सामूहिक बलात्कारको मनोविज्ञान

छि! एकजना महिलामाथि कसरी खनिन सक्छन् नौ जना पुरुष?

बिहान सधैँको हतार, समयमा नै क्लासमा पुग्नुपर्ने। अलि हतारमा चाँडचाँडो नै हिँडिरहेकी थिएँ। मेरो पछि एक हुल केटीहरु रिस र आक्रोशमा कुरा गरिरहेका थिए। काटिदिनु पर्ने, मारिदिनु पर्ने, हुन त हाम्रो सरकार नै खत्तम, फाँसी चाहिँ हुनुपर्ने हो के खासमा! उनीहरुलाई पनि यस्तै गर्नुपर्ने अनि बल्ल थाहा हुन्थ्यो!’

आवेगले होला केही बहिनीहरुले त कल्पनासम्म गर्न नसकिने बदलाको कुरा गर्दै थिए जुन मैले यहाँ उल्लेख गर्न चाहिन। एकाबिहानै के कुराले यस्तो आक्रोश पैदा भयो होला?

म तर्सिएँ, सँगसँगै अचम्ममा परेँ। फटाफट अगाडि बढिरहेका मेरा पाइलाहरु अचानक अडिन खोजे। उनीहरुका कुरा थाहा पाउन मन लाग्यो। फटाफट लम्किरहेका मेरा पाइला अचानक सुस्त भए- एकैछिनमा कुरा बुझेँ, नौजना पुरुषले एक महिलालाई बलात्कार गरेका रहेछन्। मेरा खुट्टाहरु जमिनमा भासिएझैँ भयो। शिर काम्यो। शरीरका रौँ ठाडठाडा भए। चिसो पुसमा मेरो शरिर पसिनै पसिना भयो। दिमाग त कहाँ पुग्यो, थाहा नै पाइन।

फेरि मेरो ध्यान उनीहरुले नै ताने- महिला भएर जन्मनु त बेकार नै होजस्तो लाग्छ। पढेरमात्र के गर्नु? स्वतन्त्रताको अभ्यास कुन चराको नाम होजस्तो लाग्छ हरेक कुरामा नियन्त्रित हुनुपर्छ सुरक्षा र मायाको नाममा।

उनीहरुका कुराले मेरो शरिर शिथिल हुँदै थियो। मभित्र पनि असुरक्षाको ज्वारभाटा दन्किन थाल्यो। जसोतसो क्लासमा पुगेँ। गलेको शरीर, मलिन अनुहार, आँखामा प्रश्नका भावहरु- मेरा शिक्षकले पढ्न भ्याउनुभएछ।  के भयो भनेर सोध्नुभयो। म नाजवाफ भएँ। मेरो शरीर कामिरहेको थियो- बोल्न पनि राम्रोसँग सकिन। म मनोविज्ञानको विद्यार्थी, मेरो शिक्षकले मनोवैज्ञानिक अड्कल लगाउन सक्नुभयो क्यार! उहाँले नै पुन: सोध्नुभयो- तिमीले भर्खर थाहा पायौ त्यो बसपार्कमा भएको बलात्कारको घटना?

क्लासमा यही बिषयमा कुरा हुन थाल्यो। कारणहरुका बारेमा अड्कल हुन थाल्यो। हामी महिला क्याम्पस (पद्मकन्या) का छात्राहरु यो समस्याको मनोवैज्ञानिक पक्षहरु केलाउन थाल्यौँ।

मेरो मस्तिष्कले ती महिलालाई बलात्कृत महिला मात्र देखेन, फिल्म हेरेझैँ कहिले दिदी, कहिले बहिनी, कहिले आमा, कहिले सानीआमा, कहिले काकी त, कहिले आफैँ पनि देखेँ। सबैका नाम र मुहार एकएक गरी मेरो मानसपटलमा आयो।

सायद म भावनात्मक रुपमा अत्यन्तै कमजोर भएछु। नहुँ पनि कसरी, विश्वास कसलाई गर्ने? कसलाई नगर्ने? सुरक्षाको महसुस कहाँ गर्ने? कहाँ नगर्ने?

ती महिला एक सार्वजनिक स्थलमा बलात्कृत भएकी थिइन्। बलात्कारीहरुले ठाँउ सारिसारी पटकपटक बलात्कार गर्दा उनको मनोदशा कस्तो भएको होला? उनका शारिरिक र भावनात्मक पीडा सम्झँदा मेरो जिउ जिरिङ्ग भयो। म कल्पनासम्म गर्न चाहँदिन- उनी कुन अवस्थाबाट गुज्रिन् भनेर। के यो समस्या महिलाको मात्र हो?

