बोक्सीको जिम्मा कसले लिने?

समाजमा धर्मले जरा गाडेको हुन्छ। व्यक्तिगत, सामाजिक वा राष्ट्रिय जीवनमा धर्मको प्रत्यक्ष वा परोक्ष प्रभाव हुन्छ। धर्मले जिउन सजिलो बनाउँछ, संस्कारलाई बलियो र समाजलाई एकजुट गराउँछ। अराजकता, अस्थीरता, अहिष्णुतालाई किनारा लगाउन धर्मले भूमिका खेल्छ। धर्मलाई धर्मकै रूपमा, धर्मकै तरिकाले, धर्मकै विधिबाट प्रयोग गर्नुपर्छ। धार्मिक ग्रन्थले प्रत्येक मानिसलाई के गर्न हुने र नहुनेबारे बोध गराउने हुँदा शास्त्रलाई पुज्नेमात्र होइन बुझ्नुपर्छ। धर्मले भनेझैँ जाग्नुपर्छ, उभिनुपर्छ, बाँच्नुपर्छ। कथा सुनाएर, धर्मको विज्ञापन गरेर, ठूलो टीका र भस्म लगाई, आश्रम निर्माण गरेरमात्र अब धर्म संरक्षित हुँदैन। बाल्यकालदेखि धर्मबारे सधाउन र सिकाउनुपर्छ। वृद्ध र असक्त भएपछि धर्म र तीर्थाटन गर्नुपर्छ भन्ने भ्रम तोड्नुपर्छ।

धर्मका नाममा गरिएका शोषण, संस्कृतिका आडमा भएका विभेद, परम्पराको दुवाइमा खनिएका खाडल दिनानुदिन बढ्दै गएका छन्। विकृत र विभेदकारी परम्परा जन्माएर घर भड्याउने, समाज टुक्र्याउने, राष्ट्रलाई कमजोर बनाउने काम भएका छन्। धर्मलाई जोगाउने हो भने वसुधैव कुटुम्बकम् (सबै मानव आफन्त हुन्) सिद्धान्तलाई प्रयोग गर्नुपर्छ। धर्मशास्त्रको दर्शन र कथालाई व्यवहारमा लागू गर्नुपर्ने दिन दैलोमा आइपुगिसकेको छ। हाम्रो धर्मले मन्त्र नामको ज्ञान, तन्त्र नामको विज्ञान र यन्त्र नामको प्रविधिलाई जन्मायो। यसकारण मन्त्र र तन्त्रलाई घोक्ने मात्र होइन अर्थ बुझ्नुपर्छ, जीवनपद्धतिमा जोड्नुपर्छ। यन्त्र (जन्तर) लगाउने मात्र होइन यसको विज्ञान जान्नुपर्छ। पितापुर्खाका सिद्धान्त र श्लोकलाई कण्ठस्थ बनायौँ, अरूलाई सुनायौँ तर प्रयोग गर्न सकेनौँ। कतिपय धर्मगुरुहरूले आचरण, प्रवचन र संस्कारका नाममा धर्मलाई ब्रह्मलुट गर्ने देवस्थल बनाए। यसले धर्मगुरुमाथि शंका, धर्ममाथि प्रश्न, संस्कृतिमाथि औँला ठडिन थाल्यो। छाउपडी, सती, बोक्सीजस्ता कुप्रथालाई धर्मको आडमा संरक्षण गर्न खोजियो। धर्मभित्र रहेर यसको वैज्ञानिक व्याख्या, विज्ञानसम्मत तर्क, समाजअनुसारको प्रयोग गर्न सकेनन्। गुरुको खडेरीले साधनाका बाहानामा सम्पत्तिको नाश, चरित्रको विनाश र धर्मको सर्वनाश हुँदैछ। साधनाले समाज र धर्मलाई जोगाउन होइन, बगाउन सहयोग गरेको छ।

