धर्मनिरपेक्षता, विश्वप्रकाश र नेपाली काङ्ग्रेस

नेपाली काङ्ग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले हालै एक अन्तर्वार्तामा नेपाललाई हिन्दुराष्ट्र बनाउने बहस बेकार भएको बताउनुभएछ । सोही अन्तर्वार्ताको क्रममा उहाँले ‘म हिन्दुधर्म मान्छु, मेरो घरको आगनमा शिवको मन्दिर बनाएको छु, प्रायजसो बिहान पूजा गरेर मात्र दिनको आरम्भ गर्दछु पनि भन्न भ्याउनुभएछ ।

उहाँले हिन्दुधर्म मान्नु र नमान्नु, पूजा गर्नु नगर्नु यो कुनै बहसको विषय होइन, यो उहाँको वैयक्तिक स्वतन्त्रताको विषय हो । जहाँसम्म नेपाललाई हिन्दुराष्ट्र बनाउने बहसको विषय छ, त्यो बेकार नभएर साच्चैको बहसको विषय बन्न पुगेको छ । नेपाली काङ्ग्रेस भित्र यो साँच्चैको बहसको विषय बनाइनुपर्दछ र आम नेपाली काङ्ग्रेस कार्यकर्ताका बीचमा छलफल गराइनुपर्दछ भन्ने आम नेपाली जनताको धारणा रहेको छ ।

नेपाली काङ्ग्रेस भनेको जनभावनालाई बोकेर हिँड्ने पार्टी हो । जनभावना बिनाको नेपाली काङ्ग्रेसको कुनै अस्तित्व छैन । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली काङ्ग्रेसका मूलभूत आदर्श हुन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका सम्बन्धमा जननायक विश्वेश्वरप्रसाद कोइरालाले स्पष्ट रूपमा व्याख्या गरेर जानुभएको छ । औपचारिक रूपमा जननायक विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गर्नुभएको नेपाली काङ्ग्रेसको सिद्धान्त र आदर्शबाट नेपाली काङ्ग्रेस अलग भएको मलाई थाहा छैन । लामो समयसम्म नेपाली काङ्ग्रेसको प्रवक्ताको भूमिका निर्वाह गर्नुभएका विश्वप्रकाश शर्माले नेपाललाई हिन्दु राष्ट्र बनाउने बहसलाई कसरी बेकार भन्नुभयो आश्चर्य लागेकोे छ ।

जनभावनाको कदर गर्नु कुनै पनि राष्ट्रवादी पार्टीको कर्तव्य हुन आउँछ । आम जनभावनासँग व्यक्तिको विचार नमिल्न सक्दछ । तर बहुमत जनताको रायलाई स्वीकार गर्नु कुनै पनि प्रजातन्त्रवादी पार्टीको दायित्व पनि हो । देशभरिबाट आएका नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरूले चयन गरेका कारण शर्मा नेपाली काङ्ग्रेसको महामन्त्रीमा निर्वाचित हुनुभएको हो । यसरी निर्वाचित हुने वित्तिकै उहाँले त्यो जनमतलाई कसरी उपेक्षा गर्नुभयो आश्चर्यको विषय बनेको छ ।

