जीर्ण राजनीति, नेतृत्वको संकट र सम्वृद्धिको यात्रा

राजनीतिको विकास (इभोल्युसन) मा पात्रको परिवर्तनसँगै प्रवृत्तिमा पनि परिवर्तन हुनुपर्ने मान्यता (डिस्कोर्स) लाई नेपालले पच्छ्याउन सकेन। नेपालको राजनीतिक परिवर्तनमा व्यवस्थाको नाम, त्यसका पात्रहरू र शक्ति केन्द्र त बदलिएका छन् तर प्रवृत्ति भने बदल्न सकेको, चाहेको देखिएन। राजनीतिमा पात्र र प्रवृत्ति भिन्न कुरा हुन्। एकाध पात्र बदलिएको देखेर उत्साहित हुने गरेका नेपाली आम नागरिक, मतदातालाई प्रवृत्तिको पुनरावृत्तिले भने निराश बनाउने गरेको छ र आन्दोलनमा समेत धकेल्दै आएको छ।

एकाध लोकप्रिय व्यक्तिको जितलाई ‘पुस्तान्तरण’ वा ‘रुपान्तरण’ भनेर फरक भङ्गालोका रुपमा चित्रण गर्न खोजेको देखिन्छ तर भङ्गालोमा बाँडिएको भेलको पानी फरक हुँदैन। यस तथ्यलाई आगामी दिनमा गलत प्रमाणित गर्ने दायित्व ‘सुपात्र’हरू कै हो। किनभने नेपाली जनताको उत्कट चाहना पात्र र शब्दको परिवर्तनभन्दा प्रवृत्ति (रहन-सहन, चाल-चलन, संस्कार, मानिसले मानिसलाई गर्ने व्यवहार, सोच र कर्म गर्ने तरिका)को परिवर्तन हो।

चरम राजनीतिकरणमा होमिएर हामी एकतावद्ध हुँदै गएका छौं कि स्खलित र विभाजित?! सम्मान जितिरहेका छौं कि अपमान? पद सम्मानको पर्याय होइन। सम्मान त मृत्यपर्यन्त पनि जीवित रहन्छ। प्रजातन्त्रको अभ्यास विभाजित मानसिकताबाटमात्र सम्भव हुने हो र वा आफ्नो विचारमात्रै सही हुने हो? नेपालको सम्वृद्धिका खातिर कतिसम्म वैचारिक विभाजन वा प्रतिस्पर्धा वा तयारी आवश्यक छ? किन जरुरी छ एकता, सहयात्रा र मेलमिलाप?! हिजो बहिस्कारको राजनीतिलाई बहिस्कार गर्न आन्दोलन गरियो तर आज पनि राजनीति समावेशी हुन सकेको छैन। सत्ताभन्दा बाहिर रहेर देशलाई माया गर्ने समूह आज पनि त बहिस्कृत छन् नि! नेतृत्वले सत्तासाझेदारी र स्वार्थलाई मात्र मेलमिलाप देख्न मिल्छ?! नेपालको अपार श्रोत र सम्भावनामा केन्द्रित विचारले कहिल्यै स्थान पाउन सकेनन्। यस्ता प्रश्नहरू अनुत्तरित राखेर गरिएको राजनीति मर्यादित हुन सम्मभव छैन।

नेपाली राजनीतिका चार ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै आन्तरिक प्रजातन्त्रको अभ्यास गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो सर्वोच्च नेतृत्व बदल्न सक्यो तर अन्य दलले सकेनन्; चाहेनन्। विवेकशील साझा पार्टीले ‘विचारभन्दा माथि देश’ भनेर विचार परिवर्तनको यात्रा तय गरेको छ। परिणाम भविष्यले देखाउला।

विगत तीन दशकदेखि समस्याको चाङ लगाएर राजनीतिको सर्बोच्च नेतृत्वमा अटेस-मटेस गरेका पात्र र प्रवृत्ति कै पुनरागमन भएको परिप्रेक्षमा आशाका ज्योति भने धमिलो दोखियो। साथै बर्षभरी देश बिग्रियो भनेर चिन्ता गरेको मतदाताले फेरी त्यही पात्र र प्रवृत्तिलाई अनुमोदन गरेर विवेक गुमाएको सन्देश पनि गयो।

