म्याग्दीमा वैकल्पिक सडक सञ्चालन

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक सञ्चालन भएको छ।

जोखिमयुक्त बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरि गाउँपालिकाले मंगलबारदेखि दरबाङ–धारापानी–ताकम हुँदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि सवारी आवतजावत बन्द गरेका छन्।

सडक निर्माणलाई सहज बनाउन बादिकामा बन्द गरिए पनि आवतजावतलाई सुरक्षित र नियमत बनाउन दरबाङ–खारा–भारबाङ–ताकम–मुना वैकल्पिक सडक सञ्चालन गरिएको गाउँपालिकाका इन्जिनियर सोबिन जिसीले जानकारी दिए।

उनका अनुसार गाउँपालिकाका र निर्माण कम्पनीले भरबाङस्थित म्याग्दी खोलामा सात वटा ह्युम पाइप राखेर सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाएका छन्। झारवाङ घाटमा पूर्वाधार विकास कार्यालयले पक्की पुल पनि निर्माण गरिरहेको छ।

०७५ सालमा बाटो खोलिए पनि दरबाङ–बिम–ताकम–मुना सडकमापर्ने म्याग्दी नदीमा मोटरेबल पुल नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका थिएनन्।

बर्खाअघि नै म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सकेर सडक सञ्चालन गर्ने गाउँपालिकाको योजना छ। पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ०७६ चैत ४ गते १४ करोड ३८ लाख ६७ हजार १ सय ७६ रुपैयाँमा ठेक्का सम्झौता गरेको धुलिखेल–ब्राइट–कुवर जेभीले बादिकाको उकालोमा वैकल्पिक सडक निर्माण गरिरहेको छ।

यसअघि मार्ग खोल्न बनाइएको सडक धेरै उकालो र ग्रेड नमिलेकाले जोखिमयुक्त भएको हुँदा दुई वटा घुम्ती थपेर करिब ४ सय मिटर नयाँ मार्ग निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए।

चैत ४ गतेसम्म ठेक्का अवधि भएको आयोजनाअन्तर्गत सडक फराकिलो बनाउने, ग्रेड तथा घुम्ती सुधार र पर्खाल निर्माण भइरहेको छ। दरवाङको म्याग्दी खोला मोटरेबल पुलदेखि दङखोलासम्मको खण्डमा विस्तार र पर्खालको काम सकेर नाली बनाइरहेको छ।

दरबाङदेखि धारापानी गाउँसम्मको सात किमि सडक स्तरोन्नति हुन लागेको हो। दरवाङ–दाङखोला–ताकम–मुना–ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले (क) वर्गमा राखेको छ। सबै स्थानीय तहका केन्द्र जोड्ने सडक स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणाअनुसार यो आयोजना सञ्चालन भएको हो।

पहिलो चरणमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको धारापानीसम्मको सडक स्तरोन्नतिको हालसम्मको प्रगति ३६ प्रतिशत छ। स्तरोन्नति गरेर सडकलाई ८ मिटर फराकिलो बनाइने भएको छ। ग्राबेल गरिने सडकको ग्रेड र घुम्ती मिलाउनुका साथै ग्याबिन, मेसिनरी पर्खाल निर्माण र केही ठाउँमा ढलान गर्ने लक्ष्य छ।

पुस १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्