तपाईँलाई महामन्त्री पदमा विजयी बनाउने नेपाली काङ्ग्रेसका प्रतिनिधि हुन् ती सबै निरपेक्षवादी छैनन् । तपाईं महामन्त्री जस्तो पदमा निर्वाचित हुनुभएको छ, तपाईँले सर्वेक्षण गराउन सक्नुहुन्छ, नेपाली काङ्ग्रेस पार्टी भित्र बहस गराउन सक्नुहुन्छ, नेपाली जनताका बीच बहस गराउन सक्नुहुन्छ, अझ भनौं नेपाली काङ्ग्रेस भनेको जनभावनालाई कदर गर्ने पार्टी हो, यो विषयलाई संसदभित्र बहस गराउन सक्नुहुन्छ, अझ भनौं जनमत सङ्ग्रहमा लैजानुस् जनमत निरपेक्षताको पक्षमा आयो भने सबैले स्वीकार गर्नै पर्दछ नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । होइन भने यो नेपाली जनताका बीच वहसको विषय बनेको छ र जबसम्म यसको छिनोफानो हुँदैन तबसम्म वहसको विषय बनिरहने छ । नेपाली जनताको अहिलेसम्मको बुझाइ छ, नेपाललाई धर्मनिरपेक्ष राष्ट्र कसैको आदेशमा बनाइएको हो । होइन भने जनमतमा विश्वास गर्ने पार्टी किन जनमत सङ्ग्रहमा जान सक्दैन ? अझ भन्दै हुनुहुन्छ नेपाललाई हिन्दु राष्ट्र बनाउने बहस बेकार हो । जनमतको कदर कसरी बेकार हुन्छ ? महामन्त्री शर्मालाई मेरो प्रश्न छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली काङ्ग्रेसका आदर्श हुन् । नेपाली काङ्ग्रेसले अबलम्बन गरेका यी आदर्शहरूको प्रतिपादन जननायक विश्वेश्वरप्रसाद कोइरालाले गर्नुभएको हो । कोइरालाको विचारमा राष्ट्रियता भनेको जनता हो । बीपी कोइरालाका शब्दमा राष्ट्रियताका सन्दर्भमा यहाँ केही विचार गर्नु असान्दर्भिक नहोला ।

राष्ट्रियताका सम्बन्धमा बीपीद्वारा व्यक्त विचार प्रयाप्त छन् । यहाँ खाँचो भनेको बीपीका विचारको अध्ययन र विश्लेषणका साथ व्यवहारिक प्रयोग मात्र हो । देश र जनताका सन्दर्भमा जननायक विश्वेश्वरप्रसाद कोइरालाले विभिन्न स्थानमा भन्नुभएको छ– ‘…… देश भन्नोस् चाहे राष्ट्र भन्नोस् त्यो भूगोल होइन, माटो होइन त्यो यथार्थमा जनता हो । जुन कुराले जनताको हित हुन्छ त्यही कुरो देश हितको कुरो हो । जनताको अधिकार हनन् देशको अधिकार हनन् हो । यदि नेपाल भूगोलबाट एक करोड नेपाली जनताको आवादी लोप भयो भने मेरो अर्थमा नेपाल लोप हुन्छ । यद्यपि भूगोल आफ्नो ठाउँमा जस्ताको तस्तै स्थायी भइरहने छ ।’ यसरी स्पष्ट शब्दमा बीपीले जनभावनाको कदर गर्न निर्देश गर्नुभएको कुरालाई महामन्त्री विश्वप्रकाश शर्माले कसरी भुल्नुभयो आश्चर्य लागेको छ ।

नेपालको संविधान २०७२ को निर्माण गर्ने सन्दर्भमा लाखौं नेपाली जनताले नेपाललाई विश्वको एकमात्र हिन्दुराष्ट्र«बाट नहटाउन गरेको निर्देशलाई अहिले पनि कसैले बिर्सेको छैन । सम्विधान निर्माण गर्ने सन्दर्भमा जनताको आवाजलाई तत्कालीन सम्विधान सभा सदस्यहरूले उपेक्षा गरेको विषयलाई नेपाली जनताले अझै बिर्सेका छैनन् । जनभावनाको कदर गर्ने पार्टीको रूपमा परिचित नेपाली काङ्ग्रेस त्यसको विपरीत गएका कारण पनि विगतको आम निर्वाचनमा नेपाली काङ्ग्रेस २३ सीटमा सीमित बन्न पुगेको थियो । तथापि पार्टीभित्र निर्वाचनको त्यो परिणामका सम्बन्धमा विचार—विमर्श पनि भएन । उल्टै विपक्षी एक भएका कारण यस्तो परिणाम आएको हो भनेर उम्कने मात्र काम भयो तर निर्वाचनको त्यो परिणाम विपक्षी एक भएर होइन जनभावनाको पार्टीले कदर नगरेका कारण पार्टीले त्यो परिणाम भोग्नुपरेको हो भन्ने कुराको हेक्का पनि नवनिर्वाचित महामन्त्रीले राख्नुपर्ने हो । भर्खरै नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन सम्पन्न भएको छ र त्यही महाधिवेशनले विश्वप्रकाश शर्मालाई महामन्त्रीमा निर्वाचित गरेको हो । तर नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा पार्टीभित्र जुन–जुन कुराहरूको वहस हुनुपर्ने थियो, विगतमा पार्टी नेतृत्त्वले के कस्तो स्थानमा कमी–कमजोरी प्रदर्शन ग¥यो त्यसका सम्बन्धमा विचार–विमर्श हुनुपर्नेमा कुरा समेत उठेन । नेपाली काङ्ग्रेसको इतिहासमा पार्टीको नीति र सिद्धान्तका सम्बन्धमा कुरा नै नउठी सम्पन्न भएको महाधिवेशन सायद यही नै पहिलो होला । तथापि यो महाधिवेशनले जल्दाबल्दा केही नयाँ अनुहारलाई निर्वाचित गरेको छ तर निर्वाचित हुँदा वित्तिकै म नै पार्टी हूँ र मेरो आदेशलाई सबै कार्यकर्ताहरूले पालन गर्नुपर्दछ भन्ने जस्तो गरी व्यक्तिगत विचारलाई लाद्न खोज्नु किमार्थ उपयुक्त हुँदैन । पार्टीका जिम्मेवार व्यक्तिले कुनै पनि विचार सम्प्रेषण गर्नुभन्दा पहिले पार्टी भित्र र बाहिर व्यापक वहस चलाएर त्यसबाट आएको निष्कर्षलाई मात्र सम्प्रेषण गर्नुपर्दछ । पार्टीको नीति र कार्यक्रम के कस्तो हुनुपर्दछ भन्ने सम्बन्धमा बीपीले छोडेर जानुभएका दस्तावेजको अध्ययन, अनुसन्धान र विश्लेषण आजको आवश्यकता हो ।

