लुम्बिनी प्रदेशको स्थायी राजधानी पूर्वाधार निर्माण गर्न संघ सरकारद्वारा छुट्ट्याइयो १ अर्ब

बुटवल– लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा पूर्वाधार निर्माणका लागि संघ सरकारले १ अर्ब रुपैयाँ दिने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीबीच भएको भेटवार्तामा प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार निर्माणका लागि १ अर्ब रुपैयाँ उपलब्ध गराउने सहमति भएको मुख्यमन्त्री केसीले जानकारी दिए।

राप्ती उपत्यका देउखुरी दाङमा राजधानीका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बजेट अभाव भएपछि संघीय सरकारसँग ३ अर्ब रुपैयाँ माग गर्ने निणर्य लुम्बिनी प्रदेश सरकारले गरेको थियो।

मुख्यमन्त्री केसीले प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाटका क्रममा तत्काल १ अर्ब रुपैयाँ उपलब्ध गराउने सहमति भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार निर्माणको काम नीतिगत रूपमा समेत अघि बढाउन मुख्यमन्त्रीलाई आग्रह गरेका थिए।

सो क्रममा संघ सरकारबाट उपलब्ध भएको बजेटमध्येबाट राजधानीको गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिग्रहणका काम अघि बढाउने मुख्यमन्त्री केसीले प्रतिबद्धता जनाएका थिए।

पुस २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्