ललिता निवास जग्गा प्रकरणः सीआईबीले ३०० भन्दा बढीलाई प्रतिवादी बनाएर बुझायो प्रतिवेदन

काठमाडौँ– ललिता निवास जग्गा प्रकरणको अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआईबी) सरकारी वकिलको कार्यालय काठमाडौँमा मुद्दा चलाउन प्रतिवेदन बुझाएको छ।

अनुसन्धान सकेर सीआईबीले रायसहितको प्रतिवेदन बिहीबार दिउँसो सरकारी वकिलको कार्यालय, काठमाडौँमा बुझाएको सहन्यायाधिवक्ता गंगा प्रसाद पौड्यालले देशसञ्चारलाई बताए।

पौड्यालका अनुसार ललिता निवास जग्गा प्रकरणमा ब्यूरोले ३ सय बढीलाई प्रतिवादी बनाउँदै सरकारी लिखित कीर्ते सम्बन्धी कसूरका चार वटा छुट्टा\छुट्टै रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो।

वि.सं.२०४९ सालदेखि २०७० सालसम्म चारपटकसम्म कागजात कीर्ते गरी ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको निष्कर्ष सीआईबीको छ।

घटनामा प्रहरीले हालसम्म रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई मात्रै पक्राउ गरेको छ। सीआइवीले अन्य सबैलाई फरार प्रतिवादीको सूचीमा राखेर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायरको माग सहित प्रतिवेदन बुझाएको हो। उक्त प्रकरणमा पूर्व सचिवहरु दीप बस्न्यात, युवराज भुसाल, छविराज पन्त, नारायणगोपाल मलेगो र दिनेश हरि अधिकारीसमेतलाई प्रतिवादी बनाएर मुद्धा चलाउन सीआईबीले प्रतिवेदन बुझाएको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले भने, ‘सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने छ। पहिले हामीले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्छौँ। अध्ययन गरिसकेपछि मुद्दा चलाउन आवश्यक पर्ने प्रमाण रहेछ भने मुद्दा चल्छ। होइन भने प्रतिवेदनले किटान गरेका वादी र प्रतिवादीहरुमाथि अभियोगपत्र नै तयार हुँदैन।’

पुस २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्