जननायक विश्वेश्वरप्रसाद कोइरालाले एक प्रसङ्गमा भन्नुभएको छ–जुन दिन अर्थात् ( १ पौष २०१७ ) देशवासीहरूले प्राप्त गरेको मौलिक अधिकार खोसियो, वाक् स्वतन्त्रता, संगठन स्वतन्त्रता आदिदेखि जनता वञ्चित पारिए, जनप्रतिनिधिहरू थुनिए, संसद विघटित पारियो, फेला पर्न सकेका संसद सदस्य एकलाई पनि नछोडेर बन्दी बनाइयो, संसद अध्यक्ष थुनिए, निर्वाचित प्रधानमन्त्री, राजनीतिमा लागेका कोही पनि व्यक्ति त्यस राजाको दमनचक्रबाट जोेगिएनन् चाहे त्यो भूतपूर्व प्रधानमन्त्री हुन् या साधारण कार्यकर्ता । त्यस दिनपछि कसैले राजालाई राष्ट्रियताको समर्थक या प्रतीक मान्छ भने त्यो जस्तो ठूलो भ्रम नेपालको राजनीतिका सम्बन्धमा अर्काे कुनै हुन सक्दैन । त्यस दिन स्पष्ट रूपबाट राजाले आफूलाई जनताभन्दा पृथक तत्व मात्र होइन, विरोधी तत्त्वको रूपमा प्रकट गरे’ ।

वि.सं.२०१७ सालमा राजाले आफूलाई जनविरोधी तत्त्वको रूपमा स्थापित गरेजस्तै आज नेपाली काङ्ग्रेसले आफूलाई जनताको विरोधी तत्त्वको रूपमा स्थापित गर्ने कि जनभावनाको कदर गर्ने ? नेपाली काङ्ग्रेसका नवनिर्वाचित पदाधिकारीहरूले सोच्ने बेला आएको छ । बीपीको विचारमा राष्ट्र भन्दा वित्तिकै त्यो भूगोलभित्र बसोबास गर्ने जनता नै हुन् । यसबाट पार्टीलाई जनभावनाभन्दा टाढा नजान बीपीले दिएको निर्देशलाई पनि ख्याल गर्ने कि ? । नेपाली काङ्ग्रेसको महामन्त्रीले बोलेको कुरा नेपाली काङ्ग्रेसको आधिकारिक धारणा हो । के यो विषयमा तपाईंले पार्टीभित्र बहस गराउनुभएको छ ? सर्वेक्षण गर्नुभएको छ ? छ भने माइनुट देखाउनुहवस्, माइनुटको कुरा किन ल्याएको भन्दा तपाईंले पति—पत्नीका बीच पनि तपाईंले माइनुट गरेर सहमति खोज्नुहुन्छ भन्ने सुनेको छु । होइन भने, तपाईंले यो विषयलाई बहसमै ल्याउनका लागि उठान गर्नुभएको हो भने तपाईंलाई धेरै धेरै धन्यवाद, यस्तै नेताको खाँचो नेपाली काङ्ग्रेसका लागि छ ।

