको तयारी गरेको थियो। तर कोरोना भाइरसको महामारीका कारण उक्त बस सञ्चालनमा बाधा पुग्यो। यसले सुरुमै महामारीको सामना गर्नुप¥यो। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको लकडाउनले बस बन्द भयो।

कोरोना भाइरसका विभिन्न चरणमा पार्टी बस कहिले चल्ने र कहिले बन्द हुने क्रम चलिरह्यो। पछिल्लो समय भने पार्टी बसको माग बजारमा ह्वात्तै बढेको छ। महामारीका कारण राम्रोसँग सञ्चालन हुन नसके पनि पार्टी बसको माग बढेको रेस नेपालले बताएको छ। कोरोना महामारीको जोखिम कम हुन थालेसँगै अहिले विभिन्न खाले पार्टीका लागि यस बसको प्रयोग हुन थालेको छ।

पार्टी नेपाल बसका सर्भिस इन्चार्ज विनोद खड्काले पछिल्लो समय यसले राम्रो मार्केट लिन थालेको बताए। ‘सुरुमा कोरोना महामारीले गर्दा खासै सञ्चालन हुन सकेन। तर पछिल्लो समय पार्टी बस नेपालको माग बढ्न थालेको छ’, उनले भने।

रेस नेपालले युट्युबमा पार्टी नेपाल बसको इन्ट्रोडक्सन भिडियो अपलोड गरेको छ। जसमा यसलाई साउथ एसियामै पहिलो पटक सञ्चालनमा आएको पार्टी बस भनिएको छ।

पार्टी बसले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत मनोरञ्जन दिनेछ। बसभित्रै डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाईफाई, डान्स फ्लोर, एयर कन्डिसन, शौचालयलगायतको व्यवस्था छ। जसले गर्दा विवाह, बर्थ–डे, एनिभर्सरी, स्टाफ पार्टी, ब्याचलर पार्टी, भिजा पार्टीलगायत निजी बुकिङ गरी व्यक्तिगत पार्टी बनाउन सकिन्छ।

विभिन्न खाले विशेषता भएकोले अहिले युवा पुस्ता र पार्टी गर्न चाहनेहरुको लागि पार्टी बस नेपाल नयाँ गन्तव्य जस्तै बनेको छ। पार्टी गर्नका लागि कुनै रेस्टुराँ वा विशेष स्थान धाउन पर्नेहरुका लागि यो सहज माध्यम हुन सक्छ। यसमा उच्च वर्गकाहरुले मात्र नभई लोकल रुपमा पनि मानिसहरुले प्रयोग गर्न सक्नेछन्।

दैनिक बेलुका ८ बजेपछि रिङरोड र काठमाडौँको भित्री भागमा हप अन राइड अर्थात लोकल मानिस पनि रमाइलो गर्नका लागि बस चढ्ने र पार्टी सकिएपछि झर्न मिल्ने व्यवस्थासमेत पार्टी बस नेपालले गरेको छ।

यसले गर्दा लोकल मानिसहरुसमेत यसमा आकर्षित हुने इन्चार्ज खड्काले बताए। प्रायः रिङरोड वरिपरि आफ्नो पायक पर्ने चोकमा जम्मा भई मानिसहरुले कल गरेर बस बुकिङ गर्न सकिन्छ। प्रतिव्यक्ति १ हजार रुपैयाँ लाग्ने हप अन राइडको लागि रातको ८ बजेपछि पार्टी बसले चोक–चोकमा पुगेर मागअनुसार पिक अप गर्ने र पार्टी सकिएपछि सोही ठाउँमा ल्याएर यात्रुलाई झारिदिन्छ।

यसको अझ रमाइलो कुरा त के छ भने रेस्टुराँहरु निश्चित समयसम्म मात्र खोल्ने भएकोले रेष्टुराँहरुले आफ्ना ग्राहकलाई पार्टी बसमा चढाएरसमेत मनोरञ्जन दिने गरेका छन्।

अहिले नयाँ पुस्ताहरुका लागि गुडिरहेको बसमा आफ्नो इच्छाअनुसारका गीतहरु बजाउँदै, पिउँदै, रमाउनु, समूह बनाएर मनोरन्जन लिनु पनि एउटा नयाँ र मीठो अनुभव हुनसक्छ।

कसरी बन्यो पार्टी बसको योजना?