मेरो दिमागमा अनेकौँ प्रश्नहरुका भेलहरु नै आइरहेका थिए। मलाई यो घटनाका बिषयमा लेखिएका लेखहरु पढ्न मन लागेर आयो। हत्तपत्त कोठामा झोला बिसाएर मोबाइल हातमा लिएँ अनि घटनाका बिषयमा खोजी गर्न थालेँ। पढ्दै जाँदा मैले यो घटनाका दुबै पक्षलाई विष्लेषण गर्न थालेँ। सायद म मनोविज्ञान पढ्दै गरेकी विद्यार्थी भएर होला।

घटनामा पीडित महिलाको शारिरिक, मानसिक र न्यायिक उपचार हुनुपर्दछ। योसँगै उनका लागि तत्काल सुरक्षित गाँस, बास र कपासको ब्यवस्था मिलाउनुपर्छ। उनी कामका सिलसिलामा काठमाडौँ आएकी र उनीप्रति आश्रित उनका छोराछोरी छन् भने पढाइको व्यवस्था मिलाउनुपर्छ। उनलाई मानसिक रुपमा सक्षम बनाउन अपरिहार्य छ। दोषीले कडाभन्दा कडा सजाय पाउनुपर्दछ। मलाई सजायको विषयमा चाहिँ सुधारोन्मुख सजायको ब्यवस्था हुनुपर्छ भन्ने लाग्छ। यो त भयो घटना भएपछि के गर्ने भन्ने कुरा। महिला अलि सजग भयो भने पनि घटनालाई हुन नदिन पनि सकिन्छ। बोल्न सक्ने क्षमताको विकास, आफ्नो इच्छाबिरुद्ध कार्य हुँदैछ भने दमका साथ हुँदैन भन्नसक्ने क्षमता। त्यसपछि पनि कसैले जबरजस्ती गर्दैछ भने भने सुरक्षाका लागि ठूलो आवाजमा चिच्याउने। नजिकका ब्यक्तिहरुलाई आफू जोखिममा रहेको कुरा भन्ने र सम्भव भएसम्म सुरक्षा निकायको साथ लिने गर्न सकिन्छ।

यस्ता हिंसाजन्य कार्यहरुलाई समयमै ध्यान दियो भने न्यूनीकरण पनि गर्न सकिन्छ। महिलाहरुलाई स्वसुरक्षाकालागि उनीहरुको बाल्यकालदेखि नै सचेत गराउन सकिन्छ। किशोरावस्थाभन्दा अगाडिको समयमा उनीहरुको शारीरिक अंगहरुको बारेमा सिकाउनुपर्‍यो। हाम्रो शरीरमा निजी अंगहरु छन् जसमा अरुले (उनीहरुको हेरचाहमा संलग्नबाहेक वा बच्चाहरुले सुरक्षित महसुस गर्ने ब्यक्तिहरुबाहेक) अरुलाई छुन दिनु हुँदैन। ती अंगहरुका बारेमा उनीहरुले खुलेर जानकारी लिनसक्ने हुनुपर्‍यो। कसैले ती बालबालिकाको इच्छाबिरुद्ध कार्य गर्दै छ भने कसलाई भन्ने, आफैँले केके गर्न सकिन्छ भन्ने पनि सिकाउन सकिन्छ। किशोरावस्थामा सेल्फ डिफेन्सका सिपहरु सिक्न सक्ने भए  दमका साथ हुँदैन भन्न पनि सिक्नुपर्‍यो। आफूबिरुद्ध आफ्नै ब्यक्तिहरु वा नजिकका आफन्तहरुले पनि यस्तो हर्कत गर्न सक्छन्। यस्तो बेला नडराई आफूबिरुद्ध गलत भयो भनेर बोल्न अभ्यास गर्नुपर्छ।

तुफानझैँ घुमिरहेको मेरो मानसपटल अर्कोतिर बटारिन थाल्यो। म सानै हुँदा हजुरआमाले सिकाएको र नैतिक शिक्षामा चिच्याइचिच्याई पढेको कुरा के यी आपराधिक क्रियाकलापमा संलग्न भएका ब्यक्तिहरुले पढेनन् कि बुझेनन् कि? कसैले सिकाएन होला कि? खुब सम्झेँ- नैतिक शिक्षामा पढेका कुरा अनि पढाउने शिक्षकलाई पनि। ठूलालाई आदरसम्मान गर्नुपर्ने, सानालाई माया गर्नुपर्ने, माफी दिनुपर्ने, गलत भएमा सुधार्नुपर्ने खुब सम्झेँ। अनि कारण पत्ता लगाउन खोजेँ यस्तो अपराधिक कृयाकलापमा संलग्न हुनुको कारण केके हुन सक्ला?