तन्त्रविधाका विभिन्न साधनामध्ये बोक्सी साधना दुर्लभ र उच्चकोटिको तपस्या हो। जीवनयापन सहज बनाउन, रोगव्याधिबाट मुक्ति पाउन, देवीदेवताको दर्शन गराउन तन्त्रविधालाई सदुपयोग गरिन्छ। तन्त्रलाई गुरुबाट सिक्नुपर्छ, प्रभावकारिता जाँच्नुपर्छ, कमीकमजोरी भएमा विज्ञबाट सल्लाह लिएर अघि बढ्नुपर्छ। कालक्रमको प्रभाव, बाह्यमुखी प्रवृत्ति, सिकाउने गुरुहरुको अभावले तन्त्रप्रति मानिसहरुको आकर्षण गर्दै गएको छ। तन्त्र जीविकोपार्जन गर्ने विद्या होइन। यो पौरस्त्य विज्ञानको एक भाग हो। मुण्डमाला लगाउने, पशुपंक्षीको बलि दिने, झारफुक गरी कमाउने पेशालाई तन्त्रको रुपमा लिन थालियो। साधना नै नगरी जीवन धान्ने उद्देश्य राखेकाहरुले निमुखालाई बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गरेको हेर्न टाढा जानुपर्दैन। तन्त्रजस्तो विज्ञानलाई विकृति, विज्ञापन र वितण्डाको टोकरीमा हालियो।

वैदिक, बौद्ध र आधुनिक विज्ञानलाई तन्त्रले राम्रोसँग जोडिदिएको छ । योग, ज्योतिष, वास्तु, पूजा, अनुष्ठान आदिमा तन्त्रको प्रभाव छ । तन्त्र यस्तो तन्तु हो, जसले सबैलाई एकाकार गर्न सक्छ । युगानुकूल प्रयोग गर्न नसक्दा तन्त्रदेखि समाज तर्सने, मानिस भाग्ने, परिवार डराउने अवस्था आयो । महादेवले जगन्माता पार्वतीलाई दिनुभएको र विष्णुले स्वीकार गर्नुभएको ज्ञानलाई तन्त्र भनिन्छ । वेद पढ्न, बुझ्न नसक्नेलाई तन्त्र उपयोगी हुन्छ । अज्ञानबाट ज्ञानतर्फ, अँध्यारोबाट उज्यालोतर्फ लैजाने ज्ञानको भण्डार, विज्ञानको मुहान नै तन्त्र हो । तन्त्रको प्रयोग जसले गर्दछ त्यसलाई तान्त्रिक भनिन्छ । यस दृष्टिले हेर्दा त पहिलो तान्त्रिक महादेव, दोस्रो तान्त्रिक पार्वती र तेस्रो तान्त्रिक विष्णु हुन् । तन्त्रसम्बन्धी ग्रन्थहरूमा महादेव र विष्णुलाई बोक्सा, पार्वतीलाई बोक्सी भनेको पाइँदैन । लक्ष्मी, सरस्वती, गार्गी, गायत्री, सीता, द्रौपदी, भृकुटी, राज्यलक्ष्मी, चन्द्रप्रभा, राजेन्द्रलक्ष्मीआदि बोक्सी भएको इतिहास छैन । इतिहासमा चर्चित नारीहरूमाथि चरित्रका प्रश्न उठ्यो होला तर बोक्सीको आरोप लगाएर दुःख दिएको उल्लेख भेटिँदैन । आफ्ना खुट्टामा उभिएका, समाजमा प्रतिष्ठा कमाएका, शिक्षित महिलाले बोक्सीको आरोप खेप्नुपरेन । यसैले प्रष्ट बताउँछ कि बोक्सी भनेको अशिक्षा र गरिबीको उपज हो, धर्मको उत्पादन होइन । दुष्टात्मा सम्बन्धि विश्वास नेपालमा मात्र होइन अमेरिकादेखि युरोपका विकासित राष्ट्रहरुसम्म छ । बाइबलदेखि कुरानसम्म भेटिन्छ तर नेपालमा भने राजनीति मौलाउने, हिन्दुधर्मलाई गाली गर्ने ऊर्बर भूमि बनेको छ ।