धर्मका सम्बन्धमा बीपीका धारणा

धर्मका सम्बन्धमा बीपी प्रष्ट हुनुहुन्थ्यो भन्ने कुरा बीपीले विभिन्न स्थानमा व्यक्तगर्नुभएको धारणाबाट पनि बुझ्न सकिन्छ । बीपीले एक प्रसङ्गमा भन्नुभएको छ– मानिसले आदिमकालदेखिनै सामूहिक समस्यामाथि घोरिएर आफ्नो चिन्तन र अनुभवलार्ई सिद्धान्त, मत वा धर्मको रूप दिँदै आइरहेको छ । भगवान् बुद्धको जीवनी, हाम्रो देशमा सामाजिक भावना वा व्यक्तिगत स्वार्थको भावनामाथि विजय प्राप्त गरेर उठ्न सकेको भावनाको एउटा दृष्टान्त हो । उनी यशस्वी र राज्याधिकारी थिए । उनलार्ई आफ्ना कुनै पनि आवश्यकताको आपूर्ति नहुने भय थिएन । उनी त्यस्तो सुखमय जीवनबाट किन हठात् विमुख भए, उनलार्ई त्यसको सुखको अनुभव किन हुन सकेन ? आफूलार्ई जुन ज्ञान प्राप्त हुन सकेको छ र उनी जुन ज्ञानद्धारा जीवनका सुखःदुखबाट मुक्त हुनसक्ने भएका छन् । त्यो ज्ञान समाजका प्रत्येक प्राणीलार्ई प्राप्त हुनुपर्छ भन्ने उनले निश्चय गरे । उनको यो निश्चयबाट संसारमा धर्मचक्र प्रवर्तित भयो’ ।

एक अर्को प्रसङ्गमा वैदिक सनातन हिन्दू धर्मका सम्बन्धमा बीपीले भन्नुभएको छ– ’हिन्दूधर्म भनेको बुद्ध, इस्लाम वा इसाई धर्मजस्तो संगठित धर्म होइन । त्यसो हुनाले हिन्दूधर्मलार्ई एउटा सामाजिक संगठनको आधारको रूपमा र त्यसका नियमहरूमा सामाजिक नियमहरू सादृश्य भएको हामी पाउँछौ । यसका वेद, उपनिषद, रामायण, महाभारत, पुराण, मनुस्मृति इत्यादि धार्मिक ग्रन्थहरू शुद्ध सामाजिक दृष्टिकोणबाट लेखिएका ग्रन्थ हुन्’ । धार्मिक व्यवस्था र अध्यात्मका सम्बन्धमा बीपीले भन्नुभएको छ– ‘धार्मिक व्यवस्था वा धर्मका आध्यात्मिक र नैतिक दुईवटा उदेश्य हुन्छन् ।

