जहाँ हिन्दू र बौद्ध धर्मावलम्बीले पितृकाे आत्माशान्तिकाे कामना गर्छन्

काठमाडौँ – दिवंगत व्यक्तिको नाममा श्राद्ध गर्न रसुवा र नुवाकोटको सीमा बेत्रावतीमा आइतबार बिहानैदेखि मानिसकोे घुइँचो लागेको छ। पौषे औँशीका दिन उत्तरगयामा दिवंगत पितृहरूको आत्माको शान्तिको कामनाका लागि आफन्तले जौको पिण्ड दिएर श्राद्ध गरेका छन्।

रसुवा र नुवाकोटको सिमाना उत्तरगया त्रिशूल गंगा, रुद्र गंगा र बेत्र गंगा तीनवटा नदीको संगम छ, जहाँ हिन्दू र बौद्ध धर्मावलम्बीले आजको दिन दिवंगत आफन्तलाई सम्झेर श्रद्धालु आउने गरेको उत्तरगया बचाउ अभियानका संयोजक ओम प्रकाश घिमिरेले जानकारी दिए।

उत्तरगया धाममा पिण्ड तर्पण गर्नाले दिवंगत व्यक्तिको आत्माले मोक्षगति प्राप्त गर्ने जनविश्वास छ।

भक्तपुर ब्यासीकी पूर्णकेसरी कोजु परिवारसँग श्राद्ध गर्न बेत्रावती पुगिन्। पहिलो पटक उत्तरगयामा पुगेकी उनले भनिन्, ‘दाइहरूबाट यो ठाउँबारे सुनेकी थिएँ, यहाँ आइसकेपछि केही फरक अनुभूति भएको छ।’

उनीसँगै गएका पण्डित नरेन्द्रराज शर्मा उत्तरगयामा श्राद्ध गर्न चारपटक पुगेका छन्। उनी भन्छन्, ‘नदीहरूको मिलन भएकाले यो ठाउँ श्राद्ध गर्न उपयुक्त छ, त्यसमाथि पनि उत्तरगया त झन् पवित्र तीर्थस्थल हो।’ यो ठाउँमा श्राद्ध गर्दा मृत आत्मा तृप्त हुने उनले बुझेका छन्।

उत्तरगयामा देशका विभिन्न ठाउँबाट पितृकाे आत्मा शान्तिका लागि आउने गरेका छन्।

धार्मिक आस्था

अमृत पाउने इच्छाले देवता र दानव मिलेर समुद्र मन्थन गर्दा सबैभन्दा पहिला सर्वाधिक विषालु कालकुट विष निस्कियो। उक्त विषले संसार ध्वस्त पार्न थाल्यो।समाधानको केही उपाय नदेखेपछि देव–दानवले शिव भगवान्लाई बिन्ती गरे। शिवले जगत् कल्याणका लागि कालकुट विष पिए।

कालकुट विष पिएर आत्तिएर हिमालयतर्फ लागेका शिव वेत्रावती हुँदै उत्तर लागेको विश्वास गरिन्छ।

विषको राप शान्त पार्न भौंतारिएर हिँडेका महादेवले त्रिशूल प्रहार गर्दा उत्पन्न भएको त्रिशूली गंगा र बेतको लौरीले खोप्दा उत्पत्ति भएको बेत्रगंगाको संगमस्थल भएकाले पवित्र भूमिको रूपमा उत्तरगया चिनिन्छ।

परापूर्वकालदेखि नै नेपालसहित भारतबाट समेत भक्तजन वेत्रावतीमा श्राद्ध गर्न आउने गरेको घिमिरेले बताए।

चार धाममध्ये नेपालमा रहेको मुख्य धाम उत्तरगयामा अघिल्ला वर्षभन्दा यस वर्ष श्राद्धालुको संख्या बढेको उत्तरगया बचाउ अभियान्तासमेत रहेका पत्रकार लक्ष्मण डंगोलले बताए।

संयोजक घिमिरेका अनुसार अघिल्लो वर्ष कोरोनाका कारण श्रद्धालु आएका थिएनन् तर यस वर्ष उक्त संख्या बढेको छ। उत्तरगया नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ।