हामीले जुन दिन वेद अध्ययनबाट टाउको फर्कायौँ, तन्त्रलाई जडवाद, मन्त्रलाई जातवादमा फाल्यौँ, त्यसपछि हाम्रो भागमा अधोगाति र दुर्मतिमात्र बाँकी रह्यो । महाभारतको युद्ध एवं तक्षशीला, नालन्दा, विक्रमशीलाजस्ता विश्वविद्यालयमा आगो लाग्नाले नेपाल, भारत, पाकीस्तान, अफगानिस्तान, बंगलादेश, बर्मालगायतका देशमा शिक्षा र संस्कारमा ठूलो चोट पुग्यो । अङ्ग्रेज र मुसलमानको शासनले वैदिक संस्कृतिमा आँच, सनातन समाजमा विद्याको नाश, ॐकार परिवारको सामाजिक मूल्यमान्यतामा ह्रास हुन पुग्यो । परिणामस्वरूप महिलालाई वेद अध्ययनबाट बञ्चितमात्र गराइएन, अक्षरबाटै विमुख बनाइयो । अक्षरै नचिनेपछि बोक्सी कसरी बन्ने ? मानिसलाई नै आघात पर्ने तन्त्रसाधना गर्न मशानघाटको आवश्यकता पर्छ । रात्रिको समयमा मशानघाट गएर चण्डाल, सर्पले टोकेर मरेको, लडाइँमा वीरगति पाएको युवाको लाशलाई शुद्ध गरी लाश र दुर्गादेवीको पूजा गर्दा तन्त्र छिटो सिद्धि हुन्छ । प्रेतलाई तन्त्रका माध्यमबाट जगाएर केही तान्त्रिकले दुरुपयोग गरेको देखिन्छ । ‘प्रकर्षेण इतः स प्रेतः’ अर्थात् जानका लागि एकदमै इच्छा गर्नेलाई प्रेत भनिन्छ । यो रुद्रकै अंश हो । महादेवको उग्ररुपलाई तन्त्रविधिबाट छिट्टै खुसी बनाउन सकिन्छ । योगमा मूलाधार चक्रकी अधिष्ठात्री शक्तिलाई डाकिनी भनिन्छ । यसैले भूत, प्रेत, डाकिनी आदि तन्त्रको खेलमात्र होइन योग र साधनाको प्रतिफल पनि हो । तन्त्रशक्तिलाई प्रयोग गर्न जाने विभिन्न लाभ लिन सकिन्छ । नान्यदेवले राक्षस लगाएर सिम्रौनगढ शहर निर्माण गराएका थिए । मन्त्र र तन्त्र बलकै कारण गोरखालीहरुले सिन्धुलीबाट अङ्ग्रेजलाई लखटे । तन्त्रशक्तिकै प्रयोग गरी गोरखनाथले नरेन्द्रदेवको शासनकालमा मृगस्थलीमा नागको आसन कसी १२ वर्षसम्म पानी पर्न दिएनन् । शंकराचार्यसँग शास्त्रार्थ हुँदा अमरसिंहले पाशुपतक्षेत्रमा तन्त्रद्वारा सरस्वतीको मूर्तिलाई बोल्ने बनाइदिएका थिए । यसरी आर्यवर्तमा तन्त्रको ठूलो महत्व छ ।

नेपालको वास्तुकलामा तन्त्रको राम्रो प्रभाव छ । जस्तै ५५ अंकले श्रेष्ठ वा राजालाई बुझाउँछ, त्यसैले ५५ झ्याले दरबार बनाइयो । ५४ले रानीलाई बुझाउँछ, ५३ले प्रधानमन्त्री, ५२ले प्रधानसेनापति र ५१ले जनतालाई बुझाउँछ । शत्रुमाथि विजय प्राप्त गर्न कुशल शासकले कुटनीति, सैन्यबल, शब्दबल (तन्त्रबल) लगायतलाई प्रयोग गर्दथे । शब्दबल (तन्त्र)ले काम गरेको कसैले थाहा पाउँदैनथे । राष्ट्रलाई अप्ठेरो पर्दा राजाले शत्रु राजा, प्रधानमन्त्री वा सेनापतिलाई सिद्ध्याउन विषकन्या पठाउँथे । शासकहरूले तन्त्रविज्ञहरूको सल्लाह लिएर शत्रुमाथि विजय गर्न बोक्सीविद्याको प्रयोग गर्दथे । प्रयोगकर्ताले गलत सोच राखिदियो भने बोक्सीविद्याले फाइदामात्र होइन प्रशस्तै बेफाइदा पुर्‍याउँछ। यसैले बोक्सीविद्यालाई तामसी विद्या पनि भनिन्थ्यो । उच्चकोटीका साधक वा गुरुहरूबाट नियमबद्धरूपमा अध्ययन, अभ्यास र परीक्षण गरी बोक्सीविद्या एकपछि अर्को पिढीँमा पुस्तान्तरण र हस्तान्तरण हुँदै आएको थियो । आकर्षण गर्ने, लठ्याउने, मार्ने शब्दशक्ति भएका तन्त्रहरू छन् तर त्यसलाई गुरुआज्ञा बिना प्रयोग गर्न पाउँदैनन् र जान्दैनन् पनि । राजा, राष्ट्रप्रमुख, सरकारप्रमुख वा प्रधानसेनापतिले राष्ट्रलाई अप्ठेरो परेमा मात्र बोक्सीविद्याका विज्ञहरूसँग परामर्श गरी प्रयोग गर्न पाउँछन् ।