केही अपवाद वाहेक विगत तीन दशक लामो निराशा, अधोगति र असफलताको चाङ लगाएका भनिएकै नेतृत्वलाई ठूला दलका निराश(?!) मतदाताले चयन गरे। विद्यमान प्रवृत्तिकै निरन्तरतालाई अनुमोदन गरेको मान्नु पर्ने भयो। दोहोरिएका सर्वोच्च नेतृत्वले आफ्ना विगतकै ‘दोषी’ कर्म र त्यही प्रवृत्ति वा संस्कारलाई अनुमोदन गरायो। त्यस सिवाय तिनले ‘अझै राम्रो गर्ने’ आधार देखिँदैन। राजनीतिको यस्तो प्रवृत्तिलाई कसैले सफलताको अनुमोदन भनेर अर्थ्याएका छन भने कसैले असफल प्रवृत्तिकै पुनरावृत्ति वा हाबी भएको भनेर निष्कर्श निकालिरहेका छन्।

नेपालले अपनाउँदै आएको राजनीतिक संस्कारले ‘असफल पात्र र प्रवृत्ति’ लाई अनुमोदन गराउन सकिने गरी जाल, झेल, पैसा, शक्ति, षडयन्त्र पनि प्रयोग गर्न सिकाएको छ; मिल्छ। कर्तव्य वोध, जवाफदेहिताको चरम अभाव र दण्डहिनता त्यसको उदहारण हो। तरल विचारमा छरपष्ट, विभाजित र द्वन्दग्रस्त छ नेपाली प्रजातन्त्रिक राजनीतिको विकास क्रम।

प्रजातन्त्रमा मतदाता र खुलाबजारमा उपभोक्तालाई एकोहोरो सूचना ( Asymmetric information) प्रवाह गरेर आफ्नो स्वार्थ सिद्ध गर्न, गराउन अदृष्य शक्ति (invisible hand)सकृय रहन सक्छ। यो प्रजातन्त्रको कमजोरी पनि हो। नागरिक र उपभोक्तासचेत हुन सकिरहेका छैनन् र विवेक प्रयोग गर्न असमर्थ छन् भन्ने प्रमाण नै नेपाली राजनीति र अर्थतन्त्रको नियति हो। त्यसैले धुर्तहरू अरूले तयार गरेर दिएको प्रजातन्त्र अर्थात’instant democracy’ (Bottom Billion पुस्तकका लेखक प्रो. पाउल कोलियरको शब्द)को वकालत गर्ने गर्दछन। गरिवी र आश्वासनमा जिविका चलाएका मतदातालाई यस्ता धुर्तहरूले सहजै प्रयोग, दुरुपयोग गरिरहन्छन। विश्व व्यवस्थाको नियत र नियति पनि यस्तै देखिएको छ कि नसक्नेहरूले सक्नेहरूको प्रभुत्वलाई चुपचाप सहन गर; अनुमोदन गर! प्रजातन्त्र जोगाउन सचेत नागरिक यहिंनेर जागरुक र अभ्यस्त हुन जरुरी छ।

राजनीतिमा पात्र र शब्द बदलिए। नेपाली राजनीति आफै भने वदलिन सकेको छैन। संस्कार, प्रवृत्ति कत्तिपनि दलिएको छैन। आवधिक निर्वाचन, सदस्यताको स्वतन्त्र आगमन र वहिर्गमन, स्वच्छ प्रतिस्पर्धा, नीतिगत बहस, विज्ञहरूको सहभागिता, विचार र कार्यक्रमको अनुमोदन, समय-तालिका, प्रविधिको प्रयोग, आम्दानीका श्रोत र पारदर्शिता, प्रचार शैली, कार्यकर्ताको दक्षता र मूल्याङ्कन, कार्यकर्ता परिचालन, तालिम, सांगठनिक सम्रचना र स्वरुप, भाषण-आमसभाका तौर-तरिका आदिले राजनीतिक संस्कार र विकासलाई निर्धारण गरिरहेको हुन्छ। तर राजनीतिक दलहरूले गरेको आन्तरिक प्रजातन्त्रको अभ्यास हेर्दा नेपाली राजनीति परिस्कृत, सशक्तिकरण र विकास भएको छनक दिनै सकिंदैन। तीस बर्ष अघि जे जसरी राजनीति र संगठन परिचालित हुने गरेको थियो त्यसमा परिवर्तन देखिएको छैन।

