हाइपरसोनिक मिसाइलको परीक्षण सफल – उत्तर कोरिया

उत्तर कोरियाले बुधबार प्रहार गरेको प्रोजेक्टाइल हाइपरसोनिक मिसाइल रहेको त्यहाँको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ।

मिसाइलको परीक्षण सफल भएको र निशानामा लागेको बिहीबार केसिएनएले उल्लेख गरेको हो। उत्तर कोरियाले दोस्रोपटक हाइपरसोनिक मिसाइल परीक्षण गरेको हो। यसअघि गएको सेप्टेम्बरमा उसले यही प्रकारको मिसाइल परीक्षण गरेको थियो।

बुधबारको मिसाइल परीक्षण गएको अक्टोबरयताको पहिलो हो।

ब्यालेस्टिक र परमाणु हतियार परीक्षणमा उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ।

केही दिनअघि नेता किम जोङ उनले देशको रक्षा क्षमता थप बलियो र कडा बनाउने बताएका छन्। त्यसको केही दिनपछि मिसाइल प्रहार भएको हो।

अमेरिका, दक्षिण कोरिया तथा जापानसहितका देशले मिसाइल परीक्षणलाई लिएर उत्तर कोरियाको आलोचना गरेका छन्।

पुस २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्