बलात्कारको घटना ढाकछोप गरेको आरोपमा जनप्रतिनिधि र शिक्षक पक्राउ

सांकेतिक तस्बिर

धनगढी – बलात्कार जस्तो जघन्य अपराध ढाकछोप गर्न खोजेको आरोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित पाँच जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक होमप्रसाद सुवेदी, पूर्ववडा सचिव यज्ञराज आचार्य र राजु भट्टराई छन्। १५ मंसिरमा स्थानीय ७७ वर्षीया महिलामाथि भएको बलात्कारको घटना ढाकछोप गर्न भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

‘घोडाघोडीकी ७७ वर्षीया वृद्धामाथि बलात्कार भएको थियो’, प्रहरी प्रवक्ता जोशीले भने, ‘१५ मंसिरमा बलात्कार हुँदा १२ पुसमा मात्रै उजुरी आएपछि अनुसन्धान गर्दा वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेर छानबिन थालिएको छ।’

उनका अनुसार पीडित महिलाका छोराले १२ पुसमा मात्रै इलाका प्रहरी सुख्खडमा बलात्कार भएको भन्दै उजुरी दिएका थिए। १५ मंसिरमा भएको घटनामा उजुरी दिन किन ढिलाइ भन्ने प्रश्नमा पीडित पक्षले जनप्रतिनिधि र शिक्षकको दबाबका कारण ढिलाइ भएको जवाफ दिएको प्रहरी प्रवक्ता जोशीले बताए।

प्रहरी प्रवक्ता जोशीले आर्थिक लेनदेनको विषयमा कुरा नमिलेका कारण घटना ढिला गरीमात्रै बाहिरिएको हुनसक्ने बताए। ‘सुरुमा तीन लाखमा कुरा भएको देखिन्छ’, प्रवक्ता जोशीले भने, ‘तर पछि भने जति पैसा नपाइएपछि आफन्त प्रहरीकहाँ पुगेका हुन सक्छन्, यस विषयमा थप अनुसनधान भइरहेको छ।’

पीडित पक्षले भने जनप्रतिनिधिको दबाबका कारण उजुरी दिन ढिलाइ भएको भन्ने जवाफ दिएकाे छ। घटनामा संलग्न भएको आश‌ंका गरिएका ३-४ जना भने अझै पक्राउ परेका छैनन्। -न्युज कारखाना

पुस २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्