ट्राफिक प्रहरीद्वारा चोरिएका मोटरसाइकल धनीलाई हस्तान्तरण

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो।

महाशाखाले उपत्यका र आसपासका पशुपति क्षेत्र, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चाबहिल, ठमेल, कीर्तिपुर, सातदोबाटो, कलंकी, बसपार्कलगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी बिहीबार सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन्।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना संकलन तथा सुराकीमार्फत ती मोटरसाइकल बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिए।

सुरक्षित स्थानमा र सुरक्षित तरिकाले मात्र मोटरसाइकल राख्न र अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अनुरोध गरेको छ।

चालू आर्थिक वर्षमा २२३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ। मोटरसाइकल चोरीमा संलग्न ३२ जनालाई चोरीका मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीको लागि पठाएकोसमेत महशाखाले जानकारी दिएको छ।

सवारी हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नजिकको ट्राफिक प्रहरीलाई सम्पर्क गर्न र निवेदन दिन अनुरोध गरिएको छ।

पुस २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्