वैदिक, बौद्ध र आधुनिक विज्ञानलाई तन्त्रले राम्रोसँग जोडिदिएको छ । योग, ज्योतिष, वास्तु, पूजा, अनुष्ठान आदिमा तन्त्रको प्रभाव छ । तन्त्र यस्तो तन्तु हो, जसले सबैलाई एकाकार गर्न सक्छ । युगानुकूल प्रयोग गर्न नसक्दा तन्त्रदेखि समाज तर्सने, मानिस भाग्ने, परिवार डराउने अवस्था आयो । महादेवले जगन्माता पार्वतीलाई दिनुभएको र विष्णुले स्वीकार गर्नुभएको ज्ञानलाई तन्त्र भनिन्छ । वेद पढ्न, बुझ्न नसक्नेलाई तन्त्र उपयोगी हुन्छ । अज्ञानबाट ज्ञानतर्फ, अँध्यारोबाट उज्यालोतर्फ लैजाने ज्ञानको भण्डार, विज्ञानको मुहान नै तन्त्र हो ।

शब्दशक्तिलाई वैज्ञानिक रुपले प्रयोग गर्ने विधि नै तन्त्र हो । तन्त्रले कसैलाई तर्साउने, बहकाउने, मार्ने काम गर्दैन । हावा, जमिन, आगो, पानी वा अन्य अदृश्य शक्तिलाई नियन्त्रण गर्न बोक्सीविद्याले सहयोग गर्दछ । सनातन, बौद्ध, बोन, किरातधर्ममा यस्तो अनुष्ठान विधि अत्याधिक थियो । कतिपय स्थानमा बनझाँक्रीले मानिसलाई लिएर गएको वा सपनामा मन्त्र पाएको समेत भेटिन्छ । यस्तो विज्ञानलाई धामी, झाँक्री, विजुवा, माता आदिका नाममा विना ज्ञान र दक्षता प्रयोग गर्दा कुप्रथाको जन्म हुन पुग्यो । अचानक जीउमा नीलो डाम देखिनुलाई बोक्सीले टोकेको भनिन्छ । यसलाई रगत वा छालाको खराबी के हो, बुझ्ने प्रयासै गरिँदैन । रगत नै बान्ता गर्नु, अचानक खान मन नलाग्नु, वस्तुभाउ बिरामी पर्नुलाई बोक्सीका आँखा लागेको ठानिन्छ । शिक्षाको ज्योति नपुगेको ठाउँमा महिलामाथि शोषण गर्ने पापको पराकाष्ठा भएको छ बोक्सीविद्या । श्रीमान् मरेका, दाँत झरेका, अलपत्रमा परेका, कपाल फुलेका, कैलाआँखा भएका, आँखामा फुलो परेका, संरक्षण र साहाराविहीन महिलालाई बोक्सीका नाममा दुव्र्यवहार गरेको पाइन्छ । सभासद्, मन्त्री, विदुषी, साहरा पाएका महिला अहिलेसम्म बोक्सी भएको देखिँदैन । पुरुषहरू बोक्सी भएको न त भेटिन्छ, न त देखिन्छ । ‘जो होचो उसको मुखमा घोचो’ भनेको यही हो । महिलालाई बदनाम, धर्मलाई सर्वनाश गर्न बोक्सीप्रथाले दिव्यास्त्रको काम गरेको छ । बोक्सी बनाउने न त गुरुकुल छ, न त वंशपरम्परा जीवित छ, न त कुनै शैक्षिक निकाय छ । वेदमा बोक्सी बनाउने तरिका र प्रेत आदि फुक्ने मन्त्र छैनन् । त्यसैले बोक्सी परम्परा प्राचीन ज्ञान श्रृङ्खला होइन, भारतमा अङ्ग्रेजको शासनसँगै बढेको रोग हो । सनातनधर्मलाई बदनाम गराउने डम्फूको रूपमा बोक्सी विद्या बढ्दै गएको छ । ज्ञान, विज्ञान र यज्ञमा तन्त्रको प्रयोग भएको देखिन्छ तर समाजमा विखण्डन ल्याउन, दीनदुःखी माहिलालाई कुट्न, सोझालाई ठगेर कमाउन तन्त्रलाई उपयोग गर्नु महाअपराध हो ।

