कोसी अस्पतालले अक्सिजन उत्पादन गर्ने

मोरङ – विराटनगरस्थित कोसी अस्पतालले विभिन्न तीनवटा प्लान्टबाट अक्सिजन उत्पादन गर्ने भएको छ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार अस्पतालमा दुईवटा अक्सिजन उत्पादन गर्ने क्षमताका प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा करिब १ करोड ७ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट भने सञ्चालन भइरहेको छ। जसले ९० देखि १ सय १० सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको मेसु दासले जानकारी दिए।

त्यसैगरी, सूची फाउन्डेसनले नेपाल मेडिकल एसोसिएसनको समन्वयमा १ सय ९० सिलिन्डर अक्सिजन उत्पादन हुने प्लानको जडान कार्य अन्तिम चरणमा पुगेको उनले बताए।

मेसु डा. दासका अनुसार अक्सिजन पूर्तिका लागि पछिल्लो समय २० हजार लिटर तरल अक्सिजन (लिक्विड)को ट्यांकसमेत जडान गरिएको छ। स्वास्थ्य मन्त्रालयबाट प्राप्त तरल अक्सिजनबाट २ देखि २ हजार २ सय वटा सिलिन्डर उत्पादन हुनेछ।

अस्पतालमा दैनिक ४८ लिटरको १ सय ५० वटा सिलिन्डर अक्सिजन खपत हुने गर्छ। अस्पतालमा १२ शय्याको आईसीयू, शल्यक्रिया, जनरल, एनआईसीयू वार्डमा अक्सिजन खपत हुने गरेको अस्पताल प्रशासनले जनाएको छ।

 

पुस १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्