९ जनाले गरे नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार, पक्राउ पर्नेमा मुगुका सातजना

सांकेतिक तस्बिर

काठमाडौँ – (अपडेट) एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा काठमाडौँको नयाँ बसपार्क, गोंगबुबाट ८ जना पक्राउ परेका छन् ।

बलात्कार ९ जनाले आराेप छ । एकजना फरार रहेकाले खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले गएको सोमबार साँझदेखि मंगलबार मध्यरातसम्म ३४ वर्षकी महिलामाथि सामूहिक बलात्कार गरेको अभियोग छ ।

काठमाडौँका प्रहरी प्रवक्ता दिनेश मैनालीले भने, ‘पक्राउ परेका सबै युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेको देखिएको छ । उजुरी परेपछि सातजनालाई मंगलबार र एकजनालाई बुधबार बिहान पक्राउ गरिएको हो ।’

पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरी प्रवक्ता मैनालीले बताए । घटनाबारे अनुसन्धान भइरहेको बताएका प्रवक्ता मैनालीले भने, ‘३४ वर्षकी महिला सुर्खेतकी हुन् भन्ने खुलेको छ । उनका श्रीमान भारतमा रहेको खुल्न आएको छ ।’

पक्राउ पर्नेमा दुईजना २३ वर्षका, अरु १९, २१, २२, २४, २५ र ४३ वर्षका रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने मुगुका सातजना छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर ६, १०, ११ र १२ का हुन् । यस्तै अर्का एकजना फरार रहेको प्रहरीले जनाएको छ ।

पुस १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्