यौटा मान्यता प्राप्त संस्थाकै हैसियतमा दलका संगठनले आफ्ना गतिविधि र जिम्मेवारी निर्वाह गर्नु पर्ने हो तर नेपालका दलहरूको संगठनमा सबैभन्दा धेरै भद्रगोल देखिन्छ। नियम कानूनका कुरा त कता हो कता! नेताका अगाडि कार्यकर्ता अपमानित, असुरक्षित, निरीह र विचारहीन भेडाका बथानजस्तै देखिएका छन्। नेपाली राजनीतिमा प्रजातान्त्रिक संस्कार अनुकुलकोप्रवृत्ति र विधिलाई परिपालना गर्न, गराउन नितान्त जरूरी छ। आफै विकास नभएको राजनीतिले सम्वृद्ध मुलुकको लक्ष पूरा गर्नकसरी सक्छ?!

केही दिन अघिमात्रै कोप-२६ सम्मेलनमा वातावरणीय सुधारको प्रतिवद्धता जनाएका प्रधानमन्त्रीको कार्यक्रम स्थल वरिपरि फालिएका पर्चा, पोष्टर, प्रचार शैली र प्रदूषण हेर्दा सुधारको आशा गर्ने ठाउँ व्यवहारमा पनि देखिएन। यही प्रवृत्ति अन्य ठूलादलको महाधिवेशनमा पनि देखियो। नेताले प्रवृत्ति बदलेका छैनन्। राजनीतिमा संस्कार बदल्न जरूरी छ भन्ने मान्यता पनि बिर्सेका छन्। दलका कार्यकर्ता भाषण र तालीमा भुलेका, भुलाइएका छन। तिनलाई सांगठनिक गुणस्तरबारे मतलब भएको गफमा त सुनिन्छ तर व्यवहारमा देखिएन।

सर्वसाधारण जनताले सामाजिक संजालमा नेतृत्वमा रहेकाहरू प्रति पोखेका आक्रोश, घृणाका आवाजको सुनुवाइ होला कि भन्ने पनि देखिएन। असल कर्मका लागि जन-गुनासोको सुनुवाइ (फिडब्याक)ले काम गर्नुपर्ने हो तर सिद्धान्त र ब्यवहारमा त्यो देखिएन। ‘तित्राको मुखै बैरी’ भने झैं एकाथरी नेता(!?) हरू निर्दोष नेपाली जनतालाई आफू झन् ‘बौलाहा’ हुन सक्नेसम्मको चेतावनी दिन पछि परेका छैनन्। उल्टै जनतालाई घुर्की !? ईष र बिषले भरिएका मानिसहरूले ओगटेको राजनीतिबाट जनताले शान्ति र सम्वृद्धिको अपेक्षा राख्नु नै बेकार जस्तै भएको छ।

दलका आन्तरिक चुनावमा पानी ट्याङ्कीलाई प्वाल पारेर मत पेटिका बनाइयो। सामाजिक संजालभरी पानी ट्याङ्कीको यो दशालाई दया र हाँसोको पोष्ट बनेको नदेख्नेहरू कमै थिए। मतदान र गणनामा कुनै सुधार थिएन। दशौं दिन लगाएर मत परिणाम घोषणा गरिए। स्थानिय चुनाव, मतदाता नामावली, प्रतिनिधि चयनमा समय तालिका फेरिएको फेरियै थिए। कुट-पिट, अनसनका विद्रोह पनि दोहोरिए।

नेताहरूको जीवन शैलीमा आकाश जमिन परिवर्तन गराएका र भविष्यमा गराउने दलहरू नैअसंगठित, अव्यवस्थित छन्। संगठनको जीवनमा सामाजिकिकरण, विकास र परिवर्तनहुन सकिरहेको छैन। नेतालाई आफ्नै पेशा, राजनीति र दलीय संगठनको विकास गर्ने सोच आइरहेको छैन।अचम्म यसैमा छ।

