बताससँगको सम्बन्धबारे ओली भन्छन्, ‘छोरी देशभरि छन्, ज्वाइँ त हुने नै भए’

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बतास समूहसँग आफ्नो सम्बन्धका बारेमा गरिएका टिप्पणीको खरो रुपमा प्रतिवाद गरेका छन्।

केही दिनअघि सञ्चारमाध्यममा आएको बतास समूहका जिम्मेवार व्यक्तिसँग गरिएको कुराकानीमा ‘ओलीले मलाई ज्वाइँ भन्नुहुन्छ’ भन्ने अभिव्यक्तिमा उनको खरो टिप्पणी आएको हो।

झापाको भद्रपुरमा निजामती कर्मचारी संगठनको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै उनले आफ्ना देशभर ज्वाइँ रहेको बताए।

ओलीले भने, ‘एक जनासँग अन्तर्वार्ता लिएर फोटो खिचाएर भन्न लगाए। मेरा त देशभरि छोरी छन् ज्वाइँ त हुने नै भए।’

अहिलेको सरकारले नारायणहिटी दरवार खर्लप्पै खाएकोसमेत ओलीले आरोप लगाए। रामायणकी एक पात्र सुरसाको मुखसँग सरकारलाई तुलना गर्दै त्यत्रै मुख बाएर सरकारले नारायणहिटी दरवार खान खोजेको आरोप उनको थियो।

ओलीले भने, ‘जनताले आपत्ति जनाएपछि भएभरका गएर भत्काउन थाले।’

पुस २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्