उत्तरगया मासिनेमा स्थानीयको चिन्ता

रसुवा र नुवाकोट छुट्याउने विन्दु हो बेत्रावती। रसुवा सदरमुकाम धुन्चेको तलबाट बग्दै आएको त्रिशूलीमा बेत्रा गंगा मिसिन्छ।

विद्युत् विकास विभागले ८ वर्षअघि उत्तरगया धामभन्दा करिब २ किमि तल ‘ट्रेलरेस’ रहने गरी त्रिशूलीबाट विद्युत् निकाल्ने निर्णय गरेको थियो। यसका लागि १० प्रतिशत पानी छाड्ने बताइएको थियो।

तर, त्यो स्थानीय बासिन्दालाई मान्य भएन। विभागको त्यो निर्णयप्रति स्थानीय बासिन्दाले उत्तरगया बचाउ अभियान संघर्ष समिति गठन गरी आवाज उठाए।
‘बेत्रावतीभन्दा केही माथि ड्याम राखेर २ किमि तल पानी झार्दा उत्तरगयामा पानी सुन्ने हुँदा हामीले त्यो निर्णय मानेनाँै’, संयोजक घिमिरेले भने।

अधिकारीका अनुसार उत्तरगया धाममा पर्ने असरबारे जानकार हुँदाहुँदै पनि पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिद्वारा प्रस्तावित मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए)समेत गरिसकेको थियो।

‘हाम्रो आफ्नो मृत्यु संस्कारसँग जोडिएका धरोहरमाथि ठेस पुग्ने र जुन कुरा बौद्ध तथा सनातन धर्मावलम्बीलाई मान्य नहुने स्थानीयको निचोड थियो।
जेठमा संगमभन्दा करिब सय मिटर माथि पानी खसाल्ने गरी त्रिशूलीमा हाइड्रोपावर बनाउने निर्णय गरेको पत्र स्थानीयले पाइसकेका छन्। जसकारण उत्तरगयामा पानीको मात्रा कम हुने छैन।

घिमिरे भन्छन्, ‘हामीले आफ्नै नाभी चिन्न सकेका छैनौँ।’

इतिहास

नेपाल तिब्बतबीच १८४९ सालमा भएको ऐतिहासिक बेत्रावती सन्धि पनि यहीँ भएको इतिहासकार बताउँछन्।

सिगात्सेसम्म पुगेको गोर्खाली सेना चीनका छिङ महाराजाको ठूलो संख्यामा आएका सेनासँग पछि हट्न बाध्य भयो।पछि हट्दै आएको गोर्खाली सेना र चिनियाँ सेनाको लडाइँ नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा भयो। त्यसमा दुवैले ठूलो क्षति व्यहोरे। नेपालको लडाइँ तिब्बतसँग भनिए पनि खासमा लडाइँ चीनसँग भएको थियो। त्यही लडाइँको फलस्वरुप नेपाल–तिब्बत–चीनबीच सन्धि भएको थियो, सन् १७९२ अक्टोबर ५ मा।

बेत्रावतीका स्थानीयको मान्यता छ, त्यही सन्धिलाई उत्सवको रूपमा मनाउन गोरु जुधाउने परम्परा सुरु भएको हाे।

छेउकै उत्तरगयामा हरेक जातजातिले पितृकार्य गर्न सक्ने विशेषता रहेको बेत्रावतीमा पुषे औँशीमा श्राद्ध, गाईजात्रामा लाखे नाच, ठूलो एकादशीमा फूलको डोली ल्याउने र भजनकीर्तन गरी नदी तार्ने, माघेसंक्रान्तिमा गोरुजुधाइको प्रदर्शनी, फागुमा सामूहिक होली, रामनवमी र कृष्णजन्माष्टमीमा विशेष मेला लाग्छ।
योगी नरहरिनाथले ०४९ सालमा कोटीहोम गरेपछि भने बेत्रावतीको धार्मिक महत्व बढेको स्थानीय बताउँछन्।

तस्बिर: लक्ष्मण डंगाेल

पुस १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्