पर्सामा चैते, भदैया र अगहनी धानको उत्पादन वृद्धि

वीरगञ्ज – पर्सा जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ। धान उत्पादनको लागि राम्रो मानिएको पर्सामा यस वर्ष किसानहरुले लगाएको चैते, भदैया र अगहनी धानको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ।

पर्सामा गत वर्षभन्दा तीन वटै सिजनमा धान उत्पादन वृद्धि भएको हो। जिल्लामा चालु आर्थिक वर्षमा तीन वटै सिजनमा गरेर कुल ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। जसमा कुल २ लाख ३३ हजार १३५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए।

गत आर्थिक वर्ष २०७७/७८ मा भने जिल्लामा कुल ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २ लाख २८ हजार ५६० मेट्रिक टन धान उत्पादन भएको चौरिसयाले बताए। यसमध्ये पर्सामा चालु आर्थिक वर्षमा कुल ३५ हजार २० हेक्टर क्षेत्रफलमा अगहनी धान खेती गरिएकोमा एक लाख ६८ हजार ९६ मेट्रिक टन धान उत्पादन भएको छ।

गत वर्ष पर्सामा ३५ हजार हेक्टर क्षेत्रफलमा अगहनी धानको खेती गरिएको थियो। जसबाट एक लाख ६६ हजार २५० मेट्रिक टन धान उत्पादन भएको थियो। अन्य सालको तुलनामा यसवर्ष बाढीले कम क्षति गरेको कारणले जिल्लामा अगहनी धान उत्पादन वृद्धि भएको बाली विकास अधिकृत चौरसियाले बताए। बीउबिजन पनि सही समयमा किसानहरुले पाएको कारणले धान उत्पादन वृद्धि भएको उनको भनाइ छ।

‘यसपालि आएको बाढीले किसानहरुको धान खेतीमा बढी क्षति गर्न पाएन। त्यसकारण पनि उत्पादन वृद्धि भएको हो’, उनले भने, ‘बीउबिजन, विषादी पनि बेलाबेलामा किसानहरुले पाएकै थिए। जसले गर्दा धानको उत्पादनमा अलिकति भए पनि वृद्धि भयो।’

यस वर्ष पर्सामा ३ हजार ५५० हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा १८ हजार ८१५ मेट्रिक टन चैते धान उत्पादन भएको छ। गत वर्ष ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्रै चैते धान खेती गरिएको थियो। जसमा १७ हजार ८३० मेट्रिक टन चैते धान उत्पादन भएको केन्द्रले जानकारी दिएको छ।

त्यस्तै यस वर्ष ८ हजार ५६० हेक्टर क्षेत्रफलमा भदैया धान खेती गरिएकोमा ४६ हजार २२४ मेट्रिक टन धान फलेको छ। गत वर्ष ८ हजार ५५० हेक्टर क्षेत्रफलमा भदैया धानको खेती हुँदा ४४ हजार ४६० मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ।

जिल्लाका अधिकांश किसानहरुले सोना मन्सुली धानको खेती गर्ने गरेका छन्।

पर्सामा धान उत्पादन बढेको भए पनि चालु आर्थिक वर्षमा देशभर धान उत्पादन ८.७४ प्रतिशतले घटेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। यस वर्ष देशभर ५१ लाख ३० हजार मेट्रिक टनमात्रै धान उत्पादन हुने मन्त्रालयले जनाएको हो। विगत पाँच वर्षको तुलनामा चालु आर्थिक वर्षमा सबैभन्दा कम धान उत्पादन भएको मन्त्रालयको भनाइ छ।

पुस २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्