आध्यात्मिक उदेश्यको सम्बन्ध व्यक्ति, आत्मा र ईश्वरसंग हुन्छ भने नैतिक उदेश्य मानव सम्बन्ध वा सामाजिक सम्बन्धको विषय हो । जुनसुकै धार्मिक व्यवस्थामा पनि आध्यात्मिक र नैतिक आधार अविच्छिन्न रूपबाट संलग्न हुन्छन् । धर्मले ईश्वर र आत्माका सम्बन्धमा सूक्ष्म विवेचना गरेर एकातिर रहस्यवाद, व्यक्तिको एकान्तता र सामूहिक नभएर व्यक्तिगत मोक्षको प्रयासमाथि जोड दिएको छ भने त्यसले अर्कोतिर, पवित्र पारस्परिक जीवन, मानव सम्बन्धमा निःस्वार्थपन, त्याग, पवित्रता, प्रेम, विश्वास इत्यादि शुद्ध सामाजिक भावनाहरूमा पनि उत्तिकै जोड दिएको छ । ती भावनाहरूको विवेचना नैतिक विषय हो । यिनीहरू सामाजिक आदर्शलार्ई लक्षित गर्ने भावना हुन् । एउटा अनैतिक प्राणीलार्ई ईश्वर अप्राप्त छ । यस प्रकार धर्मले चारित्रिक गुणलार्ई प्रधानता दिएको छ’ । बीपीले भन्नुभएको छ– असल र खरावको विचारले पनि ईश्वरसँग सम्बन्ध राख्दैन । बरू यसको सम्बन्ध समाजको उदेश्यसँग छ । ईश्वर, कतै—कतै त शुद्ध नैतिकताको आधारको सृष्टि गर्न रचिएको अस्तित्वसमेत बनेको छ । मानव जीवनबाट ईश्वर र उसको न्यायको आधार लोप हुन लाग्यो भने मानिस अनैतिक र उच्छृङ्खल भएर सामाजिक संगठनाई विध्वंस गर्न लाग्छ भन्ने पनि कतिपयको भनाई छ । त्यसो हुनाले यस कुरालार्ई लक्षित गरेर कुनै दार्शनिकले भनेका छन—‘वास्तवमा ईश्वरको अस्तित्व नभए पनि हामीहरूले त्यसको निर्माण गर्नुपर्छ । ’

एक प्रसङ्गमा बीपीले भन्नुभएको छ– ‘मानव चेतनाले पशुअस्तित्वको अन्धकारबाट निस्केर जब पहिलोपटक आँखा उघा¥यो, त्यसले आफ्नो अस्तित्वलाई ‘प्रकृति’ र त्यसको रहस्यमय दुनियाँ र आफूजस्ता अरू मानवगणको सहयोग विना आफ्नो जीवनको अस्तित्व सम्भव नभएको देख्यो होला । सर्वप्रथम उसलार्ई प्रकृतिको रूप अमैत्रीपूर्ण लाग्यो होला । यो चराचर जगत्मा आफ्नो स्थान के हो भन्ने प्रश्न उसले ग¥यो होला । यस प्रकारको प्रश्नले नै आध्यात्मिक शृङ्खलाको सूत्रपात ग¥यो । मानिसले आध्यात्मिक दृष्टिकोणबाट सामाजिक प्राणीको रूपमा आफ्नो विवेचना गर्दैन । आफ्नो स्थान त्यो चराचर जगत्को विराटतामा खोज्न चाहन्छ । मानिस विराट विश्वको सानो कण मात्र हो । यस प्रकारको चिन्तन गर्दा मानवदृष्टि अन्तर्मुखी हुन पुग्दछ’ ।

उहाँले अगाडि भन्नुभएको छ– ‘यस प्रकारको आध्यात्मिक भावनाबाट हाम्रो हिन्दू विचारधाराको पूर्वीय विचार अनुप्राणित छ । पूर्वीय विचारअनुसार सङ्गठनमा आदिभौतिकताको प्रधानता छ । यहाँको सभ्यता पनि विशेष रूपले यस्तै चिन्तनमा आधारित छ । वेद चराचर जगत्का विभिन्न दृश्यावली र त्यसले उत्पन्न गरेको मानव अनुभूतिको कवितामय अभिव्यक्ति हो । वेद, सूर्यस्तवनको कविहृदयबाट फुटेर निस्केको गीतधार जस्तो छ । उपनिषद् मानव चिन्तनको झन् परिपक्क फल हो । वेद र उपनिषद् दुवै साहित्य, प्रकृति र त्यसको रहस्यमय जगत्ले कुतकुत्याएको मानव चेतनाको एउटै उत्तेजनाबाट उत्पन्न भएका हुन् । त्यसपछिका ग्रन्थहरूमा कमवेश वेद र उपनिषद्का विचारको असर पाइन्छ । हिन्दू विचारधाराको तात्विक मूल रहस्य प्रकृतिले मानव मस्तिष्कमा पारेको असर हो । महाभारत र रामायणलाई एउटा सामाजिक चित्र उपस्थित गर्ने काव्यको रूपमा लिइए पनि दुबै ग्रन्थ आध्यात्मिकताले अनुप्रेरित छन् । महाभारतको गीता शुद्ध आध्यात्मिक ग्रन्थ हो । यस प्रकारको चिन्तनले आत्मदर्शनलार्ई विशेष प्रोत्साहन दिन्छ ।

