ई-सेवामा ‘सेक्युर्ड ट्रान्सफर’ सुविधा थप

काठमाडौँ – नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ई-सेवाले नेपालमै पहिलोपटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा उपलब्ध गराएको छ। यो फिचरबाट नचिनेको मानिसलाई समेत सुरक्षित रूपमा रकम तथा सामान उपलब्ध गराउन सकिने ई-सेवाले जनाएको छ।

‘अहिले मैले तपाईंलाई सामान दिन्छु भन्ने ई-सेवामा पैसा हाल्न लगाउने तर सामान नदिने काम भइरहेको छ’, नयाँ फिचरबारे ई-सेवाका चिफ म्यानेजर आशिष गौतमले भने, ‘त्यस्तो कामलाई कम गर्न सेक्युर्ड ट्रान्सफर फिचर आएको हो, जहाँ सामान डेलिभर भएपछि मात्र रकम रिलिज हुनेछ।’

उनका अनुसार यो फिचरबाट ई-सेवा प्रयोगकर्ताले अर्को ई-सेवा वालेटमा सुरक्षित रूपमा पैसा पठाउन सक्नेछन्। यो फिचर १ हजारभन्दा माथिको रकम पठाउँदा प्रयोग गर्न सकिने उनले बताए। ‘यो सेवामा सामान डेलिभर भइसकेपछि पैसा पाउने व्यक्तिले रिक्वेस्ट बटनमा क्लिक गर्नुपर्नेछ’, उनले थपे, ‘त्यो सूचना पैसा पठाउने व्यक्तिलाई जानेछ। सामान वा सेवा पाएपछि मात्रै पैसा पठाउने व्यक्तिले उक्त रकम रिलिज गर्नुपर्नेछ।’

यदि सामान पठाएको र नपाएको विवाद भएमा प्रमाणसहित कम्प्लेन गर्न सकिने उनले जानकारी दिए। यसले फ्रड कारोबार पनि कम गर्ने ई-सेवाले दावी गरेको छ। यो फिचर सःशुल्क उपलब्ध रहेको छ। एक हजारभन्दा माथिको कारोबारमा सेक्युर्ड ट्रान्सफर फिचर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। एक हजारदेखि ५ हजारसम्मको कारोबार गर्दा ५ रूपैयाँ शुल्क लाग्ने र ५ हजारदेखि माथिको पैसा पठाउँदा १० रूपैयाँ शुल्क लाग्ने छ।

तर सामान नपाएको र पठाएको विवाद भएमा त्यस्तो अवस्थामा सय रूपैयाँ शुल्क लाग्ने ई-सेवाले बताएको छ। यो अटो वा म्यानुअल रूपमा प्रयोग गर्न सकिने छ। नचिनेको व्यक्तिलाई पैसा पठाउँदा सेक्युर्ड ट्रान्सफर फिचर प्रयोग गर्न ई-सेवाले आग्रह गरेको छ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई-सेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले ई-सेवामार्फत सेवा लिइरहेको कम्पनीले जनाएको छ। हाल ई-सेवाका देशभर एक लाख २५ हजारभन्दा बढी एजेन्ट रहेका छन्।

पुस २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्