कानुनी साक्षरताको सिकाइस्थल बन्दै कारागार पुस्तकालय

दाङ – विष्णु पुन तुलसीपुर कारागारमा कैद भुक्तान गर्न थालेको तीन वर्ष पुगेको छ। यो बीचमा विष्णुले पढ्नको लागि किताब खोजे। तर दुई वर्षअघिसम्म किताब पाउन मुस्किल थियो। भेट्न आउने आफन्तीसँग पुस्तक मगाउनुपर्ने बाध्यता थियो। अब भने कारागारभित्रै पुस्तकालय स्थापना भएपछि पुस्तक पढ्नको लागि कुनै समस्या छैन।

कैद भुक्तान गरिरहेका कैदीबन्दीको सहजताको लागि कारागारभित्रै पुस्तकालय स्थापना गरिएको हो। पोहरसाल स्थापना गरिएको पुस्तकालयमा बेला–मौकामा पुस्तक थप गरिँदै आएको छ। यसको लागि नियमित अभियान सञ्चालन हुँदै आएको छ। कैदीबन्दीको रोजाईअनुसार पुस्तक थप्न अभियानले सहयोग पुग्दै आएको छ।

अधिकांशको रोजाई कानुनी किताव हुने गरेको छ। त्यसपछि साहित्यअन्तर्गत कथा, कविता, उपन्यास कैदीबन्दीको रोजाइमा पर्ने गरेको तुलसीपुर कारागारका जेलर अम्मर वलीले बताए। ‘पोहरसाल कारागारमा पुस्तकालय स्थापना भएको हो। कैदीबन्दीको रोजाइअनुसार पुस्तकहरु थप गर्दै आएका छौं’, उनले भने, ‘यसले कैदीबन्दीको बौद्धिकस्तर बढाउन र समय बिताउन सहज भएको छ।’

पुस्तक सहज रुपमा उपलब्ध भएपछि कैदीबन्दीको समय किताबसँग बित्ने गरेको छ। सीप अभिवृद्धिसँगै कैदीबन्दीलाई पुस्तकसँग व्यस्त राख्ने गरिएको छ।

कारागारमा ५२५ कैदीबन्दी छन्। जसमध्ये ४ सय ९५ पुरुष, ३० जना महिला र दुई आश्रित नाबालक छन्। कैद भुक्तान गरिसकेपछि समाजमा पुनःस्थापना हुन किताबबाट प्राप्त ज्ञानले अवश्य मद्दत पुग्ने विश्वास लिन सकिन्छ। अर्काेतर्फ कारागार कानुनी साक्षरताको लागि अर्को महत्वपूर्ण सिकाइस्थलसमेत बन्न पुगेको छ।

‘कानुनको बारेमा सुरुमा कमै जानकारी हुन्छ। कैद भुक्तानको समयमा पुस्तकको अध्ययनबाट संविधान, ऐन–कानुनमा लेखिएका विषयहरुबारे जानकार हुन मद्दत पुग्छ’, जेलर वलीले थपे, ‘त्यही भएर कारागारमा पुस्तकालय स्थापनाले महत्व राख्छ।’

कारागार सुधार अभियानबाट पुस्तक हस्तान्तरण

यसैबीच टीम नेपोले तुलसीपुर कारागारमा पुस्तक सहयोग गरेको छ। विभिन्न विधाका ७४० थान पुस्तक कारागारलाई सहयोग गरिएको हो। कारागार सुधार पुस्तकालय भन्ने अभियानअन्तर्गत पुस्तक हस्तान्तरण गरिएको टीम नेपोका संस्थापक अध्यक्ष डा निगम पौडेलले जानकारी दिए।

‘कारागारलाई सजाय दिने थलोमात्रै बनाइनु हुँदैन, कारागार सुधार केन्द्रको रुपमा विकास गर्नुपर्छ भन्ने मान्यताका साथ हामीले कारागारमा पुस्तकालय स्थापना गर्ने अभियान थालेका हौं’, पौडेलले भने, ‘यो अभियानका क्रममा पुस्तकालय नभएका कारागारमा पुस्तकालय निर्माण गरेर हस्तान्तरण गरेका छौं भने पुस्तकालय भएका कारागारमा पुस्तक हस्तान्तरण गर्दै आएका छौं।’

कैदीबन्दीहरुमा पठन संस्कृति बढाउन उक्त अभियान सञ्चालन गरिएको उनी बताउँछन्। ‘किताब पढेर के भयो? भन्ने परिवर्तन पत्ता लगाउन अनुसन्धानसमेत गर्ने योजना छ’, पौडेलले भने, ‘पक्कै पनि अध्ययन संस्कृतिले जीवनमा परिवर्तन ल्याउँछ र सकारात्मक सोच अभिवृद्धि गर्छ।’
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्मा, टीम नेपोका संस्थापक अध्यक्ष डा पौडेल, टीम नेपोका दाङ अध्यक्ष ईन्दिरा पौडेललगायतले कारागार प्रमुख अम्मर वलीलाई पुस्तक हस्तान्तरण गरेका थिए।

उपप्रमुख शर्माले पुस्तकले कैदीबन्दीहरुमा सकारात्मक सोचको विकास गर्न मद्दत पुग्ने बताइन्। कारागारमा पुस्तकालय निर्माण गर्ने अभियानअन्तर्गत दाङसहित ६ वटा कारागारमा पुस्तकालय स्थापना तथा सुधार गरिएको छ। पुस्तक परियोजनाअन्तर्गत जिल्ला कारागार अर्घाखाँची, स्याङ्जा, तनहुँ, चितवन र अछाममा पुस्तकालय स्थापना गरिएको टीम नेपोले जनाएको छ।

पुस २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्