तासां प्रहारं निन्दाञ्च कौटिल्यमप्रियं तथा ।
सर्वथा न च कर्तव्यमन्यथा सिद्धिरोधकृत् ।।
–नीलसरस्वतीतन्त्र (११।१२१)

अर्थात् “नारीमाथि कहिल्यै प्रहार र निन्दा नगर्नु । कुटिल र अप्रिय व्यवहार नगर्नु । यसो गरेमा सिद्धि नष्ट हुन्छ ।” तन्त्रका ग्रन्थहरूमा नारीको हातले सजाएको फूल, उनीहरूले दिएको जल, पकाएको भोजन देवीदेवतालाई प्रिय लाग्ने बताइएको छ । सप्तमातृका, अष्टमातृका, दशमहाविद्या, नवदुर्गा आदि शक्तिकी स्वरूप हुन् । यिनीहरूबाट शीघ्र लाभ लिन तन्त्रको भूमिका महत्त्वपूर्ण हुन्छ । चन्द्र, सूर्य, अग्नि, इन्द्र, कुबेर, अगस्त्य, दुर्वासा, शङ्गराचार्य, अभिनवगुप्त आदि दशमहाविद्याका उपासक थिए । उनीहरूलाई बोक्सी वा बोक्सा भनिँदैन । कपाल पाल्ने, खरानी घस्ने, अनेक पहिरनले सजिने तर तन्त्रको अनुष्ठान नै नगर्ने, महत्त्व नै नबुझ्नेहरूले यसलाई चरम दुरूपयोग गरेका छन् । पछिल्लोकालमा विकास भएका शाबरतन्त्र वा इन्द्रजालका माध्यमबाट कमजोर मनस्थितिका मानिसलाई तर्साउने साधनलाई बोक्सीविद्या भन्न थालियो । मनोवैज्ञानिक रूपमा बलियो भएका, माछामासु र मद्यपानबाट टाढा रहेका, नियमित वेद, गीता, मुन्धुम, त्रिपिटक, दुर्गासप्तशती आदि पाठ गर्ने वा गायत्री जप्नेलाई बोक्सी लाग्दैन । बोक्सीविद्यामा दक्ष हुन साधना गराउने गुरु र अभ्यासका लागि मशानघाट आवश्यक पर्दछ । रात्रिको समयमा मात्र यो साधना गर्नुपर्ने बारेमा तत्सम्बन्धी जानकार बताउँछन् । पितृसत्तात्मक समाजमा रात्रि कुन महिलालाई घरभन्दा बाहिर जाने अनुमति थियो र ? गएमा परिवारले तिरष्कार, समाजले बहिष्कार गरिदिन्थ्यो । प्रायः चन्द्रग्रहण वा सूर्यग्रहणको समयमा तीर्थस्थान, शिवालय आदिमा तन्त्रको दीक्षा लिँदा छिटो सिद्धी हुन्छ । एक, दुई दिनको अभ्यासले बोक्सीविद्या सिकिँदैन । बोक्सीको आरोप लाग्ने अधिकांश महिलाको कमजोर स्वास्थ्य र उमेर ६० माथि देखिन्छ । यो उमेरमा कति बेला मशानघाट जाने, गुरु को पाउने ? न त शास्त्र, न त गुरु, न त परम्परा यसकारण महिलाले कसरी नेपालको सन्दर्भमा बोक्सी बन्ने र सिक्ने ?

