वसन्त चौधरीका दुई पुस्तक सार्वजनिक

काठमाडौँ– साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मैं’ काव्यसंग्रह र ‘तिमीविनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ।

मंगलबार काठमाडौँको कमलादीमा आयोजित एक कार्यक्रमका बीच चौधरीका दुई काव्यसंग्रह लोकार्पण भएको हो। काव्यसंग्रह लोकार्पण समारोहमा साहित्यकार चौधरीले काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सिर्जनशिलता नरोकिने बताए। उनले आफ्नो कविता संग्रह ‘तिमीविनाको म’ मा समाजमा भएका घटनाहरुको बारेमा चित्रण गरिएको बताए।

उनले भने, ‘मन नयाँ कुराहरु सोचेर कहिल्यै थाक्दैन। न त विश्राम नै लिन्छ। हामी वरिपरि जे परिघटनाहरु भइरहेको हुन्छन्, यिनै परिघटनालाई शब्दमा बोलेर अभिव्यक्त गरिरहेका हुन्छौँ। काव्यकृति ‘तिमीविनाको म’मा केही गुमाएका र केही प्राप्त गरेका घटनाहरु रुपमा राखेको छु।’

चौधरीको ‘तिमीविनाको म’ कविता संग्रहमा लामा र छोटा गरेर ८५ वटा कवितासंग्रहहरु संग्रहित छन्।

त्यस्तै हिन्दी भाषामा रहेको काव्यसंग्रह ‘अनेक पल और मैं’ मा उनले आफ्ना जीवनका चिन्तनहरुलाई समेटेको बताए।

पुस २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्