
जनकपुरधाम– प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि अध्ययन गर्न समिति गठन गरिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो।
सभामुख यादवले प्रदेशसभा कार्यसञ्चालन पहिलो संशोधन नियमावली २०७५ को नियम ७३(क) को उपनियम ९ र नियम ७३ (ख) को उपनियम ९ बमोजिम प्रदेशको नाम र राजधानीको प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समिति गठन गरेका हुन्।
समितिको सभापतिमा सभामुख यादव, उपसभापतिमा उपसभामुख उपमा देव रहेका छन् भने सदस्यहरुमा उपेन्द्र प्रसाद कुशवाहा, किशोरी साह कमल, जगत प्रसाद यादव, दिलीप कुमार साह, परमेश्वर साह, विन्देश्वर प्रसाद यादव, शत्रुधन महतो, शारदा देवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्र कुमार यादव, सञ्जय कुमार यादव, सावित्री देवी साह, सुन्दर बहादुर विश्वकर्मा र सुरीता साह रहेका छन्।
समितिले प्रदेशसभामा नामाकरण र राजधानीका लागि पेश भएको प्रस्ताव अध्ययन तथा सरोकारवालाहरुसँग छलफल तथा अन्तर्क्रिया गरी प्रदेशसभामा निर्णयार्थ पेश गर्ने विषय यकिन गरी प्रदेशसभामा पेश गर्नेछन्। यसका लागि समितिलाई १५ दिनको समय दिएको छ।
समितिले आफ्नो कार्य सम्पादन गर्ने क्रममा प्रदेशसभा सदस्य तथा स्थानीय तहका पदाधिकारीहरुसँग सहयोग लिन सक्ने सभामुख यादवले जनाएका छन्।
प्रदेशको नामाकरणका लागि ‘मधेश प्रदेश’, ‘मिथिला–भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ प्रस्ताव पेश भएको छ। त्यस्तै नामका लागि जनकपुरधाम र वीरगञ्ज प्रस्ताव गरिएको छ।
सभामुख यादवले प्रदेशको नाम र राजधानीका लागि समिति गठन गरेर प्रदेशसभा बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेका छन्।