नेपालका केही भागहरूमा बोक्सीका नाममा महिला कुटिएको दर्दनाक घटना पढ्न, सुन्न, देख्न विवश हुनुपरेको छ । बोक्सी प्रथा नेपाली समाजको उपज र हिन्दूधर्मको पेवा होइन । नेपालमा बोक्सीको अंकुरण हुनुभन्दा धेरै पहिले क्रिश्चियनधर्मले युरोपमा हजारौँ महिलाहरूलाई बोक्सीको नाममा निर्मम यातना दिएको थियो । बोक्सी परम्पराको लामो र दर्दनाक इतिहासले क्रिश्चियनभित्र जरा गाडेर बसेको छ । बाइबल (प्रस्थान २२।१८) ले भनेको छ– “तिमीहरूले आइमाईलाई तन्त्रमन्त्र गर्न दिनुुहुँदैन । यदि उसले तन्त्रमन्त्र गर्छे भने उसलाई मार्नुपर्छ ।”

मध्यकालमा चर्चका मालिक र पोपहरू बोक्सी एवं डायन घोषण गर्न प्रतिस्पर्धामा नै उत्रेको देखिन्छ । ३०० वर्षको अवधिमा ९० लाख महिलालाई चर्चले बोक्सीको लोगो झुण्ड्याइदिएको थियो । पोप पाल छैटौँले भनेका थिए “महिलालाई प्रार्थना गर्ने अधिकार छैन किनभने हाम्रा ईश्वर पुरुष हुन् ।”

विकासको चरमोत्कर्षमा पुगेको युरोपभित्र अहिले पनि महिला धार्मिक र सांस्कृतिक रूपमा दबिएका छन् । बोक्सी र डायनाका जरा अझै दरिलो बनेका छन् । क्रिश्चियनभित्र दुष्टात्माका नाममा महिलामाथि गरेको पाशविक घटना उजागर गर्ने हो भने चर्च, बाइबल र जिससदेखि पीठ फर्काएर मानिसहरू जीवनभर भाग्ने थिए । भारतवर्षमा अङ्ग्रेजहरूको आगमनसँगै बोक्सीको संख्यामात्र बढेन यसले संस्थागत रूपमा स्थायीत्व पायो । भारतलाई हात लिन यहाँको धर्म, शिक्षा, संस्कार, जीवनपद्धतिलाई आगो लगाउनुपथ्र्यो । बोक्सीप्रथाबारे उनीहरू परिचित नै थिए । यसका माध्यमबाट सनातनधर्मको सर्वनाश गर्न र वैदिक संस्कृतिको मेरुदण्ड भाँच्न सक्नेमा उनीहरू विश्वस्थ भए । उनीहरूको उद्देश्य थियो “वैदिक धर्मको नाश गर्ने, क्रिश्चियन सम्प्रदायको प्रचार गर्दै साम्राज्यको स्थापना गर्ने” । बोक्सीविद्यालाई सकेसम्म हतियार बनाएर वैदिक धर्मप्रति वितृष्णा जगाउने काममा न्वारनकै बल खर्चिए ।

लोकतन्त्रको जन्मसँगै बोक्सीप्रथालाई राजनीति र डलरले बोकेर हिँडेको हुँदा यो रोग नेपालबाट निको हुने अवस्थामा छैन । बोक्सीका नाममा देखिने घटनाको जड पत्ता लगाउनुभन्दा यसलाई भजाउन, चुनावी मुद्दा बनाउनमा लागेका छन् । रोगलाई बल्झाउने कि उपचार गर्ने ? बोक्सीको उपचार वैदिक धर्म र शिक्षाले मात्र गर्न सक्छ । रामको समय बोक्सी लागेको, कृष्णको समयमा बोक्सीले दुःख दिएको चर्चा भेटिँदैन । नेपालको राजपरम्परामा गोपालदेखि मल्लकालमा बोक्सीलाई दिसा खुवाएको, समाज बहिष्कार गरेको पढ्न पाइँदैन । हाम्रो इतिहास र धर्ममा भूत, प्रेत, मशानले दुःख दिएको भेटिएला बोक्सीले पीडा भोगेको जानकारी छैन । केही वर्षयता अध्ययन, अभ्यास, अनुभव नभई केवल पैसाकै लागि जन्त्र, मन्त्र, तन्त्रका पसल चलाउन आकर्षक बोर्डमा मिठासपूर्ण शब्दले लेखी झुण्ड्याउनेले पनि बोक्सी जन्माउन मलजल गरिरहेका छन् । कहिलेकाहीँ समाजमा नाम चलेकाहरू यस्ता पसलमा जान्छन् । तिनीहरूसँग फोटो खिचाएर वस्त्रधारी तान्त्रिकले धर्मका नाममा सर्वसाधारणलाई चुसीरहेका छन्, तर्साइरहेका छन् । आँखामा फुलो परेका, कालो जीभ्रो भएका, अकालमा पतिवियोग खप्नुपरेका, साहराविहीन महिलाहरू बोक्सीका नाममा कुटिएका, पिटिएका वा बहिष्कारमा परेका छन् । यसरी हिन्दूधर्म, तन्त्रसाधना गर्नेमाथि बज्रपात गर्ने बाटो खुलाएका छन् । बोक्सीहरूमा दुःख दिने आसुरी शक्ति थियो भने आफ्ना विरोधीलाई सखाप बनाइदिन्थे ।

