उद्यमशीलता विकासका लागि सीटीईभीटी र युवा स्वरोजगार कोषबीच सम्झौता

काठमाडौँ – व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच गण्डकी प्रदेशमा सीप तथा उद्यमशीलता विकास गर्ने सम्बन्धमा सम्झौता भएको छ।

गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका ८५ वटै स्थानीय तहसँगको साझेदारीमा स्थानीय युवाको उद्यमशीलता अभिवृद्धिका लागि दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

उक्त समझदारीपत्रमा सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्ले तथा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार सीटीईभीटीले प्रत्येक स्थानीय तहमा सम्बन्धित क्षेत्रको स्रोतसाधनको प्रयोग तथा स्थानीय आवश्यकताको आधारमा छोटो तथा लामो अवधिको सीप तथा अभिमुखीकरण एवं क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गर्नेछ।

यसरी तालिम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह, गैरसरकारी संस्था, सहकारी संस्था, उद्योगी तथा व्यवसायी तथा अन्य रोजगारदाता संस्थासँग समन्वयसमेत गर्न सक्ने सम्झौतामा उल्लेख गरिएको छ। यसरी सिकेका सीपहरुलाई सीटीईभीटीले आवश्यक परीक्षण र प्रमाणीकरण गरी सम्बन्धित व्यक्तिलाई प्रमाणपत्र उपलब्ध गराइनेछ।

समझदारीअनुसार परिषद्ले दिएको प्रमाणपत्र एवं गरेको सिफारिसका आधारमा कोषले सम्बन्धित व्यक्तिको उद्यमशीलता विकासका लागि आवश्यक पर्ने वित्तीय सहयोग उपलब्ध गराउनेछ। यस्तो सहयोग सहुलियतपूर्ण ऋणको रुपमा प्रवाह हुने कोषले जनाएको छ।

सम्झौता कार्यक्रममा परिषद्का सदस्य सचिव काफ्लेले सीटीईभीटीसँग वार्षिक रुपमा लामो अवधिको तालिम ८४ हजारलाई र छोटो अवधिको तालिम २१ हजार जनालाई दिन सक्ने क्षमता रहेको बताए। उनका अनुसार परिषद्ले वार्षिक ५० हजारको सीप परीक्षण गरी प्रमाणपत्र उपलब्ध गराउने गरेको गरेको छ।

यसरी सीप सिकेको युवालाई उद्यमशीलतासँग जोड्न कोषसँग सहकार्य गरेको उनले उल्लेख गरे। ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार जनालाई उद्यमी बनाउने लक्ष्य लिएको छ। हामीसँग तालिम दिने क्षमता छ’, सदस्य सचिव काफ्लेले भने, ‘दुई संस्थाको उद्देश्यलाई मिलेर हासिल गर्न हामीले समझदारी गरेका हौं।’

उनले अहिले पनि नेपालीहरु अदक्ष र अर्धदक्ष श्रमिकको रुपमा विदेश जाने गरेको भन्दै सीप सिकेर विदेश जाँदा रेमिट्यान्स ४/५ गुणाले बढ्ने दाबीसमेत गरे ।

कोषका कार्यकारी निर्देशक अधिकारीले देशमा स्वरोजगारी र उद्यमशीलता विकासका लागि कोषले काम गर्दै आएको बताए। कोषले अनुदान नभएर सस्तो ऋणमार्फत् उद्यमशीलता विकास गरिरहेको उनको भनाइ छ। उनले श्रम बजारमा वार्षिक ५ लाख नयाँ जनशक्ति थपिने गरेकोमा धेरै नेपाली रोजगारीको लागि विदेशिने गरेको बताए।

कार्यक्रममा सीटीईभीटी गण्डकी प्रदेशका प्रमुख प्रमोद आचार्यले परिषद्ले दिएको छोटो तथा लामो अवधिको तालिमसँगै उद्यमशीलता विकास गर्ने उद्देश्यले पाइलट प्रोजेक्टको रुपमा यो प्रक्रिया अघि बढाइएको बताए। उनले यसका लागि प्रदेशअन्तर्गत सबै स्थानीय तह तथा विभिन्न व्यवसायिक संघसंस्थासँग सम्झौता भइरहेको र हुने क्रममा रहेको जानकारी दिए।

अहिले सीटीईभीटीले छोटो अवधिको तालिमअन्तर्गत १ हजार ६ सय ९६ घण्टासम्मको तालिम सञ्चालन गर्दै आएको छ। त्यस्तै लामो अवधिको तालिमअन्तर्गत १८ महिनादेखि ३ वर्षसम्मको शैक्षिक पाठ्यक्रमअन्तर्गत तालिम दिने र सीप परीक्षणको काम गर्दै आएको छ।

पुस २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्