नेपालीमा संस्कृत शब्दहरूको उच्चारण र लेखन

संस्कृतका विशेषता

हजारौँ वर्षका मानव सभ्यताका विकासका उपलब्धिहरू संस्कृत भाषामा निबद्ध भएर सुरक्षित रहेका छन् । धार्मिक, दार्शनिक, तार्किक, सांस्कृतिक, सामाजिक, कौटुम्बिक, राजनीतिक, वैज्ञानिक, प्राविधिक, भाषिक इत्यादि अगणित उपलब्धिहरूको निधिका रूपमा यो भाषा रहेको छ ।

एउटा धातुरूपी बीजबाट अनेक प्रत्यय जोडेर लाखौँ शब्दको निर्माण गर्न सक्ने शक्तिले भरिपूर्ण भएको साह्रै विशिष्ट भाषा संस्कृत हो । यो भाषा भारतवर्षका धेरै आधुनिक भाषाहरूको मूल स्रोत पनि हो । त्यसैले उक्त भाषाहरूमा विभिन्न समयमा संस्कृत भाषाबाट शब्द लिने गरिँदै आएको छ र विभिन्न कालमा लिइएका ती शब्दले विविध प्रवृत्ति देखाएको पनि पाइन्छ । साथै संस्कृत भाषाप्रति भारतवर्षका निवासीहरूको रागात्मक भावना पनि गहिरो रूपमा जोडिएको छ ।

प्राकृत भाषा र प्राचीन नेपाली भाषा

नेपाली भाषाका विकासका क्रममा त्यसमा मुख्य रूपमा संस्कृत र प्राकृत मूल भएका शब्दहरू मात्र रहेको र थोरै मात्र देशज शब्दहरू रहेको बुझिन्छ । सामान्य बोलीचालीमा त्यस कालमा आजभोलि “तत्सम” भनिने संस्कृतमूलक शब्दहरूको प्रयोग अत्यन्त विरल भएको र “तद्भव” भनिने शब्दहरूकै बाहुल्य रहेको पाइन्छ । शास्त्रीय विषयका लेखहरूमा मात्र त्यस समयमा संस्कृतबाट सोझै लिइएका शब्दहरूको केही मात्रामा प्रयोग भएको देखिन्छ । त्यसरी कताकति संस्कृत शब्दहरूको प्रयोग गर्दा नेपालीमा पनि कतै संस्कृतका उच्चार्य र लेख्य रूपअनुसार नै लेख्ने र कतै तात्कालिक नेपाली भाषाका उच्चारणअनुसार लेख्ने गरिएको पाइन्छ । यसबाट त्यस समयका नेपाली भाषामा वा लेखकहरूमा शौरसेनी–मागधी–प्राकृतहरूमा वा तीपछिका अपभ्रंश भाषाहरूमा र तिनका लेखकहरूमाजस्तो जीवन्तपना नभएको देखिन्छ । भास, कालिदास आदि सबै ठुला कविहरूले आआफ्ना नाटकमा प्राकृतभाषा लेख्दा तीती प्राकृत भाषाकै स्वभावअनुसार अर्थात् तद्भाषाभाषीले गर्नेगरेका उच्चारणअनुसार लेखेर गएका छन् । उनीहरूले प्राकृत भाषामा “संस्कृत तत्सम” भनेर प्राकृत भाषाको स्वभावको विरुद्ध प्रयोग गरेको देखिँदैन ।

तुलसीदासले रामचरितमानस लेख्दा पनि मङ्गलश्लोक संस्कृत भाषामै लेखेको र अरू भाग भने आफ्ना समयका बोलीचालीका जीवन्त अपभ्रंश भाषामा लेखेको देखिन्छ । त्यसमा उनले संस्कृतबाट लिइएका तत्सम शब्दमा पनि संस्कृतअनुसारका ह्रस्व, दीर्घ, श, स, ष, ण, न, ब, व इत्यादिको हैन, उनका समयमा ती शब्दको लोकमा गरिने उच्चारणको अनुरूप नै लेखन गरेको देखिन्छ । जस्तै— बिरह, रघुबर, रघुबीर, प्रनाम, रिषि, नारि, प्रेमबस इत्यादि । यो कुरा पछिका सम्पादकहरूले नबिगारेको तुलसीदासको मौलिक लेखनको अवलोकन गरेमा स्पष्ट हुन्छ ।