यसै प्रसङ्गमा उहाँले भन्नुभएको छ– ‘मेरो भनाइको तात्पर्य हिन्दू विचार प्रणालीमा आध्यात्मिक भावना बाहेक अरू सामाजिक तथा दैहिक भावनाहरू छैनन् भन्ने होइन । त्यसको तात्पर्य त केवल, हिन्दू विचार प्रणालीमा आध्यात्मवादको पक्ष अरू पक्षभन्दा धेरै बलवान् छ र अध्यात्मवाद हिन्दूसभ्यता र संस्कृतिको प्रेरणा—मुल हो भन्ने मात्र हो । मानव चिन्तनको एक पक्षमा मात्र कुनै पनि सभ्यताको जग आधारित हुँदैन । तर , त्यो सभ्यतामा कुन पक्षको प्राधान्य छ भन्ने कुरा कला, साहित्य, दर्शन इत्यादिको अभिव्यक्ति र पक्षको प्रकट गर्छ । हिन्दूसभ्यतामा कला, साहित्य, दर्शन इत्यादिमा अध्यात्मवादको प्रधानता रहेको घोषणा गर्दछन्’ ।

के हो त धर्म ?

धर्मको तात्पर्य ती सत्यात्मक नियमहरूको धारणसँग रहेको छ जसको धारण व्यक्ति एवं समाजले गर्दछ । जसअनुरूप यो नियम कर्तव्यको रूपमा परिवारका प्रत्येक सदस्य, समाज हुँदै राष्ट्रव्यापी मात्र होइन विश्वव्यापी बन्न पुग्दछ । माता, पिता, पुत्र, बधू, बन्धु आदिको परिवारसँग जेजस्तो नाता हुन्छ ती सबै कर्तव्यबोधबाट बाँधिएका हुन्छन् । जहाँ कर्तव्य हुन्छ त्यहाँ विरोधको स्थिति पनि रहँदैन । मानव कर्तव्यले मानिसलाई व्यक्तिगत विचार तथा कर्मको तनावबाट माथि उठाइदिन्छ । यही कर्तव्यले नै मानिसलाई सेवातर्फ अग्रसर गराउँछ यही नै ‘धर्म’ हो र यही सेवा भावनाको अर्को नाम ‘यज्ञ’ पनि हो ।

यज्ञ यस्तो चिज हो जसले अर्काका लागि स्वार्थ तथा सुखको त्याग गर्र्दै अर्काको सेवाको लागि युक्ति प्राप्त गर्दछ त्यही जीवन पद्धति नै ‘यज्ञीय पद्धति’ हो । वैदिक सनातन धर्ममा विश्वास गर्ने परिवारको व्यवहारिक स्थिति यही भावनाको बलमा नै टिकेको छ । यसरी प्रेममय वातावरणमा परिवारका प्रत्येक सदस्यले आफ्नो कर्तव्यको पहिचान गरी त्यसको पालन गर्दछन् । अर्काको कुनै वस्तुप्रति आँखा नलगाउनु तथा त्यस्तो दुस्कर्मप्रति कुनै पनि भावना मनमा नआउनु नै पारिवारिक जीवनको रस हो जसलाई नै स्वर्गीय जीवनको संज्ञा दिइएको छ ।

प्रत्येक व्यक्तिमा एक–अर्काको सहयोगको भावना आउने आदर्श नै ‘स्वर्ग’ हो । यसको विपरित प्रत्येक वस्तुलाई आफ्नै स्वार्थको दृष्टिले हेर्नु, अधिकारको कुरा गरेर केवल प्राप्त गर्ने इच्छा राख्ने विचारले संघर्ष तथा विरोधको स्थितिको सिर्जना गर्दछ । जसलाई धर्मशास्त्रीय भाषामा ‘नरक’ भनिन्छ । प्रत्येक कुलको प्रत्येक सदस्यले यो कुरा सोच्नुपर्दछ कि मेरा कारणले परम्परा विच्छिन्न हुन नपाओस् मेरा कारण यो पारिवारिक तन्तु टुट्न नपाओस् । यस्तो भावना कर्तव्यबोधका माध्यमबाट आउँछ । यही कर्तव्यबोध नै ‘धर्म’ हो जुन संस्कारको माध्यमबाट एक पुस्ताबाट अर्को पुस्तामा, एक व्यक्तिबाट अर्को व्यक्तिमा हस्तान्तरित हुन्छ । महामानव विश्वेश्वरप्रसाद कोइराला पनि धर्म, संस्कार र आध्यात्मबादका सम्बन्धमा यही भावनाबाट अभिप्रेरित रहेर यावच्जीवन समाज तथा देशकोे सम्बद्र्धनका लागि क्रियाशील रहेको देखिन्छ ।