डेनमार्क निवासी अशोक शर्माले सन् २०१७ मा पार्टी बस नेपालको परिकल्पना गरेका थिए। पार्टी बस नेपालका प्रबन्धकसमेत रहेका शर्माले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न तथा आन्तरिक र बाह्य पर्यटकहरुलाई नयाँ अनुभव दिलाउन सन् २०१७ मा यसको अवधारणा डेनमार्कमै तयार गरेका थिए।

त्यसपछि उनले नेपालमा सन् २०२० मा भिजिट नेपाल २०२० लक्षित गरी यो बस सुरु गरेका थिए। अहिले यसले विस्तारै आफ्नो व्यवसायलाई फराकिलो बनाउने योजना बनाउँदै छ।

पार्टी बस नेपालका सर्भिस इन्चार्ज खड्काका अनुसार अब लामो दूरीका लागि प्रयोग गर्न मिल्ने बसहरुसमेत आउँदैछ। ‘अबको योजना भनेको लामो दूरीका लागि चल्ने बसहरु ल्याउँदै छौँ। यस्तै छुट्टै भ्यानसमेत आउनेछ’, शर्माले भने।

अहिले पार्टी नेपालको दुई बस सञ्चालनमा छन्।

कहाँ कसरी र कसले रुचाउँदैछन् पार्टी बस?

पछिल्लो समय समूह बनाएर आफ्नो थीमअनुसारको पार्टीहरु पार्टी बसमा सञ्चालन हुने गरेको छ। विशेषतः कलंकी, ललितपुर, भक्तपुर, बुढानिलकण्ठ क्षेत्रबाट धेरै बुकिङ आउने गरेको रेस नेपालले जनाएको छ।

यसको माग बढ्दो क्रममा रहनुका साथै आफूले भनेको ठाउँबाट चढ्न पाउने र पार्टीपछि सोही ठाउँमा झर्न पाइने भएकोले पनि घरबाट समूह बनाएर बाहिर निस्केर बसमा चढेर घर नजिकै झर्नेहरुको संख्या बढ्दो छ।

पार्टी नेपाल बसमा हालसम्म हेलोइन पार्टी, न्यु एयर पार्टी, क्रिसमस पार्टी, निवन लाइट थिम पार्टीलगायतका बर्थडे पार्टी, एनिभर्सरी, ब्याचलर पार्टी, भिजा पार्टी, स्टाफ पार्टी आयोजना भएको रेस नेपालले जनाएको छ।

पछिल्लो समय पार्टी बसमा कलाकार बोलाएर लोक, पप साँझहरु हुन थालेको छ। यसको क्रेज बढेको साथै उपत्यकाबाहिर पोखरा, चितवन र बुटवलमा बढी माग रहेको रेस नेपालले जनाएको छ।

उपत्यकाबाहिर यसको माग बढेसँगै यो सेवाले पर्यटन प्रवर्द्धन तथा राजधानीलगायत देशका विभिन्न स्थानमा बाह्य तथा आन्तरिक पर्यटकका लागि मनोरञ्जनको विकल्प हुने संस्थाको विश्वास छ। उपत्यका बाहिर माग बढ्न थालेकोले पनि लामो दूरीका लागि प्रयोग हुने बस ल्याउन लागिएको रेस नेपालको भनाइ छ।

यसमा गैरआवासीय नेपाली, उद्यमी र पर्यटन उद्योगका अनुभवी व्यक्तिको लगानी रहेको छ। त्यसो त कम्पनीले पार्टी बस प्रयोग गरेबापत विभिन्न शुल्क निर्धारण गरेको छ। फोन गरेर पार्टी बस बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।

पुस १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्