नेपाली भाषाका इतिहासमा भने लेखक, कवि तथा राजकीय लिखत लेख्ने कर्मचारीहरू हाम्रो भाषाव्याकरण–चिन्तन–परम्परामा परिपक्व वा जागरूक नभएका, वर्णहरूका उच्चारणअनुसारका लेखनमा अभ्यस्त नभएका र व्यवस्थित लेखनमा सचेत पनि नभएका देखिन्छन् । त्यसैले उनीहरूको लेखनलाई पूर्ण रूपमा आधार बनाएर तिनैतिनैका कालमा बोलीचालीमा समेत भएको नेपाली भाषाको वास्तविक (वर्णनात्मक) व्याकरण बनाउन चाहिँ सकिँदैन ।

नेपालीलेख्य भाषाका व्याकरणको आधार र स्वरूप

उपर्युक्त प्रकारको लेखनपरम्पराको पृष्ठभूमि भएका समयमा, उछिनपाछिनको अस्वस्थ प्रतिस्पर्धाका वातावरणमा, सत्यनिष्ठाका न्यूनता भएका मानसिकतामा र अध्ययनको पनि न्यूनता नै भएका कालमा नेपाली भाषाको व्याकरण बनाइएको थियो । अङ्ग्रेजी व्याकरणको र पाश्चात्त्य ढङ्गको शिक्षा पाएका तथा भारतवर्षीय भाषाव्याकरण–चिन्तन–परम्पराको गम्भीर ज्ञान नभएका व्यक्तिहरूले भारतमा चलाउन बनाएका गुजराती, मराठी, हिन्दी, बङ्गाली इत्यादि भाषाका व्याकरणका देखासिकीमा नेपाली भाषाको व्याकरण बनाइएको थियो र त्यसैलाई शासकीय बलका आधारमा लागू गर्ने काम गरिएको थियो । फलस्वरूप चल्तीको नेपाली व्याकरण यास्क, पाणिनि, कात्यायन, पतञ्जलि, वररुचि, भर्तृहरि इत्यादिहरूले हजारौँ वर्षका चिन्तनले परिष्कृत गरेको भारतवर्षीय भाषाव्याकरण–चिन्तन–परम्पराको प्रतिकूल, अपरिपक्व र अवैज्ञानिक पनि बन्न पुगेको छ । नेपाली भाषाको मूल क्षेत्र सुर्खेतदेखि इलामसम्मका मातृभाषा नेपाली भएकाहरूको स्वाभाविक उच्चारण र प्रयोगलाई आधार मानेर बनाइने व्याकरण नै वास्तविक नेपाली व्याकरण हो । चल्तीको नेपाली व्याकरण वास्तविक व्याकरणका रूपमा नरहेर मुख्यतया लेखननियमका रूपमा मात्रकरबलले मान्य गराइएको देखिन्छ । तर कथ्य र लेख्य भाषा भनेर समेत बनाइएका निराधार नियमहरू बहुसङ्ख्यकले अनुसरण गर्नै नसकिने खालका छन् भन्ने कुरा धेरैलाई विदितै छ । तथापि शासकीय नियमले गर्दा त्यसको व्यापक प्रचार भएको छ र त्यो व्याकरण वास्तविक वैयाकरणका दृष्टिमा अमान्य हो भनेर जान्ने नै मानिसहरू पनि वेलाबखत लेखनमा त्यसको अनुसरण गर्न बाध्यजस्तै पनि भएका छन् ।