धर्मका सम्बन्धमा बीपीले एक प्रसङ्गमा भन्नुभएको छ– ‘धर्मको विरुद्धमा त म पटक्कै छैन, छँदै छैन । तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दिन’ । बीपीले मैले धर्मको अभ्यास गर्दिन भनेर उल्लेख गरे पनि माथिको विश्लेषणबाट बीपीले वैदिक सनातन धर्मका प्रमुख ग्रन्थ वेद, उपनिषद्, रामायण, महाभारतदेखि स्मृति वाङ्मयसम्मको अध्ययन गरेको स्पष्ट हुन आउँछ । धर्म भनेको जीवन पद्धति हो, प्राकृतिक नियम हो जसको विरुद्धमा कोही पनि जान सक्दैन भने महान् नेता विश्वेश्वरप्रसाद कोइराला जाने कुरै भएन तथापि उहाँले स्पष्ट शब्दमा भन्नुभएको छ ‘म धर्मको अभ्यास गर्दिन’ । यसको तात्पर्य धर्मका सम्बन्धमा विशेष प्रकारले जान्ने प्रयत्न उहाँले नगरेको देखिन्छ । कुनै पनि कुरालाई विशेष प्रकारले जान्नका लागि अभ्यासको खाँचो पर्दछ त्यसैमा समर्पित हुनुपर्दछ ।

तथापि मानिसमा रहेको धार्मिक विश्वासको कदर भने बीपीले गर्ने गरेको कुरा विभिन्न स्थानमा छरिएर रहेका उहाँका विचारबाट थाहा पाउन सकिन्छ । एक अर्को प्रसङ्गमा उहाँले भन्नुभएको छ– ‘एक जनाले साईं बाबाको विभूति मेरो जहानलाई दिएको रहेछ–यो लगाइदिनु भनेर । मलाई लगाई दिइन् । मलाई विभूति दिने व्यक्ति वा त्यस विभूतिलाई पवित्र ठान्ने मेरो पत्नीको भावनालाई म असाध्य कदर गर्दछु’ । यसरी विश्वेश्वरप्रसाद कोइरालाले हरेक व्यक्तिको भावनालाई यसरी कदर गरेको देखिन्छ । अर्काको भावनाको कदर गर्नु नै धर्मको पालन गर्नु हो ।
नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने जस्तो मन्दिर जाँदैमा र मूर्तिको पूजा गर्दैमा धर्म हुँदैन । धर्म त भावनामा रहेको छ जुन भावनाको कदर बीपी कोइरालाले गरेको देखिन्छ । कोइरालाले एक प्रसङ्गमा भन्नुभएको छ– ‘सूर्यको उदयले गुलाफ पक्रेको कुराले तपाईंलाई रिझाउन सकेन भने तपाईंको जीवनको एउटा पक्ष त सुकेको रहेछ । तपाईंले सूर्योदयलाई राम्रो भन्न सक्नुभएन, रोमाञ्चित हुनु भएन भने । हो, रोमाञ्च जसले उत्पन्न गर्दछ त्यही ठाउँमा धर्म पनि बसेको हुन्छ’ । वास्तवमा मानिसलाई जागृत बनाउन सक्नु, अभिप्रेरित गर्नु नै धर्म हो । धर्म भनेको अनुभूतिको विषय हो र जसको अनुभूति विश्वेश्वरप्रसाद कोइरालाले गरेको देखिन्छ ।

