गोठी गाउँमा सडक पुगेपछि स्थानीयद्वारा खुसीयाली

सिमकोट – हुम्लाको गोठी कुती गाउँ सडक सञ्जालसँग जोडिएपछि स्थानीयले खुसीयाली मनाएका छन्। घरको आँगनमै सडक निर्माण भएर गाडी गुडेपछि स्थानीयले खुसीयाली मनाएका हुन्।

सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँका स्थानीय साउने बुढाले पहिलोपटक गाउँमा सामान र यात्रु बोकेको गाडी पुगेपछि गाउँवासी मिलेर खुसीयाली मनाएको जानकारी दिए। उनका अनुसार स्थानीयले गाडी चालक र यात्रुलाई फूलमाला, खादा र अबिर लगाएर स्वागत गरेका थिए।

गाउँपालिका केन्द्र सर्केगार्डबाट गोठी र कुती गाउँमा सडक सञ्जाल जोडिएपछि अब गाउँमा विकासले फड्को मार्ने विश्वास स्थानीयले गरेका छन्। कतिपय स्थानीयले पहिलोपटक गाडीसमेत देख्न पाएको प्रतिक्रिया दिएका छन्। गाडी पुगेपछि खुसी देखिएका स्थानीयले विकास भनेकै सडक निर्माण भएको बताए।

उक्त वडाका अध्यक्ष कर्णजङ्ग शाहीले दुई वर्ष लगातार निर्माण गरेर गाउँमा सडक पुगेको बताए। पहिलो वर्ष सडक निर्माण थालनी गर्दा कसैले नपत्याएको बताउँदै उनले गरेपछि हुन्छ भन्ने कुरा प्रमाणित भएको सुनाए। सो सडक निर्माणका लागि बजेट विनियोजन गर्न गाउँपालिकामा निकै घम्साघम्सी परेको स्मरण गर्दै वडा अध्यक्ष शाहीले आफ्नो प्रयास बल्ल सफल भएको सगौरव बताए।

उक्त सडकका लागि अघिल्लो वर्ष प्रदेश र गाउँपालिकाको समपूरक कोषबाट ३७ लाख बजेटमा स्थानीय उपभोक्ताबाट काम भएको थियो। यसवर्ष सोही कोषबाट एक करोड २० लाख र गाउँपालिकाको सात लाख गरी एक करोड २७ लाखमा टेण्डर भएर सडक निर्माण कार्य सम्पन्न भएको हो।

कुल एक करोड ६४ लाखमा पाँच किलोमिटर सडक निर्माण भएर दुई वटा गाउँमा सडक पुगेको उनले बताए। दुवै गाउँमा सडक जोडिएसँगै स्थानीयलाई आवतजावत र खाद्यान्नलगायतका सामग्री ढुवानी गर्न सहज भएको छ। यसअघि स्थानीयले गाउँपालिका केन्द्रसम्म दुई घण्टा पैदल हिँडेर जानु पर्ने बाध्यता थियो।

उक्त सडकलाई वडाकै भुवा कल्लास गाउँसम्म जोड्न बाँकी रहेको वडा अध्यक्ष शाहीले जानकारी दिए। उक्त गाउँमा सडक निर्माण भए वडाका सबै बस्ती सडक सञ्जालमा जोडिने उनले बताए।

पुस २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्