तत्सम, तद्भव र आगन्तुक शब्दहरू

माथि भनिएको प्रचलित नेपाली व्याकरणले संस्कृतबाट नेपालीमा आएका शब्दलाई तत्सम र तद्भव गरी दुई वर्गमा विभक्त गरेर राखेको छ । २०१३ संवत्‌बाट प्रारम्भ भएको झर्रोवादको र २०२४ संवत्‌बाट प्रारम्भ भएको जिम्दो–नेपालि–भासावादको प्रखर आलोचनाबाट प्रभावित भएर शासकद्वारा नियन्त्रित निकायका निर्णायकहरू संस्कृतबाट आएका तद्भव शब्दहरूको र अन्य भाषाबाट आएका “आगन्तुक तत्सम” भनिने शब्दहरूको चाहिँ नेपाली भाषाभाषीका उच्चारणको पूर्ण अनुकूल नभए पनि धेरैजसो अनुकूल रूपमा लेखन गर्ने कुरालाई मान्यता दिन सहमत भएका देखिन्छन् । तथापि शहीद, शाह इत्यादि कतिपय शब्दका विषयमा केही भाषाचिन्तक व्यक्तिहरूको अभाषाशास्त्रीय आग्रह अझै पनि क्रियाशील रहिरहेको देखिन्छ । मूल रूपमा नै अभाषाशास्त्रीय आधारमा चलेका व्याकरणका प्रसङ्गमा गरिएका त्यस प्रकारका कुरालाई जनसाधारणले अनौठो मान्ने कुरा पनि आउँदैन ।

नेपाली भाषाका इतिहासमा भने लेखक, कवि तथा राजकीय लिखत लेख्ने कर्मचारीहरू हाम्रो भाषाव्याकरण–चिन्तन–परम्परामा परिपक्व वा जागरूक नभएका, वर्णहरूका उच्चारणअनुसारका लेखनमा अभ्यस्त नभएका र व्यवस्थित लेखनमा सचेत पनि नभएका देखिन्छन् । त्यसैले उनीहरूको लेखनलाई पूर्ण रूपमा आधार बनाएर तिनैतिनैका कालमा बोलीचालीमा समेत भएको नेपाली भाषाको वास्तविक (वर्णनात्मक) व्याकरण बनाउन चाहिँ सकिँदैन ।

