बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ सार्वजनिक

काठमाडौँ– पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘महाभारा’ लोकार्पण गरिएको छ। काठमाडौँको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित ‘महाभारा मेला’ विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गरिन्।

मेलामा पुस्तक लोकार्पण कार्यक्रमसँगै उपेन्द्र सुब्बाले किताबबारे टिप्पणी गरे। युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘महाभारा’ रहेको उनको भनाइ छ। ‘मलाई त यस्तो लाग्छ, यो पहरामा फुलेको अम्लारी फुङ (सुनाखरी फूल) हो,’ उनले भने।

कार्यक्रममा लेखक बस्नेतसँग पत्रकार एवं लेखक शिवानीसिंह थारुले संवादसमेत गरिन्। थारुले पुस्तक लेखनदेखि यसका पात्रहरूको मनोविज्ञानका विविध पक्षमा आधारित रहेर बस्नेतसँग संवाद गरेकी थिइन्। नेपाली भाषालाई लिम्बू लबजको व्याकरणमा मिलाएर लेखिनु नै यो उपन्यासको सबल पक्ष रहेको थारुले बताइन्।

‘नेपालका विभिन्न क्षेत्रमा विभिन्न किसिमका लबजमा नेपाली भाषा बोलिन्छ। त्यसलाई साहित्यमा ल्याउने काम जटिल नै छ,’ उनले भनिन्, ‘तर बसन्तजीले पूर्वेली लिम्बू लबजलाई नेपाली भाषामा जसरी उतार्नुभएको छ, त्यो अति मीठो छ। यही नै यसको सशक्त पक्ष हो।’

कोभिडका कारण सुरु भएको लकडाउनमा आफूले समय पाएको र त्यही बेला उपन्यास लेखनलाई गति दिएको लेखक बस्नेतले बताए। ‘लकडाउनले धेरैलाई कवि बनायो। मलाई उपन्यासकार,’ उनले भने, ‘एउटा कथानक धेरै अघिदेखि हृदयमा गुम्फिइरहेको थियो, जुनसुकै बेला ल्यापटपमा तप्किन तयार। मसँग उपन्यासका लागि सोच्ने पर्याप्त समय भइदियो। फुर्सदमा व्यस्त बन्न पाएँ। त्यसैले यो किताब तयार हुन सक्यो।’

संवादसँगै रिदम कँडेलले साङ्गीतिक प्रस्तुतिसमेत दिएका थिए। कँडेलको प्रस्तुतिपछि कवि नवराज पराजुलीले कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा लोचन रिजालले समेत साङ्गीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा प्रकाशकका तर्फबाट फाइनप्रिन्टका अजित बरालले आफ्नो धारणा राखेका थिए। आफू ‘महाभारा’लाई लिएर अति उत्साहित भएको उनले बताए।

कार्यक्रममा गायिका झुमा लिम्बू र उनको रैथाने समूहको प्रस्तुतिसमेत रह्यो। उनको समूहले विशेषगरी ‘महाभारा’ पुस्तकको थिममा आधारित रहेको साङ्गीतिक प्रस्तुति दिएको थियो। कार्यक्रममा टोमस कारोस्को र मनीष गन्धर्वको समेत प्रस्तुति थियो।

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो।

पुस २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्