नेताहरूको जीवन शैलीमा आकाश जमिन परिवर्तन गराएका र भविष्यमा गराउने दलहरू नैअसंगठित, अव्यवस्थित छन्। संगठनको जीवनमा सामाजिकिकरण, विकास र परिवर्तनहुन सकिरहेको छैन। नेतालाई आफ्नै पेशा, राजनीति र दलीय संगठनको विकास गर्ने सोच आइरहेको छैन।अचम्म यसैमा छ।

‘वेष्टमिनिष्टेरियल’ प्रजातन्त्रको जननी मानिने वेलायतमा चुनाव आएको पत्तै हुँदैन। मतदानका दिन ‘पोलिङ स्टेशन’ लेखिएका साइन पोष्ट देखेपछि थाहा हुन्छ कि यहाँ मतदानको कार्यक्रम हुँदैछ। जुलुस, हुल-हुज्जत, नारावाजी, माला, खादा, भात-भान्सा, भतेर, आसेपासे कतै केही देखिंदैन। हल भित्रका केही सामान्य कार्यक्रम बाहेक प्रचार प्रसारका लागि कुनै तामझाम देखिएका छैनन्। सूचना र समाचारको माध्यमवाट समय तालिका, कार्यक्रम आदि बारेको जानकारी निरन्तर उपलब्ध हुन्छन्।

राजनीतिलाई भरोसायोग्य बनाउन प्रविधि र पद्धति मार्फत हरदम सुधारको प्रयास गरेको देखिन्छ। मतदाताको सुविधालाई केन्द्रमा राखिएको हुन्छ।चुनावका कारण नागरिकको जनजीविकामा किंचित वाधा-अडचन आउँदैन। झण्डै चौविस घण्टामा मत परिणाम आइसक्छ। प्रायजसो साँझ आठ बजेसम्म मतदानको कार्यक्रम राखिएको हुन्छ ताकि कामकाजी मानिसहरूले पनि मतदान गर्न सकुन। मतदान केन्द्रमा पुलिस, कार्यकर्ता, भिडभाड केही देखिदैन। वुथमा सहयोगी दुई-तीन जना कर्मचारीमात्रै देखिएका हुन्छन। कुनै पनि परिचय पत्र (पासपोर्ट, ड्राइभिङ लाइसेन्स) लिएर त जानु पर्छ तर कर्मचारिले मतदाता नामावलीमा नाम भेटेपछि विना परिचय पत्र मत पत्र दिन हिच्किचाउँदैनन्। बलियो विश्वासले काम गरेको देखिन्छ। आ-आफ्नो ठाउँमा सबैले गरेको जिम्मेवारी र कर्तव्य वोध कै कारण निर्वाचनको निष्पक्षता र परिणाम प्रति कसैले शंका गर्न सक्दैन।

वेलायतको राष्ट्रिय चुनाबकालागि बर्षको दुई पटक (छ-छ महिनामा) मतदाता रजिष्ट्रेशन अद्यावधिक राखिन्छ। यसबारेको जानकारी प्रतेक घरधनीलाई पत्रसमेत लेखेर सुचित गरिन्छ। मतादाता लिष्टमा अपडेट नगर्नेलाई एक हजार पाउण्डसम्म जरिवना गर्न सकिने प्रावधान छ। यसको जिम्मेवारी स्थानीय काउन्सीललाई हुन्छ।

एक – दुई कार्यकाल पछि नेतृत्व सहजै बदलिनेने चलन छ; सदाका लागि। छेपारोले झैं बोली फेरेर रानीतिमा ठालु हुन खोजिंदैन। जनताको सेवा गर्न आएको मर्मलाई राजनीति भनेर बुझेका नेतृत्वले जनताको असहमतिलाई पनि बुझ्ने कोशिस गरेको देखिन्छ। जब जनताको असहमति जाहेर हुन्छ बाटो खालि गरिदिनुलाई दायित्व ठानिन्छ। ‘वेष्टमिनिष्टेरियल’ पद्धतिको अनुसरण बोल्नका लागिमात्र नभएर सिक्नका लागि पनि हुनु पर्ने हो!