संस्कृतबाट नेपालीमा आएका तत्सम भनिने शब्दहरूले नेपाली भाषाको लेखनलाई अहिले पनि सारै जटिल बनाइरहेका छन् । वास्तवमा नेपाली भाषामा यथार्थ रूपमा नै तत्सम भन्न सकिने संस्कृत शब्द सारै नगण्य छन्, किनभने संस्कृतका दीर्घ अवर्ण, ऋकार, लृकार, एकार, ओकार, अनुस्वार, विसर्ग, दन्तोष्ठ्य वकार, शकार, षकार यी वर्णहरूको र क्ष ज्ञ यी दुई संयुक्त वर्णहरूको यथार्थ उच्चारणगत रूप नेपाली बोलीचालीमा प्रायः अनुपस्थित छ । त्यसैले मूल रूपमा ती वर्ण भएका ऋषि, सिंह, दुःख, वेद, श्रोता, विशेष, भाषा, कक्षा, ज्ञान इत्यादि संस्कृत शब्दहरू नेपालीमा उच्चारणका दृष्टिले त क्रमशः “रिसि वा रिखि, सिम्ह, दुक्ख, बेद, स्रोता, बिसेस, भासा, कच्छ्या, ग्याँन” इत्यादि तद्भव रूपमा मात्र आउन सक्छन्, तत्सम रूपमा आउन सक्तैनन् । यो कुरा राम्ररी बुझ्न संस्कृतका ती वर्णहरूको मूल उच्चारणगत स्वरूपको ज्ञान आवश्यक हुन्छ । तिनको मूल स्वरूपको विवेचना नेपाली वर्णोच्चारणशिक्षा– (शिवराज आचार्य, साझा प्रकाशन, २०३१) का परिशिष्टहरूमा प्रस्तुत गरिएको पाइन्छ । तथापि त्यस ग्रन्थको प्रचार भए तापनि चर्चा हुन नसकेकाले संस्कृत–वर्णमालाका विषयमा नेपालीहरूमा पढेलेखेकै र गनिएकै व्यक्तिहरूमा समेत अझै धेरै भ्रम र गलत धारणा व्याप्त भइरहेको पाइन्छ । संस्कृतका ठूला विद्वान्‌मा गनिएका व्यक्तिहरूमै पनि धेरैजसोमा वास्तविक संस्कृत वर्णमालाको ज्ञान अधुरो रूपमा मात्र रहेको देखिन्छ । त्यसैले उनीहरू पनि माथि भनिएका वर्ण भएका संस्कृत शब्दहरूको संस्कृत भाषाका दृष्टिले शुद्ध रूपमा उच्चारण गर्न असमर्थ नै देखिन्छन् । यस कुराको वस्तुस्थिति बुझ्न पनि उक्त ग्रन्थका परिशिष्टहरूको अध्ययन उपयोगी हुन सक्छ। यस स्थितिमा नेपाली भाषामा आएका संस्कृत तत्सम भनिने शब्दहरूको विवेचनाको विषय नै जटिल हुन पुगेको देखिन्छ । तथापि भाषाशास्त्रीय वा व्याकरणिक कारणले हैन, अरू नै कारणले हिन्दीलगायतका भाषामा झैँ नै नेपाली भाषामा पनि संस्कृत तत्सम शब्द भनी संस्कृतबाट लिइएका शब्दहरूलाई नेपाली उच्चारणशैलीको निरपेक्ष रूपमा लेख्ने चलन चलाइएको छ । यसले हाम्रो धर्म र शास्त्रको भाषा संस्कृतको उच्चारणको शुद्धतामा समेत अत्यन्त प्रतिकूल प्रभाव पारेको छ र गाढ भ्रमलाई प्रश्रय दिएको छ । नेपालीमा लक्ष्मी लेख्ने लच्छ्मि भन्ने, ज्ञान लेख्ने ग्याँन् भन्ने बानीले गर्दा संस्कृतमा लक्ष्मीलाई लक्ष्मी र ज्ञानलाई ज्ञान उच्चारण गर्ने हो भन्ने बुझाउन अत्यन्तै कठिन हुने स्थिति उत्पन्न भएको छ । संस्कृतमा पनि नेपालीको जस्तै उच्चारण गर्दा संस्कृतमा शुद्ध हुँदैन । नेपालीमा लच्छ्मि, ग्याँन आदि र संस्कृतमा लक्ष्मी वा लक्ष्मी, ज्ञान वा ज्ञान लेखेमा नेपाली उच्चारण र संस्कृत उच्चारणमा फरक बुझाउन सजिलो हुन्छ । यसो नगर्नाले हाम्रो लेखनप्रणालीको वैज्ञानिकतामा पनि ठूलो आँच पुगेको छ । साथै संस्कृत व्याकरण नजानीकन शुद्ध नेपाली लेख्न नसकिने पनि बनाएको छ । तसर्थ यस चलनमा परिवर्तन गरेर त्यस्ता तत्सम भनिने संस्कृतमूलक शब्दलाई पनि नेपाली उच्चारणकै अनुरूप गरेर लेख्नमा भारतवर्षीय महान् भाषाव्याकरण–चिन्तन–परम्पराको राम्रो ज्ञान भएको विवेकशील भाषाशास्त्री र वैयाकरणलाई केही आपत्ति नभएको पनि पाइन्छ (द्रष्टव्य— जिम्दो नेपालि भासा, पैलो खण्ड २०३०, दोस्स्रो खण्ड २०३७) । तथापि गतानुगतिक प्रवृत्ति भएको लोकमा त्यस्तो व्यवहार अस्वीकार्य रहेको छ । त्यसैले विभिन्न जात, जाति र समुदायका तथा विभिन्न भाषाभाषी र विभिन्न धार्मिक सम्प्रदायका नेपालीहरूले प्रयोग गर्नुपर्ने सम्पर्क भाषा तथा प्राशासनिक भाषाका रूपमा पनि रहेको नेपाली भाषाको लेखन अनावश्यक रूपमा सारै जटिल र दुष्प्रयोज्य भइरहेको देखिन्छ । विशेष संस्कृतशिक्षा नपाएका सञ्चारकर्मी नेपालीहरूलाई प्रचलित लिखित नेपाली भाषाको मौखिक प्रयोग पनि तत्सम भनिने संस्कृत शब्दहरूले गर्दा पनि प्रायः दुष्कर भैरहेको अनुभव हुन्छ ।

नेपालका कतिपय स्थानीय भाषाका नयाँ बनाइएका व्याकरणमा भने जिम्दो–नेपालि–भासा–सिद्धान्तका प्रभावले कुरा बुझेर संस्कृत शब्दलाई पनि तीती भाषाका उच्चारणअनुसार नै लेख्ने नियम बनाइएको पाइन्छ ।

