सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती रिहा

मोरङ – बेपत्ता अवस्थामा रहेको करिब ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीको सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती छुटेका छन्।

बिहीबार जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई २ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका स्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए।

उप्रेती मंगलबार युएईबाट नेपाल आउने क्रममा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

उप्रेतीलाई बुधबार विराटनगरस्थित अदालतमा उपस्थित गराइएको थियो। उप्रेती शाक्य हत्या र सुन तस्करीका मुख्य योजनाकारका रूपमा रहेका चूडामणि उप्रेती गोरेका भाइ हुन्।

यसअघि सुन तस्करी प्रकरणका मुख्य आरोपीमध्येका धरानका मोहनकुमार अग्रवाल पनि थुनछेक बहसपछि ३ लाख रुपैयाँ धरौटीमा छुटेका थिए।

त्यसैगरी, मंसिर २२ गते न्यायाधीश लम्सालको इजलासले सुनको लगानीकर्तामध्येका कृष्णगोपाल अग्रवाल पनि २ लाख रुपैयाँ धरौटीमा छुटेका थिए।

त्यसैगरी, लम्सालको इजालासले ७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दाको असोज १९ गते फैसलामा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए। अदालतले सुन तस्करी प्रकरणसँगै जाडिएको सनम शाक्य हत्याको मुद्दामा ८ जनालाई दोषी ठहर गरेको छ। भारतका नागरिक राजन कुमारलाई ३ वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो।

मुख्य योजनाकार मोरङ उर्लाबारीका चूडामणि उप्रेती गोरेसहित लाक्पा शेर्पा, मोहन काफ्ले, टेकराज मल्ल ठकुरी, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो।

पुस २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्