मेरो दिमागमा ‘इमोसनल इन्टेलिजेन्स’ भन्ने शब्द आयो। इमोसनल ईन्टेलिजेन्स् मानसिक स्वास्थ्यको एउटा अङ्ग हो। मानसिक तवरले स्वस्थ हुनु भनेको औषधि खानुपर्ने अवस्थामा मात्र नहुनु होइन। यदि हामीले आफ्ना संवेगहरुलाई नियन्त्रण गर्न सकेनौँ भने पनि ब्यक्ति मानसिक तवरले अस्वस्थ भएको मानिन्छ।

ती पुरुषहरु जो यो बलात्कारको घटनामा संलग्न छन्, उनीहरुको पृष्ठभूमिको अध्ययन गर्दा उनीहरु एकै जिल्लावासी भएको बिभिन्न सञ्चांरमाध्यमहरुले बताएका छन्। हुन सक्छ- उनीहरुबीच सामूहिक भावको गहिरो सम्बन्ध भएको हुन सक्छ। यस्तो अवस्थामा ब्यक्ति समूहको निर्णयमा हाबी हुन सक्छ। आफ्नो संवेगको ब्यवस्थापन गर्नुको सट्टा क्षणिक उक्साहटमा समूहको निर्णय मान्छ। समूहले शक्ति र पहिचानको् सिर्जना गर्दछ र यही क्षणिक शक्ति र पहिचानका भरमा क्षणिक खुसी र सन्तुष्टिका लागि यिनीहरुले यस्तो अमानवीय कार्य गर्न पुग्छन्।

ब्यक्तिहरुले आफ्नो संवेगको ब्यवस्थापन हुर्किँदो उमेरसँगै सिक्छन्। यसलाई पारिवारिक, सामाजिक र जेनेटिक कुराहरुले निर्धारण गर्छ।

ती पुरुषहरु जो यो बलात्कारको घटनामा संलग्न छन्, उनीहरुको पृष्ठभूमिको अध्ययन गर्दा उनीहरु एकै जिल्लावासी भएको बिभिन्न सञ्चांरमाध्यमहरुले बताएका छन्। हुन सक्छ- उनीहरुबीच सामूहिक भावको गहिरो सम्बन्ध भएको हुन सक्छ। यस्तो अवस्थामा ब्यक्ति समूहको निर्णयमा हाबी हुन सक्छ। आफ्नो संवेगको ब्यवस्थापन गर्नुको सट्टा क्षणिक उक्साहटमा समूहको निर्णय मान्छ। समूहले शक्ति र पहिचानको् सिर्जना गर्दछ र यही क्षणिक शक्ति र पहिचानका भरमा क्षणिक खुसी र सन्तुष्टिका लागि यिनीहरुले यस्तो अमानवीय कार्य गर्न पुग्छन्। यसै गरी उनीहरु हुर्किएको वातावरण पनि अर्को कारण हुन सक्दछ, जस्तै उनीहरु हुर्किँदै गर्दा उनीहरुका घर परिवारका सदस्यहरुले महिलाहरुलाई कसरी ब्यवहार गर्थे? त्यस्तो व्यवहारबाट ती ब्यक्तिहरुले के सिके? उनीहरु निकट महिलाहरुलाई कस्तो स्थान दिइएको थियो, महिलाहरुप्रति कस्तो ब्यवहार हुन्थ्यो भन्ने कुराले पनि महिलाप्रतिको दृष्टिकोण कस्तो रहेछ भन्ने थाहा पाइन्छ। उनीहरुले महिलालाई कस्तो ब्यवहार गर्नुपर्छ भनेर सिके? यदि उनीहरुले महिलाहरु पनि पुरुषजत्तिकै समाजका अभिन्न अङ्गं हुन् भनेर बुझ्नुपर्नेमा महिलाहरु भनेको पुरुषका साधन हुन भनेर भनेर गलत बुझेका हुन सक्छन्। यस्तो अवस्थामा उनीहरुलाई सुधार गर्न सकिन्छ। अनि अर्को कुरा कतिपय पुरुषहरुले चाहिँ आफूनिकट महिलाहरुलाई एकदमै नियन्त्रणमा राख्ने, उनीहरुप्रति चाहिँ आवश्यकताभन्दा बढी नै प्रोटेक्टिभ हुने, महिलाहरुले पाउने स्वास्थ्य स्वतन्त्रता, शारिरिक, मानसिक र सामाजिक गतिशीतलामा रोक लगाउने र अरु महिलाहरुप्रति भने गलत दृष्टिकोण राख्ने प्रवृत्ति पनि हुन्छ। यस्ता कुप्रवृति पनि ब्यक्तिहरु निकट समूहको प्रभाव हुन सक्दछ। यस्ता ब्यवहारहरु कहिलेकाहिँ जेनेटिक पनि हुन सक्दछ।