यता भारतमा पनि प्रजातन्त्रकै अभ्यासका क्रममा चुनाव हुन्छनन्। भारतलाई पनि प्रजातन्त्रको जननी मानिन्छ तर भारतीय चुनावलाई भने ‘विहारी शैली’को नाम दिने गरेको पाईन्छ। किनभने चुनावताका राजनीतिक शक्तिको परिचालन गर्दाघनघोर असुरक्षा, देखिने ढाँट छल, पैसा, दादागिरी, भद्दा प्रचार शैली, जुलुस आमसभाले सर्वसाधारण नागरिकको जनजीवन नै प्रभावित हुने गरेका हुन्छन्। चुनाव प्रचारको भिडभाडमा भारतीय पूर्व प्रधानमन्त्री एवं कांग्रेस आइका नेता राजीव गान्धिको हत्या भएको दुखद घटना पनि छ। चुनावमा नेताले महिलाहरूलाई पैसा वाडेको साजिस अदालतसम्म पुगे। यसलाई ‘एकादशीमा महिलाहरूलाई दक्षिणा दिएको’भनेर गरिएको दावी समाचारमा आए। भारतमा हिंसा (विभिन्न खाले) र निर्वाचन सिक्काका दुई पाटोजस्तो देखिन्छ।

अमेरिकीप्रजातन्त्रको राजनीतिक अभ्यास यहाँसम्म आइपुग्दा पैसा, सामाजिक संजाल र विदेशी शक्तिको चलखेल हुने गरेको स्विकार गरिएको छ। निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीति प्रवेश त्यसैको पछिल्लो उदहारण मानिन्छ। उनी राजनीतिज्ञ नभएर व्यापारी, अर्बपति हुन्। राष्ट्रपतिका उम्मेदवार हुने तयारीमात्रै गरेका माइक ब्लुमवर्गले जम्मा चार महिनाको अवधिमा एक विलियन अमेरिकी डलर स्वाहा पारेका थिए।राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयमा रसीयाले चासो राखेको भनेर छानविन समेत भयो। यो कुरा त्यहाँको राजनीति र सुरक्षा संयन्त्रले नै सहसुस गरेकाले विवाद छानविनको कठघरासम्म तानियो।

विश्वको शक्तिशाली मुलुक अमेरिकाको राष्ट्रपति बनाउन रसिया खेल्न सक्ने अवस्था छ र वाह्य शक्ति खेलेको तथ्य कुनै न कुनै तरिकाबाट महसुस गरिन्छ भने अमेरिकीप्रजातन्त्रलाई कसरी सुरक्षित मान्न सकिएला! यदि अमेरिका मै प्रजातन्त्र असुरक्षित हुन सक्छ भने नेपाल जस्ता मुलुको हविगत के होला, सहजै अनुमान गर्न सकिन्छ।क्याम्ब्रिज एनालिटीका कर्मचारीले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव र ब्रेक्जिट (वेलायत युरोपबाट बाहिरिन भएको जनमत संग्रह) मा सामाजिक संजाल मार्फतमतदाताको व्यवहार परिवर्तन गराउने डाटा, एलगोरिदम प्रयोग गरेको तथ्य स्विकार गरेकै हुन।

नेपालमा पनि चुनाव खर्चिलो, भडकिलो र असुरक्षित हुँदै गएको छ। खर्च गर्न नसक्नेहरूले चुनावबाट तर्सिनु पर्ने अवस्था छ। चुनावमा विजय पराजयलाई लक्षित गरेर अदृश्य खेलहरू हुने गरेका छन्।बैचारिक र नीतिगत बहसभन्दा ‘माथिको आदेश’ लाई चुपचाप मान्नु परेको गुनासो सुनिन्छ नत्र ‘पत्ता साफ’ को खेल शुरू हुन बेर लाग्दैन। प्रतिद्वन्दी दलको चुनाव चिन्हमा मतदान गर्न गराउन आदेश दिइएको छ। नेता ‘चोर हुन’ वा होइनन् भनेर समेत सार्वजनिक वहस हुने अवस्था आयो। राजनीतिलाई मर्यादित बनाउन सकेको भए नेता ‘चोर हुन’ वा होइनन् भनेर जवाफ दिनुपर्ने अवस्था आउने थिएन। ‘हो’ भनेर अपमान खेप्नु पर्ने थिएन।

