प्रधान न्यायाधीश राणा सम्पति शुद्धीकरणको कसूरमा पर्लान् त?

काठमाडौँ– विवादमा पर्दै आएका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको सम्पत्ति छानबिन सम्बन्धमा परेको उजुरी नै सम्पति शुद्धीकरण (मनी लन्डरिङ) अन्तर्गतको हो होइन भन्ने प्रारम्भिक छानबिन हुन सकेको छैन।

सामाजिक अभियन्ता डा. गोविन्द केसीले एक हप्ताअगाडि राणाको सम्पत्ति छानबिनको माग गर्दै पहिलो निवेदन सम्पत्ति शुद्धीकरण विभागमा दर्ता गरेका थिए। केसीले नै दुई दिन अगाडि राणाकी श्रीमती रेजी राणासहित आफन्त मिलेर संगठित रुपमा सम्पति शुद्धीकरण गरेको आरोपसहित अर्काे पूरक निवेदन विभागमै दिएका थिए। ४७ सालपछिका प्रधानन्यायाधीशहरुको सम्पति छानबिन गर्न भन्दै विभागमै अर्काे निवेदन पनि परेको छ।

‘हामीले सूचनाका रुपमा यी निवेदन दर्ता गरेका छौँ। आरोपित व्यक्तिहरुले अवैध रुपमा सम्पति आर्जन गरे नगरेको र सम्पति शुद्धीकरण  ऐन अनुरुप छानविनका दायरामा पर्ने नपर्ने हामीले अध्ययन गर्न बाँकी छ। प्रारम्भिक अध्ययन पछि मात्रै यो केशमा विभागले छानविन अगाडि बढाउने नबढाउनेबारे निर्णय गर्नेछ,’ विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले भने।

सम्पति शुद्धिकरण निवारण ऐन २०६४ को दफा २ को खण्ड (श) अन्तर्गत संगठित अपराधिक समूह र गैरकानुनी वा धुर्त्याइँपूर्वकको असुली, आतंकवाद सम्बन्धी कार्य, मानव बेचविखन, ओसारपसार, बाल यौन शोषण, लागू औषधको अबैध ओसारपसार र कारोबार, भ्रष्टाचार वा घुस सम्बन्धी, ठगी, कीर्ते, अपहरण, गैरकानुनी थुनामा वा शरीर बन्धक सम्बन्धी,चोरी वा डकैती सम्बन्धी, तस्करी (भन्सार, अन्तशुल्क तथा करसहित) सम्बन्धी, कर (प्रत्यक्ष वा अप्रत्यक्ष) सम्बन्धी, आपराधिक लाभ (एक्स्टर्सन) सम्बन्धी, सामुद्रिक डकैती (पाइरेसी) सम्बन्धी, फर्म, साझेदारी, कम्पनी वा संघ संस्था सम्बन्धी, घर, जग्गा र सम्पत्ति सम्बन्धी, चिठ्ठा, जुवा वा चन्दा सम्बन्धी, नागरिकता, अध्यागमन वा राहदानी सम्बन्धी, ऐनको दफा ४ बमोजिमको आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर, सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य कुनै कसूर, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर ठहरिने स्पष्ट छ।

‘यी अपराधमध्ये कुनै अपराध गरी सम्पति आर्जन गरी शुद्धीकरण गरेको भेटिएमा अनुसन्धान अगाडि बढ्छ। अहिले निवेदन दर्ता गरी प्रारम्भिक छानविन नै कसरी अगाडि बढाउने विभाग आन्तरिक छलफलमै छ। प्रारम्भिक छानबिन नै लामो हुन सक्छ। अहिले निवेदन छानविनको प्रक्रियामा मात्रै छ। गैरकानुनी रुपमा सम्पति आर्जन गरी शुद्धीकरण  गरेको फेला परे मात्रै राणा विरुद्ध विस्तृत अनुसन्धान अगाडि बढाइनेछ,’ देशसञ्चारसँग महानिर्देशक भट्टराईले भने।

पुस २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्