लेखनमा र उच्चारणमा दुबिधा

नेपाली भाषामा तत्सम भनिने संस्कृत शब्दहरूले गर्दा र अन्य कारणहरूले गर्दा पनि बोल्दा अर्कै वर्णसमुदाय बोल्ने र लेख्दा अर्कै वर्णसमुदाय लेख्ने नियम भएकाले साधारण भाषाप्रयोक्ताहरू मात्र हैन, मानिएका वैयाकरणहरू र गनिएका संस्कृतका विद्वान्हरू पनि नेपाली भाषाका लेखनमा चिप्लिएको पाइएको छ । भाषाको प्रयोगको विवेचना गर्न लेखै लेख्ने व्यक्तिहरू पनि अलमलिएको देखिएको छ । कसैकसैले संस्कृतको पञ्च नेपाली उच्चारणमा पन्च हुन गएको र संस्कृतको दण्ड नेपाली उच्चारणमा दन्ड हुन गएको हो भन्ने ठानेको पनि देखिन्छ । यस्तो स्थिति वर्णमालाको राम्रो ज्ञान नभएर आएको हो । वास्तवमा यहाँ नेपालीभाषा बोल्नेले पनि पञ्च र दण्ड नै उच्चारण गर्छन् । स्वाभाविक रूपमा च छ ज झ ञ भन्दा अगाडि ञ र ट ठ ड ढ ण भन्दा अगाडि ण को उच्चारण हुन्छ । त्यस्तै सन्यास सन्यस्त शब्दलाई शुद्ध मान्ने र त्यहाँ उच्चारणमा एकएकओटा मात्र नकार भएको ठान्ने गरेको पनि पाइन्छ । कसैले नेपाली भाषाका अर्धस्वर य र ल व भन्दा अगाडि आउने वर्णहरू उच्चारणमा दुईओटा सुनिन्छन्, तर ती दुईओटा अर्धवर्णहरू नभएर एउटा मात्र हुन् भनेर वस्तुस्थितिको अत्यन्त प्रतिकूल कुरा गरेको पनि देखिन्छ । वस्तुतः संस्कृतका दृष्टिले संन्यास वा सन्न्यास संन्यस्त वा सन्न्यस्त इत्यादि नै उच्चारणमा र लेखनमा पनि शुद्ध रूप हुन्, सन्यास सन्यस्त इत्यादि शुद्ध हैनन् । त्यहाँ नकारादि दुईओटा नै उच्चरित भएकाले दुईवटा सुनिएका र लेखिएका हुन् । यस्ता विषयमा नेपालीका विशिष्ट विद्वान्मा गनिएका व्यक्तिहरूसमेत अलमलिएका छन् । “पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा” भन्ने अनेक संस्करणमा मुद्रित भएको ग्रन्थको नामको पाश्चात्य शब्द नै संस्कृत तत्सम शब्दका दृष्टिले सर्वथा अशुद्ध हो । त्यसको शुद्ध रूप “पाश्चात्त्य” हो । त्यसमा प्रमाण पाणिनिको “दक्षिणा–पश्चात्–पुरसस् त्यक्”  भन्ने सूत्र हो (४।२।९८) । पाणिनिका व्याकरणमा त्यहाँको एउटा तकारको लोप हुन्छ भन्ने सूत्र छैन । नेपालीको स्वाभाविक उच्चारणमा पनि उक्त शब्दमा दुईओटा नै तकार रहेका छन् ।

उपसंहार

यस्ता विषयमा आज पनि समाजमा पर्याप्त विचारहरू प्रवाहित हुन र खुला छलफल हुन सकिराखेको देखिँदैन । सार्वजनिक सञ्चारमाध्यमले पनि प्रायः एकपक्षीय स्थापित विचारलाई मात्र प्रश्रय दिने गरेको देखिन्छ । खुला छलफलबाट भने संस्कृतसमेतका जुनसुकै भाषाबाट नेपालीमा आएका शब्दको पनि नेपाली उच्चारणअनुसार लेखन गर्ने गर्नु नै युक्तियुक्त हुन्छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ । वर्तमान कालमा समाजमा यस्ता आलोचनात्मक विचारको प्रवाहलाई पनि अवसर मिल्दै जानेछ भन्ने आशा गर्न उचित मानिएला ।

पुस १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्