केही मानिसहरू काम्छन् र अर्धसत्य कुरा गर्छन् अनि सर्वसाधारण मानिसलाई विश्वास गर्नु कि नगर्नु बनाइदिन्छन् । अमुक्त आत्माले प्रतिकूल अवस्थामा दुःख दिन सक्छन् तर त्यसको दोष अशिक्षित, अन्जान महिलाको टाउकोमा थुपार्नुहुँदैन । यदि बोक्सीको शंका छ भने शिवलिङ्कको पूजा गरेमा मुक्ति पाइन्छ । ओछ्यानको दाहिनेतिर तामाको भाँडामा पानी राखेर सुत्यो, घरमा नियमित शंख घण्टा बज्यो, तीर्थस्थलको जल छर्कियो, उदाउँदो सूर्यलाई पानी चढायो, यज्ञको भस्म वा तीलक लगायो, गीता–दुर्गासप्तशती–वेदलगायतका पुस्तक पढ्यो, बिहान सधैँ बुबाआमा र देवीदेवतालाई ढोग्यो भने बोक्सी र प्रेतात्माले केही गर्न सक्दैन । हाम्रो धर्मले बोक्सी उत्पादन गर्दैन पार्वती, सरस्वती, सीता, भृकुटी, गार्गाीजस्ता शास्त्रका ज्ञातामात्र उमार्छ । हाम्रा आमा, हजुरआमा बोक्सी थिएनन्, वीराङ्कना थिए । उनीहरूले राष्ट्रको सुरक्षा गरे, परिवारको रक्षा गरे, संस्कृतिको संरक्षण गरे । मन्त्रद्रष्टा नारीले वेदका मन्त्र सङ्कलन गरे । राक्षसलाई तह लगाए, शासन गरे, धर्म जोगाए । नेपालले बोक्सी, वेदले दुष्ट महिला, पुराणले राक्षसनी, त्रिपिटकले प्रेतनी, मुन्धुमले कालाजादु कहिल्यै जन्माएन । आर्यावर्तका धर्म, धर्मशास्त्रले विदुषी, मन्त्रद्रष्टा, सतीमात्र उत्पादन गरे । पुराणका कथाहरुमा बोक्सी लागेर फुक्न गएको, त्रिपिटकमा बोक्सीले दुःख दिएको, मुन्धुममा बोक्सीलाई धपाउन दिसा खुवाएको वर्णन छैन । इतिहासमा नभएको, धर्मशास्त्रमा नभेटिएको, पुर्खाहरुले नभोगेको बोक्सीको आक्षेप हामीले जिम्मा लिएका छौँ मानौँ बोक्सीको ठेकेदार नेपाली समाज हो । समाजलाई कलङ्कित, धर्मलाई भ्रमित, समाजलाई रुग्ण बनाउने महारोग नै बोक्सी प्रथा हो । यो अज्ञान, अशिक्षा, कमजोर अर्थतन्त्रको उपज भएकाले कसैलाई दोषारोपण नगरी समाज र सरकारले यसलाई जरामा पुगेर उपचार गर्न आवश्यक छ ।

पुस २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्