मैले यस घटनाबारे चिकित्सा मनोविद् रामपुकार शाहसँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो- ‘कुनै पनि महिला र पुरुषबीच यौन सम्पर्क राख्ने क्रममा पुरुषको कुण्ठित भावना र नकारात्मक दृष्टिकोण त्यहाँ प्रकट भएको हुन्छ। उनीहरुमा के विश्वास छ भने उनीहरुले जे पनि गर्नसक्छन्। कुनै पनि महिलाको इच्छाविपरीत जे पनि गर्नसक्छन् भन्ने विश्वास उनीहरुलाई हुन्छ। कुनै पनि महिलाले नाइँ भनेपछि त्यो नाइँ हो। एकचोटि नाइँ भनेपछि त्यो नाइँ नै भन्ने चाहिँ पुरुषहरुले बुझ्नु जरुरी हुन्छ। ‘

बसपार्कको सामूहिक बलात्कारको घटनाबारे शाहले थप्नुभयो- ‘पहिलो कुरा सामूहिक बलात्कारमा समूहको भावनाले काम गरेको हुन्छ। एकजनाले ढुंगा हान्यो भने समूहले नै ढुंगा हान्छ। त्यो भएर सहीगलत केही नछुट्याई समूह नै नराम्रो काममा सहभागी हुन्छ। फ्रायडको इड, इगो र सुपरइगोको सिद्धान्तअनुसार सही र गलतको पहिचान गर्ननसक्दा र यौन सन्तुष्टिमात्र खोज्दा उनीहरु त्यस्ता नराम्रा काममा जानसक्ने सम्भावना हुन्छ। यसबाहेक सामाजिक, सांस्कृतिक, पारिवारिक, बहुसांस्कृतिक पक्ष पनि यसमा छन्।

यी युवाहरु बैदेशिक रोजगारीको सिलसिलामा काठमाडौँ आएका भनेर बिभिन्न समाचारहरुमा भनिएको छ। क्षणिक रमाइलो र सन्तुष्टिका लागि गरिएको अमानवीय, मानवीय संवेदनारहित कुकार्यमा संलग्न भएका कारण उनीहरुको भविष्य समेत बिग्रिएको छ। उनीहरुले गरेका गलत कार्यका लागि सजाय त पाउनु पर्छ नै, तर सजाय चाहिँ सुधारोन्मुख हुनुपर्छ। यस्तो अपराधिक कार्यमा संलग्न हुनेहरुको ब्यवहार र चिन्तनलाई सुधार गर्न जरुरी छ र यस्तो सुधार मनोविज्ञ, मनोचिकित्सक र न्यायिक निकायहरुको सामूहिक प्रयत्नबाट मात्र सम्भव हुन्छ। सुधारोन्मुख सजायको सुझाव सरकारलाई पनि। सबैले बुझुन् कि गलत कामको परिणम गलत नै हुन्छ।

चिकित्सा मनोविद् शाहको धारणा पनि यस्तै थियो- हामीले उनीहरुलाई सजायमात्र दिएर हुँदैन। सुधारोन्मुख दिशामा लैजान मानसिक सुधार गृहमा लैजान सकिन्छ। मानसिक समस्या समाधान गर्नसकिन्छ। मनोविद् समाजशास्त्री सुरक्षाकर्मीलगायत मिलेर उनीहरुलाई परामर्श गर्ने हो भने धेरै समस्या समाधान गर्नसकिन्छ। मनोविद्का दृष्टिले ‘बायोसाइकोसोसल मोडल’ प्रयोग गरेर यस्ता समस्याको समाधान गर्नसकिन्छ।

उहाँले थप्नुभयो- पुरुषार्थ देखाउन बलात्कार संस्कृतिको विकास भएको छ। यस विषयलाई हामीले यो छिछी दुरदुर हो भन्ने रुपमा लिनुपर्छ। यौन व्यवहारमा सहमति लिनु एकदमै जरुरी छ। पुरुषले महिला हिंसालाई सामान्य रुपमा लिने चलन छ। महिला आफैँले यो विषयलाई असामान्य रुपमा हेर्नुपर्छ।

-भण्डारी पद्मकन्या क्याम्पसमा स्नातकोत्तर तेस्रो सेमेस्टर (मनोविज्ञान)  मा अध्ययनरत छिन्।

पुस २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्