उपनिषद् वेदको अन्तिम भाग हो जसलाई अध्यात्मविद्या तथा ब्रह्मविद्याको नामले चिनिन्छ । वेदको अन्तिम भाग भएका कारण उपनिषद्लाई वेदान्तको नामले पनि चिनिन्छ । उपनिषद् वेदको ज्ञानकाण्ड होे जुन ज्ञानको आदि श्रोत, विद्याको अक्षय भण्डार र वेदविद्याको चरम सिद्धान्त हो । यसले संसारका प्राणीमात्र आफ्नो बन्धुमात्र होइन आफ्नै स्वरूप नै संझन्छ । उपनिषद्ले मानवजातिलाई अल्पज्ञानबाट अनन्तज्ञानतर्फ, जन्ममृत्युरूपी बन्धनबाट अनन्त स्वातन्त्रमय शाश्वत शान्तितर्फ लैजान्छ । जसमा रहेको अनन्त ज्ञानमध्ये ईश्वरको सम्बन्धमा व्याख्या गर्दै बीपी कोइरालाले भन्नुभएको छ– ‘ईश्वरलाई विज्ञानको माध्यमले व्याख्या गर्न सक्नुहुन्न । भौतिक आधारमा ख्याख्या गर्न सक्नुहुन्न । ईश्वर भन्नु एक आध्यात्मिक अनुभव हो’ ।

यसरी उहाँले ईश्वर दृश्य बस्तु नभएर अनुभूतिको विषय भएको बताउनुभएको छ । उहाँले एक अर्को प्रसँगमा भन्नुभएको छ– ‘मानिसको जुन संकट छ– मानसिक होस् वा आध्यात्मिक, त्यसको निवारण उसको आत्मबलमा छ । सानो एउटा सङ्कटले कतिलाई छटपटाएर मारिदिन्छ । कोही मान्छे त्यो सङ्कटमाथि विजय प्राप्त गर्दछ ।….. दैवी शक्ति भन्ने कुरा त्यसबाट निःसृत हुन्छ’ । वास्तवमा ईश्वर भनेको कोइरालाले भनेजस्तै आध्यात्मिक अनुभव नै हो । उपनिषदमा पनि त्यागपूर्वक सम्पत्तिको उपभोग गर्न र कसैको धनसम्पत्तिमाथि लोभ नगर्न निर्देशित गरिएको छ । प्रतिदिन बलिवैश्वदेव गरेर मात्र भोजन गर्नु यही त्यागवृत्तिको प्रतीक हो । तपस्याबाट नै मानिसले आफूलाई पवित्रिकृत गर्दछ । विना तपस्या त्यागको भावना आँउदैन अर्थात् तपस्याका लागि त्यागभावना हुनु अतिआवश्यक छ । जसका लागि आध्यात्मिक अनुभवको माध्यमबाट ईश्वरलाई चिन्नुपर्ने कुरामा कोइरालाले जोड दिएको देखिन्छ । जसमा आत्मबल हुन्छ त्यसले ठूलो संकटलाई पनि पार गर्न सक्ने भएकोले आध्यात्मिक अनुभूतिका माध्यमबाट आत्मबल तथा दैवी शक्ति प्राप्त गरेर जीवनमा आउने संकटमाथि विजय प्राप्त गर्नुपर्ने कुरामा कोइरालाले जोड दिनुभएको छ ।

यस्तो धर्म र आध्यात्मका सम्बन्धमा सबै कुरा बुझेर पनि ‘धर्मका सम्बन्धमा मैले अभ्यास गर्दिन’ भनेर जननायक विश्वेश्वरप्रसाद कोइरालाले जुन महानता प्रदर्शन गर्नुभएको छ, त्यसले उहाँलाई युगौंयुगसम्म राजनेताको रूपमा स्थापित हुनुहुनेछ । नेपाली काङ्ग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पनि यो विषयलाई देशव्यापी वहसको विषय बनाउनुस् र जनताको भावना अनुसार पार्टीलाई चलाउनुस् पार्टीलाई जनताको प्रिय पार्टी बनाउनुस् यसैमा नेपाली काङ्ग्रेस र तपाईंको भविश्य पनि सुदृढ हुन्छ । नेपाली काङ्ग्रेसका नवनिर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई हार्दिक वधाइका साथ सफल कार्यकालको शुभकामना । जय नेपाल ।

पुस २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्