एमसीसीको लामो विवादमा राजनीतिक क्षेत्रले गुमाएको निर्णय क्षमता र अकर्मण्यता मुख्य कारण बनेको छ। कतिपय चर्चित नेताहरू यस बिषयमा चुँसम्म पनि बोलेका छैनन्। केही नेताहरूले मनलाग्दी समर्थन वा विरोध गर्नुपर्छ भन्दै आएको सुनिएको छ। खासगरी दलहरूले एमसीसीबारे खुला बहस गराएकै छैनन्। विवाद चर्काउने काममा सबै लागी परेको देखिन्छ तर समाधान दिने नेतृत्वदायी भुमिकामा भने कसैको कसैप्रति विश्वास देखिदैन। आ-आफ्ना स्वर्थमा मुलुकको अस्मिता च्यात्ने प्रवृति झन् हुर्किंदै गएको त्रासदी आभाष भइरहेछ। मुलुकलाई निर्णयको वन्दी बनाएर राखिएको छ। राष्ट्रकालागि यो ठूलो अपराध हो।

आर्थिक चलखेल र अमर्यादित झेली खेलले निराशा फैलिरहेको छ। किसानलाई उखुको मूल्य समेत दिन, दिलाउन नसक्ने लाचारराज्य-सत्ताको अमिलो अनुभव छ। यस्तै धमिलो वातावरणमा माछा मार्ने दाउ गरेकाहरू राजनीतिमा उग्र रुप धारण गरेर उदय हुने खतराको आभाष हुन थालेको छ। राजनीतिक क्षेत्रको सुझबुझलेमात्र त्यस्ता संकटलाई यथासमयमा पहिचान र अन्त गर्न सकिन्छ। असफल नेतृत्वले त समस्याको सिर्जनामात्र गरिरहन्छ।

व्यवहारमा निर्वाचन प्रणाली, राजनीतिको अभ्यास, विधि परम्परामा आधुनिकताको आभास हुन सकेको छैन। राजनीतिलाई समस्या समाधानको अस्त्रका रूपमा हेर्न सकिने विधा बनाउन ‘दिइएको’ छैन। किनभने राजनीति विधिले चल्न थालेको दिन व्यक्तिका स्वार्थलाई सम्बोधन गर्न सकिंदैन।व्यक्तिका स्वार्थले चलेको राजनीतिको आयु लामो पनि हुँदैन।

राजनीतिक अभ्यासका क्रममा विगतमा गरिएका कमजोरी र गर्न नसकिएका कामका कारण प्रजातन्त्र फरक नियत भएकाहरूको घोडाजस्तै बनेको छ। सीमित मानिसहरूको सम्वृद्धि प्रगति, स्वार्थ पूर्तिकालागि हजारौंको संख्याले वलिदानी, त्याग गर्नु परेको तीतो अनुभव छ। प्रजातन्त्र नै गलत सूचीहरू (discontents)ले भरिन गएको देखिएको छ। त्यसैले आलोचना समेत हुने गरेको छन्। राजनीतिको विकासलाई यस्ता अनुभवले परिमार्जन गर्न सघाउँछ। यस्ता कोणहरूबाट पनि नेपालले शिक्षा लिन सक्छ र आफ्नो मौलिक बाटो, प्रजातन्त्रको आधार तयार गर्न सक्छ।

राजनीति आफै परिस्कृत, परिमार्जित, समावेशी, सामाजिक र विकसित छैन भने देशमा स्थायित्व र सम्वृद्धि ल्याउन सकिंदैन! सम्वृद्धि नैअहिलेको साझा सवाल हो र सम्वृद्धिकालागि नेपालसँगै अपार साधन श्रोत छन्।बरु समय कम छ। अतः मनन गर्न सक्ने पात्रसँगै प्रवृत्ति पनि बदल्न जरूरी छ

@simantablog

 

पुस २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्